विनाखुट्टा मनासलु आरोहण गरेका रुस्तमको कथा

हेल्थपोस्ट नेपाल

दुवै खुट्टा नभएका रुसी नागरिक रुस्तम नावियेभले मनासलु हिमालको सफल आरोहण गरेका छन्।

२८ वर्षीय नावियेभले ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमालको सफल आरोहण गरेका हुन्। उनको आरोहण टोलीमा नेपाली आरोहीहरु दावा ग्याल्जी शेर्पा, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र ठुण्डु शेर्पा थिए।

 

रुस्तमको कथा
सन् २०१५ को जुलाई १२। रुसको ओम्स्क सैनिक ब्यारेक भत्कँदा रुस्तम पनि पुरिए। त्यसमा उनले आफ्ना २४ सहकर्मी गुमाए। रातभर पुरिएका उनी भने भाग्यवश बाँचे। क्षतिग्रस्त भवनबाट बाहिर निकाल्दा उनको दुवै खुट्टा गुमिसकेको थियो। उनको आत्मविश्वास पुनः फर्काउन श्रीमतीले धेरै सहयोग गरिन्।

उनी आफू बाँच्नुलाई ‘पुनर्जन्म’ भन्छन्।

दुवै खुट्टा गुमे पनि उनले हार खाएनन्। हिमाल चढ्नु उनको ‘प्यासन’ हो, साथै उनी आइस हक्की खेल्छन्। उनी एथलेट हुन्, भारोत्तोलन खेल्छन्। समग्रमा उनी खेलाडी हुन्।

भन्छन्, ‘सेनामा जानुअघि पनि म खेलकुदमा थिएँ, तर त्यतिबेला व्यावसायिक रुपमा थिइनँ। रमाइलोका लागि मात्र खेल्थें। मैले ६ वर्ष एथलेटिक्स खेलेँ र थप ४ वर्ष वेटलिफ्टिङ गरेँ।’

दुर्घटनापछि उनलाई आइसहक्की खेल्ने निम्तो आयो, जसलाई उनले सहर्ष स्वीकारे। ‘पहिले मलाई हक्कीप्रति कुनै रुची थिएन र खेलेको पनि थिइनँ। त्यसको नियम पनि थाहा थिएन। तर दुर्घटनापछि मलाई केही गर्नु थियो। मुख्य कुरा घरमा बसिरहन मन लागेको थिएन,’. उनी भन्छन्।

अहिले उनको प्रमुख खेल भनेकै आइसहकी हो। हकी उनको रगतमै छ। सन् २०१७ को युरोपियन कन्टिनेन्टल कपमा उनको टोलीले स्वर्णपदक जितेको थियो भने रसियन च्याम्पियनशिपमा काँस्य पदक र पोल्याण्डमा भएको युरोपियन च्याम्पियनशिपमा स्वर्णपदक जितेका थिए। सन् २०१८ मा स्वीडेनमा भएको माल्मो ओपनमा पनि उनले पदक जितेका थिए।

रसिया बियोन्ड
प्योङचाङ ओलम्पिकमा उनी सम्मिलित राष्ट्रिय टिम विजयी भयो। भन्छन्, ‘प्रतिबन्धका बाबजूद हाम्रा खेलाडीले हार मानेनन् र हामी महान खेल मुलुक हौं भनेर प्रमाणित गरे।’

इन्स्टाग्राममा उनी उत्तिकै लोकप्रिय छन्, जहाँ उनका १ लाख १८ हजार फलोअर छन्। इन्स्टाग्राममा उनी जीवनका बारेमा कुराकानी गर्छन्। ‘मेरो ब्लगको मुख्य फोकस भनेको परिस्थिति जस्तोसुकै होस्, त्यसलाई परिवर्तन गर्न सकिन्छ भन्ने हो। अपांगता नयाँ जीवनको नयाँ पेज हो भनेर प्रमाणित गर्न चाहन्छु,’ उनले भनेका छन्।

भिडियोमा उनले भनेका छन्, ‘जेसुकै भएको होस्, जीवन सुन्दर छ। म सधैं मेरा पाठकहरुलाई भन्ने गर्छु कि गुनासो गरेर कसैले पनि जीवन खेर फाल्नु हुन्न।’

धेरै फलोअरहरुलाई रुस्तमले प्ररित गरेका छन्। उनले धेरै मानिसबाट पत्र पाउँछन्। तिनीहरुलाई उनी आत्महत्याजस्तो जीवनकै खराब गल्ती गर्नबाट रोक्छन्। भन्छन्, ‘जीवनमा संघर्ष गर्नुपर्छ र लड्नुपर्छ भन्ने मेरो उदाहरणले अरुलाई निराश नहुनबाट सहयोग गरेकोमा मलाई खुसी लाग्छ।’

फ्यानहरुले उनलाई उनको दैनिकीका बारेमा सोध्छन्। उनी आफ्नो अपार्टमेन्टमा भएको ग्याजेट देखाउँछन्। जसमा नुहाउनका लागि उनी विशेष ग्याजेट प्रयोग गर्छन्। उनी कसरी कार प्रयोग गर्छु भनेर पनि भिडियोमा देखाउँछन्।

कार किनेपछि उनले म्यानुअल कन्ट्रोल अर्डर गरे। जर्मन प्रविधियुक्त त्यो उपकरणले उनको जीवनलाई लाखौं गुणा सजिलो बनायो।

उनको जीवनको सबैभन्दा सबल पक्ष भनेकै उनकी श्रीमती इन्दिरा हुन्। ‘म मेरी श्रीमतीका बारेमा धाराप्रवाह बोल्न सक्छु। उनी गज्जबकी छन्। त्यो दुर्घटनाबाट उनैले मलाई निकालिन् र बचाइन्। त्यो बेला ५ वर्षसम्म हामीले एक अर्कालाई हेरेरै बितायौं। उनी मसँगै बसिन् र मेरो अपांगतालाई स्वीकार गर्न डराइनन्,’रुस्तम भन्छन्।

रसिया बियोन्ड
सुरुमा इन्दिराले आफूलाई छाड्छिन् भन्ने उनलाई लागेको थियो। दुर्घटनापछि कोमाबाट ब्युँझिए र बोली फर्किएपछि उनले सोधे–चाहन्छ्यौ भने तिमी मलाई छाड्न सक्छौ।’ तर उनले जवाफ दिइन्–खुट्टा होस् या नहोस् म तिमीलाई धेरै माया गर्छु र कहिल्यै छाड्दिन। ‘यसपछि उनी मेरो उत्प्रेरणाको सबैभन्दा सबल पक्ष भइन्, जसले मलाई जीवन र भविष्यसँग लड्न सिकायो,’ उनले भने।

 

रसिया बियोन्डको सहयोगमा

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *