बालिकाको मृत्युपछि पाँचथरको फिदिममा हवाईफायर

हेल्थपोस्ट नेपाल

अस्पतालमा बालिकाको मृत्युपछि पाँचथर सदरमुकाम फिदिम अहिले अशान्त बनेको छ। प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ।

तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयले पाँचथर जिल्ला अस्पताल तोडफोड गरेका थिए।

उक्त भीडलाई नियन्त्रण गर्न लाठीचार्ज र अश्रुग्यास हान्नु परेको पाँचथरका डिएसपी दानबहादुर थापाले बताए। आक्रोसित स्थानीयले ढुंगा प्रहार गरी अस्पतालका झ्याल फुटाइदिएका छन्। न्याय दिनुको सट्टा बल प्रयोग गरिएपछि आफूहरू आन्दोलित बनेको एक स्थानीयले बताए।

सुरक्षामा खटिएका प्रहरी निरीक्षक सागर श्रेष्ठको नेतृत्वमा प्रहरी दमनमा उत्रेपछि भीड आक्रोसित भएको बताइएको छ। स्थानीयले दमनमा उत्रेको प्रहरीले हवाई फायरसमेत गरेको दाबी गरेका छन् । तर, डिएसपी थापाले हवाई फायर गरिएको नभई शसस्त्र प्रहरीले दुई सेल अश्रुग्यास हानेको बताए । प्रहरीमाथि ढुंगामुडा गरिएपछि अश्रुग्यास प्रहार गरिएको डिएसपी थापाले बताए।

फालेलुङ गाउँपालिका ८ घर भई बुबाआमासँग फिदिम २ मा बस्दै आएकी कृष्टिनाको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको बालिकाको आफन्तको दाबी छ । बुधबार बिहान सामान्य विरामी भएर अस्पताल ल्याइएककी बालिकाको चिकित्सकले इन्जेक्सन लगाउनेबित्तिकै मृत्यु भएको थियो। बिहानैबाट तनावग्रस्त बनेको फिदिम अझै शान्त हुन सकेको छैन। अहिले पनि अस्पताल परिसरमा ठूलो संख्यामा मृतकका आफन्त भेला भएका छन्। उनीहरुले अस्पताल परिसरमा विरोध प्रदर्शन गरिरहेका छन्।

वार्ता गर्ने बहानामा जिल्ला प्रशासन कार्यालय पुर्‍याइएपछि स्थानीय थप आक्रोसित बनेका हुन्। प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले वार्ता गर्ने निहुँमा मृतक बालिकाका आफन्तलाई झुलाउने काम गरिरहेको फिदिमका एक सञ्चारकर्मीले बताए। अस्पतालका चिकित्सकको उक्साहटमा लागेर प्रशासन र सुरक्षाकर्मीले पीडितलाई उत्तेजित पार्ने काम गरिरहेको ती सञ्चारकर्मीको भनाइ छ । उनले प्रहरीले हवाई फायर गरेर अश्रुग्यास मात्र हानेको दाबी गरिरहेको जनाए ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *