बुधबार मन्त्रीपरिषद् विस्तार हुने, स्वास्थ्यमन्त्रीमा को?

हेल्थपोस्ट नेपाल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो।

स्रोतका अनुसार कांग्रेसले सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ। कांग्रेसले यसअघि गृह, परारष्ट्र, कानुन र स्वास्थ्य राज्यमन्त्री लिइसकेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी लिने सहमति भएको स्रोतले जनाएको छ।

माओवादीले अर्थ र ऊर्जामा मन्त्री पठाइसकेको छ।

नेकपा(एकीकृत समाजवादी) ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने सहमति भएको स्रोतले जनाएको छ।

बालुवाटार स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ।

मन्त्रालय टुंगो लगाउने बसेको गठबन्धनको बैठकमा स्वास्थ्य मन्त्रालयमा कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको थियो ।

कांग्रेसले नछाड्ने र अरूले जसरी पनि पाउनु पर्ने अडान लिएपछि स्वास्थ्य मन्त्रालय चर्चामा आएको हो । स्वास्थ्यमा तीन दलले दाबी गरेपनि कांग्रेसले लिने सहमति भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा कांग्रेसले उमाकान्त चौधरीलाई जिम्मेवारी दिन लागेको स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट चौधरीलाई स्वास्थ्यमन्त्री बनाउन लागेको बुझिएको छ।

कांग्रेसको तेस्रो धारको नेतृत्व गरिरहेको सिटौला पछिल्लो समय सभापति देउवासँग नजिकिएका छन्। काठमाडौं महानगर अधिवेशवनमा पनि देउवा–सिटौला प्यानल प्रतिस्पर्धामा उत्रिएको थियो।

प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेर बहादुर देउवाले कृष्ण प्रसाद सिर्टौलाको प्यानलबाट स्वास्थ्यमन्त्री लिन लागिएको बुझिएको छ।

चौधरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनबारे काग्रेसपभित्र आन्तरिक छलफल भएको स्रोतले जनायो।

चौधरीले यसभन्दा अगाडी पनि स्वास्थ्यमन्त्री भइसकेका छन्। साउन १० मा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका प्रधानमन्त्री देउवाले हालसम्म स्वास्थ्यमन्त्री नियुक्त गरेका छैनन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *