कृष्णनगरमा झाडापखाला : शय्या अभावमा अस्पतालबाहिरै राखेर उपचार

हेल्थपोस्ट नेपाल

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ। झाडापखालाबाट एकसयभन्दा धेरै बिरामी परेका छन्। दुईजनाको मृत्यु पनि भइसकेको छ।

कृष्णनगर नगरपालिकाका – ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको लुम्बिनी स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशन चौधरीले बताए। ‘मंगलबार स्वास्थ्य टोली गएर दिसा, पिसाबको नमुना संकलन गरेर ल्याएका छौं। हैजाको आशंका गरेका छौं। हेरौं रिपोर्ट के आउँछ,’ चौधरीले भने।

झाडापखालाका बिरामी बढ्दै गएपछि अहिले शिवराज अस्पतालमा बेड अभाव भएको छ। उनीहरुको अस्पताल परिसरमै राखेर उपचार थालिएको छ।

बिरामीको चाप बढेपछि एउटा बेडमा दुईजनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गरिएको छ। बिरामीको संख्या बढ्दै गएपछि तौलिहवा अस्पतालमा भर्ना हुने क्रम जारी रहेको उनले बताए।

गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ।

झाडापखाला कसरी फैलियो भन्ने थाहा हुन सकेको छैन। दूषित पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने अनुमान चिकित्सकले गरेका छन्। पानीको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। आज दिउँसोसम्म रिपोर्ट आउने र त्यसपछि मात्र थाहा हुने चौधरीले बताए।प्रदेश निर्देशनालयबाट अनुगमन तथा निरीक्षणको विज्ञ टोली गएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *