विधि र परम्परा मिचेरै डा. बिच्छाको सेवाअवधि थप्ने तयारी, खरिद कमिसनको खेल

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा निरन्तरता दिनेगरी सरकारले वरिष्ठ बालरोग विशेषज्ञ डा.आरपी बिच्छाको सेवाअवधि थप गर्ने तयारी गरेको छ।

आगामी कात्तिक ६ गते उमेर हदका कारण अवकाश पाउँदै गरेका बिच्छाको म्याद नियम र परम्पराविपरीत थप गर्न लागिएको हो।

१२औं तहका प्रमुख विशेषज्ञको दरबन्दी रहेको विभाग महानिर्देशकमा देउवा सरकारले बिच्छालाई निमित्तको जिम्मेवारी दिएको थियो।

१२औं तहका डा दीपेन्द्ररमण सिंहलाई मन्त्रालयमा तानेर देउवा सरकारले अन्य दर्जनौं वरिष्ठलाई पन्छाउँदै बिच्छालाई महानिर्देशक बनाएको थियो।

डा. बिच्छाको म्याद थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी (आरजू देउवा) ले स्वास्थ्य अधिकारीलाई दबाब दिएकी हुन्।

बिच्छाको सेवा अवधि थप गर्ने प्रक्रिया अगाडि बढेको सचिव डा. रोशन पोखरेलले बताए। ‘उहाँको सेवा अवधि थप गर्ने प्रक्रिया अगाडि बढेको छ,’ डा. पोखरेलले हेल्थपोस्टसँग भने, ‘मन्त्रालयबाट फाइल उठेर मन्त्रिपरिषदमा गइसकेको छ।’

डा. बिच्छाले आफू तीन वर्षका लागि निमित्त महानिर्देशक पदमा सेवा गर्न इच्छुक रहेको भन्दै सेवा अवधि थपका लागि मन्त्रालयमा निवेदन पेश गरेका थिए।

डा. बिच्छाको सेवा अवधि थप गर्न मिल्छ?

स्वास्थ्य सेवा ऐनको दफा, ४२ को उपदफा १ मा स्वास्थ्य सेवाका कर्मचारीको सेवा उमेर हद ६० वर्ष तोकिएको छ। सोही ऐनको दफा २ मा दफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारले विशेषज्ञ सेवा आवश्यक ठानेमा बढीमा तीन वर्ष सेवाअवधि थप्न सक्ने प्रावधान छ।

मन्त्रालयका अधिकारी पनि डा. विच्छाको सेवा अवधि थप विषयमा असहमत छन्।

डा. बिच्छा ११ औं तहका बाल रोग विशेषज्ञ हुन्।

सरकारले डा. बिच्छालाई बालरोग विशेषज्ञका रुपमा बालबालिकाको उपचारका लागि मात्र सेवा अवधि थप गर्न सक्ने स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. सेनेन्द्रराज उप्रेती बताउँछन्।

तर, यसरी सेवा अवधि थप भएका कर्मचारीले महानिर्देशक, निर्देशक तथा कुनै पनि प्रशासनिक पदमा बस्न भने पाउँदैनन्।

नेपाल सरकारले यसअघि वीर अस्पतालका तत्कालीन निर्देशक डा. अशोकरत्न बज्राचार्यको दुई वर्ष अर्थोपेडिक सर्जनका रुपमा समयावधि थप गरेको थियो भने वीर अस्पतालकै ग्यास्ट्रो सर्जन डा.सुबोध अधिकारीको पनि तीन वर्षे समयावधि थपेको छ।

डा. बिच्छालाई सेवा अवधि थप गरेर पुन विभागकै महानिर्देशकको जिम्मेवारी दिने दबाब प्रधानमन्त्री पत्नीले दिइरहेको स्रोतले जनाएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार नियमविपरीत महानिर्देशकको जिम्मेवारी दिन खोज्नु स्वास्थ्य उपकरण र खोप खरिदमा हुने कमिसनको खेल हो।

त्यसका लागि प्रधानमन्त्री पत्नीले स्वास्थ्य राज्यमन्त्री तथा स्वास्थ्य सचिवलाई तारन्तार फोन गरेर बिच्छाको म्याद थप्ने प्रस्ताव अगाडि नबढे राम्रो नहुने धम्की दिइरहेकी छिन्।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधान सेवा अवधि थप गरेका व्यक्तिले नेतृत्वको भूमिकामा बस्न नमिल्ने बताउँछन्।

‘विशेषज्ञ सेवाका लागि मात्रै म्याद गर्न सकिने स्वास्थ्य ऐनले तोकेको छ,’ डा. प्रधानले भने, ‘विशेषज्ञ सेवाको सेवा अवधि थप गर्न मिल्छ। तर, अन्य पदको दायित्व दिन मिल्दैन।’

यो अर्थमा बिच्छालाई म्याद थपेर बाल रोग विशेषज्ञको जिम्मेवारीमात्रै दिन मिल्छ।

डा. प्रधानकाअनुसार हालसम्म विशेषज्ञता बाहेक अन्य पदका लागि कसैलाई पनि सेवा अवधि थप गरिएको छैन।

‘महानिर्देशक, निर्देशक, मेडिकल डाइरेक्टर जस्ता पद स्वास्थ्य सेवामा विशेषज्ञता होइन। विशेषज्ञता भनेको बालरोग, अर्थोपेडिक, गाइनोलोजिष्टजस्ता सेवालाई भनिन्छ। हामीले बुझेको व्याख्या यही हो। तर, मन्त्रिपरिषद्ले कसरी बुझ्छ हेरौं,’ उनले भने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *