पूर्वकर्मचारीको खुलासा : फेसबुक बालबालिकासँगै प्रजातन्त्रका लागि हानिकारक

हेल्थपोस्ट नेपाल

फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीका वेबसाइट र एपहरूले ‘बालबालिकालाई हानि पुर्‍याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने’ बताएकी छन्। उनले त्यसबारे जान्दाजान्दै पनि कम्पनीका वरिष्ठ कर्मचारीहरूले मुनाफालाई प्राथमिकतामा राखेको आरोप लगाइन्।

फेसबुकमा प्रडक्ट म्यानेजरकी रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले सो कम्पनीका गोप्य कुराहरू चुहाएकी हुन्। उनले अमेरिकी संसद रहेको क्यापिटल हिलमासमेत त्यस विषयमै आलोचनात्मक बयान दिइन्। हाउगनले फेसबुक आफैं नसुध्रिने भन्दै अमेरिकी संसद कंग्रेसको हस्तक्षेप आवश्यक रहेको बताइन्।

हाउगनले पछिल्ला साताहरूमा फेसबुकका कैयौं गोप्य दस्तावेज द वालस्ट्रीट जर्नल पत्रिकालाई दिएकी थिइन्।

अमेरिकी विधायकहरूसँगको मंगलबारको सुनुवाइका बेला रिपब्लिकन र डेमोक्रयाट सांसदहरुले पनि उक्त कम्पनीमा परिवर्तन आवश्यक रहेको बताएका थिए।

फेसबुकले भने श्रीमती हाउगनले आफ्नो ज्ञान नभएको क्षेत्रबारे बोलेको प्रतिक्रिया दिँदै आफ्ना सुरक्षाको अवस्थाको बचाउ गरेको छ। तर उसले एक विज्ञप्तिमार्फत अब इन्टरनेटमा परिष्कृत नियमहरू ल्याउने समय आएको स्वीकारे भने गरेको छ।

२.७ अर्ब सक्रिय प्रयोगकर्ता रहेको फेसबुक विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हो। करोडौं प्रयोगकर्ता सोही कम्पनीकै ह्वाट्सएप र इन्स्टाग्रामजस्ता अन्य एप्स पनि चलाउँछन्।

फेसबुक कम्पनीमाथि प्रयोगकर्ताका गोपनीयता संरक्षण गर्नेदेखि गलत सूचना प्रवाह रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना हुने गरेको छ। बिबिसी



Leave a Reply

Your email address will not be published. Required fields are marked *