माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार

हेल्थपोस्ट नेपाल

नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त) को स्वास्थ्यमा सुधार आएको छ।

नेता पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । परिवारका अनुसार पुनको शरीरमा रहेको अत्यधिक जण्डिसको मात्रा अहिले केही घटेको छ।

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक गएर उपचार गर्न सुझाव दिएका थिए।

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ, नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ। बान्ता भने अझै राेकिएको छैन’, उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन्।

जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले उनलाई बैंकक जान सुझाएका थिए।

तस्बिर : नेता वर्षमान पुनको सचिवालय



Leave a Reply

Your email address will not be published. Required fields are marked *