डाक्टर खोज्दै काउन्सिल, १० हजार अझै ‘सम्पर्कविहीन’

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलले २२ असारमा एक सूचना निकाल्यो। जसमा भनिएको थियो–चिकित्सक दर्ता अभिलेख अद्यावधिक गर्नुपर्ने भएकाले तुरुन्तै काउन्सिलको वेबसाइटमार्फत् अद्यावधिक गर्नुहोस्।’

काउन्सिलको पछिल्लो तथ्यांक अनुसार २८ हजार ४७७ चिकित्सक दर्ता भएका छन्। जसमा १७ हजार ९९५ पुरुष र १० हजार ४८२ महिला छन्।

तर, को कहाँ छन्, यकिन विवरण भने छैन।

काउन्सिलमा दर्ता भएका चिकित्सकमध्ये केहीको मृत्यु भइसकेको, कोही विदेश र केहीले ठेगाना बदलेका छन्।

अहिले नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट नाम हटाउने उद्धेश्यले चिकित्सकको काउन्सिलले तथ्यांक अद्यावधिक गर्न लागेको हो।

काउन्सिलले एक महिनाभित्रमा सबै दर्तावाला चिकित्सकलाई काउन्सिलको वेबसाइटमार्फत् अद्यावधिकका लागि अनुरोध गरेको थियो।

तर, तीन महिना बितिसक्दा पनि अधिकांश चिकित्सकले विवरण अद्यावधिक नगरेको पाइएको छ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारीले १९ हजार चिकित्सकको विवरण अद्यावधिक भएको जानकारी दिए।

‘काउन्सिलको तथ्यांकमा हालसम्म २९ हजार चिकित्सक दर्ता भएका देखिन्छन्। तर, १९ हजारको मात्र अद्यावधिक भएको छ,’ डा. अधिकारीले भने।

‘काउन्सिल स्थापना भएको ५८ वर्षपछि चिकित्सकको विवरण अद्यावधिक गर्न लागेका हौं। धेरै चिकित्सक अलमलमा परेको हुनसक्नुहुन्छ। हामीले उहाँहरुलाई विवरण अद्यावधिक गर्नुहोस् भनेर अनुरोध गरिरहेका छौं,’ डा। अधिकारीले भने।

केहीको निधन भएको, केही विदेशमा भएको र अरु को, कहाँ छन् बुझिरहेको काउन्सिलले जनाएको छ।

मेडिकल काउन्सिल ऐनको दफा १३ अनुसार दर्ता किताब दुरुस्त राखी समय–समयमा नाम दर्ता भएका चिकित्सकको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्नुपर्ने हुन्छ। साथै निधन भएकाहरुको सदस्यताबाट नाम हटाउने र कुनै दर्तावाल चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नुपर्ने व्यवस्था ऐनमा छ।

विवरण अध्यावधिक नगर्ने चिकित्सकलाई सचेत गराइने काउन्सिलले जनाएको छ।

‘५८ बर्ष अगाडि बनेको ऐन भर्खरै लागू हुँदै छ। केही चिकित्सकले असहज मानेका होलान्। बिस्तारै सबैले विवरण उल्लेख गर्नुहोला,’ उनले भने।

एक महिनाभित्र विवरण नबुझाए काउन्सिलले ती चिकित्सकहरुलाई सचेत गराउँदै फेरि ३ महिनाको म्याद दिएर विवरण वुझाउन पत्र काट्ने ऐनमा व्यवस्था गरिएको छ।

त्यो ३ महिनामा पनि सम्पर्कमा नआए फेरि अर्को ३ महिनाको समय दिन्छ। दोस्रो पटकको थप गरिएको ३ महिनामा पनि कुनै जानकारी नआए रजिष्ट्रारले काउन्सिलको दर्ता किताबबाट त्यस्ता चिकित्सकको नाम हटाउन सक्ने व्यवस्था ऐनमा उल्लेख छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *