मृत्यको मुखमा पुर्‍याउने कोरोना भुलेर भीडभाड

नेपालीहरुको महान् चाड विजया दशमी आउन मात्र पाँच दिन बाँकी छ। चाडपवका लागि आवश्यक तयारी गर्न बजार निस्केका मानिसको घुइँचो लाग्न थालेको छ।

भीडलाई न त कोरोना संक्रमित हुने डर छ, न त विगतमा संक्रमणले दिएको दुःख नै याद छ। कोरोना संक्रमणका कारण देशभर ११ हजार १३५ मानिसको मृत्यु भइसकेको छ । अहिलेपनि दैनिक १० देखि १२ जनाले ज्यान गुमाएका छन्।

यो भीड हेर्दा देशमा कोरोना थियो भन्ने कल्पना नै गर्न सकिँदैन। अहिले पनि देशभर १८ हजार १३८ सक्रिय संक्रमित छन्।

यसै विषयलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक आदेश जारी गरेको छ, जुन रातको १२ बजे पछि लागू भइसकेको छ।

आदेशको पहिलो नम्बर बुँदामै भनिएको छ, ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने,नगराउने।’

तर विडम्बना देशको राजधानी जुन हालसालै साक्षर जिल्ला घोषणा गरिएको छ, त्यहाँका जनता मात्र नभई राजनीतिक चेतना भएकाहरुले सरकारको निर्णयलाई मजाक बनाइरहेको छ।

जुन दिन सिडियोको आदेश लागू भयो सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम विधान महाधिवेशन सुरु भयो। तर लागू गरेको २४ घण्टा नबित्दै काठमाडौं प्रशासनले अर्को सूचना जारी ग¥यो, अघिल्लो आदेशको पहिलो बुँदा हटाए।

उक्त सूचनामा, ‘उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्मेलन र धार्मिक–संस्कृतिक मेला, जात्रा, पर्व लगायत चाडपर्व लक्षित अन्य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पूर्ण परिकल्पना गरी गर्न–गराउनमा कुनै बन्देज नलगाएको,’ भन्ने उल्लेख छ।

झण्डै ६ हजार मानिसको सहभागिता रहेको एमालेको महाधिवेशनमा स्वास्थ्य मापदण्ड पालना भएको देखिएन। हलमा उपस्थित अधिकांशले मास्क लगाएपनि भौतिक दूरी कायम गरेको देखिँदैन।

त्यस्तै, नेपाली कांग्रेसको पनि अधिवेशन चलिरहेको छ। ‘यस्तो अवस्थामा कोरोना संक्रमण नफैलिएला वा नयाँ भेरियन्ट नआउला भन्न सकिँदैन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी कृष्ण पौडेलले बताए।

स्वास्थ्य मन्त्रालयले हालसालै गरेको सेरो प्रिभिलेन्स अध्ययन अनुसार गाउँ तथा सरहमा कोरोना संक्रमण दर उस्तै रहेको पाइएको छ। अध्ययनका अनुसार हिमाल, पहाड तथा तराईमा सक्रिय संक्रमितको दर पनि उस्तै छ। सबै ठाउँमा जोखिम उत्तिकै छ।

काठमाडौंमा हरेक दिन २५० व्यक्ति कोरोना संक्रमित भइरहेका छन्। विगत एक महिनाको तथ्याङक केलाउँदा दैनिक कोरोना संक्रमित हुनेको संख्या ५० प्रतिशतले घटेको छ। दसैंका लागि लाखौं संख्यामा मानिसहरु काठमाडौं छोडेर गाउँ जाँदैछन्।

मन्त्रलायको १४ गते सम्मको तथ्याङक अनुसार हरेक दिन प्रदेश १ मा १७४, प्रदेश २ मा १६, बागमति प्रदेशमा ४३१, गण्डकी प्रदेशमा १०३, कर्णालीमा ३६ र सुदुरपश्चिममा २८ जना कोरोना संक्रमित थपिने गरेका छन्।

‘कोरोना संक्रमण केही हदसम्म कम हुँदै गएको छ। तर यसको मतलब जोखिम कम भएको भने होइन। अझै पनि मानिसहरुले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ, पौडेलले भने।

‘हामीले संक्रमणको दुई वटा लहर झेलिसकेका छौं भने दोस्रो लहरको उच्च संक्रमण भएको ६ महिना पुग्न लागिसकेको छ। कोरोना संक्रमण भएको ६ महिनापछि बिस्तारै मानिसमा एन्टिबडिको कमी आउन थाल्दछ। त्यसपछि पुन संक्रमण हुन सक्ने सम्भाना बढि भएका कारण मापदण्ड पालना गर्न अझै आवश्यक छ,’ पौडेलले भने।

हाल भइरहेको भीडभाडले अर्को कोरोना भाइरसको भेरियन्ट निम्त्याउन सक्ने स्वास्थ्य मन्त्रालयको पूर्वानुमान छ।

नेपालमा हालसम्म डेल्टा भेरियन्ट नै देखिएको छ। तर खुला सिमाना तथा भीडभाडका कारण अर्को भेरियन्ट नआउला भन्न सकिँदैन,उनले भने। अहिले कोरोना विरुद्धको खोपका कारण पनि संक्रमणको संख्यामा कमि आएको उनको भनाई छ।

तर अझै पनि ६७ प्रतिशत जनसंख्याले खोप लगाउन बाँकी नै छ। हालसम्म २८ प्रतिशतले पूर्ण र ३३ प्रतिशतले मात्र पहिलो मात्रा खोप लगाएका छन्।

प्रदेश अनुसार हेर्दा प्रदेश १ मा ११ लाख ३५ हजार १३८ ले पहिलो मात्रा खोप लगाएका छन् भने ७ लाख ४९ हजार ५६५ ले दोस्रो मात्रा लगाएका छन्।  प्रदेश २ मा १० लाख ८१ हजार ४४९ जनाले पहिलो र ९लाख ७८ हजार ७१७ जनाले पूर्ण खोप लगाएका छन्।

बागमतिमा २६ दाख ७१ हजार ८६८ ले पहिलो र २३ लाख ३६ हजार २७४ ले पूर्णमात्रा खोप लगाएका छन्। त्यसैगरी, गण्डकीमा ६ लाख ६७ हजार ८७९ ले पहिलो र ६ लाख १४ हजार ४६३ ले दोस्रो मात्रा खोप लगाएका छन्।

लुम्बिनी प्रदेशमा पहिलो मात्रा खोप लगाउनेको संख्या ११ लाख १० हजार ११३ पुगेको छ भने दास्रो मात्रा लगाउने ८ लाख ८७ हजार ९०८ रहेका छन्। कर्णाली प्रदेशमा ३ लाख ४७ हजार २५९ पहिलो मात्रा र २ लाख ५० हजार ९१ ले दोस्रो मात्रा खोप लगाएका छन्। त्यस्तै, सुदुरपश्चिममा ६ लाख ४४ हजार ४८२ ले पहिलो र ५ लाख ८ हजार ३१५ ले दोस्रोमात्रा खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *