सक्रिय संक्रमितको संख्या सात महिनायताकै कम

भारतमा सक्रिय संक्रमितको संख्या सात महिनायताकै सबभन्दा कम देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय संक्रमित छन्।
यो संख्या २०३ दिन पछिकै सबैभन्दा कम भएको त्यहाँकाे मन्त्रालयले जनाएको छ। भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन्।
नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो। भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ।
भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ।
ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो। भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सबैभन्दा धेरै एक लाखभन्दा बढी छ। केरलामा अहिले पनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित छन्।