३० वर्षभन्दा मुनिका व्यक्तिले कोरोनाभाइरस खोपबारे थाहा पाउनु पर्ने कुरा

सरकारले नेपालमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने घोषणा हालै गरेको छ।

विगतमा कोरोनाभाइरस विरुद्धको खोपका सम्बन्धमा उमेर समूहका हिसाबले विभिन्न अनुमान वा आशङ्काहरू पनि सार्वजनिक रूपमा व्यक्त हुने गरेका थिए।

त्यसमा मुख्यतया खोपहरूको प्रभावकारिता र त्यसबाट हुने ‘साइड इफेक्ट’ अर्थात् सामान्य असरहरूका बारेका जिज्ञासा पर्दछन्।

कोभिड खोपहरू कति प्रभावकारी छन्?
खोपहरू अर्थात् भ्याक्सिनहरूले मानिसहरूलाई कोभिड १९ बाट मृत्यु हुन नदिन वा गम्भीर बिरामी पर्नबाट जोगाउँछ।

मानिसहरूलाई कोभिड गराउने कोरोनाभाइरसको सङ्क्रमण हुनै नदिन, हल्का लक्षणहरू समेत नदेखिने बनाउन र अरूलाई सार्नबाट रोक्न भने तिनीहरू कम प्रभावकारी देखिएका छन्।

तर वैज्ञानिकहरूका अनुसार खोपहरूको प्रभावकारिता ती खोपले कोरोनाइभाइरसको कुन भेरिअन्ट वा प्रकारविरुद्ध कसरी राम्रोसँग काम गर्न सक्छन् भन्नेमा पनि निर्भर रहन्छ।

नेपालसहित यूके लगायतका देशमा हाल कोरोनाभाइरसको डेल्टा भेरिअन्टको प्रकोप चर्को रहेको अध्ययनहरूले देखाएका छन्। इङ्गल्यान्डमा गरिएका अध्ययनहरूले सुझाए अनुसार खोपका दुई मात्रा लगाउँदा त्यसबाट ८० प्रतिशत मानिसहरूलाई डेल्टा भेरिअन्टका लक्षणहरूबाट सुरक्षा प्राप्त भएको छ।

त्यो अल्फा भेरिअन्टको दाँजोमा केही कम हो। दुई मात्रा खोपले अल्फा भेरिअन्टविरुद्ध दिने सुरक्षा ८९ प्रतिशत रहेको पाइएको छ। अध्ययनहरू गरेको यूकेको एक स्वास्थ्य निकाय पब्लिक हेल्थ इङ्गल्यान्डले पत्ता लगाए अनुसार:

कोरोनाभाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना हुनु पर्ने गरी विसञ्चो हुनबाट रोख्न खोपहरू ९६ प्रतिशतसम्म सक्षम छन् र खोप नलगाएकाहरूभन्दा दुई मात्रा कोभिड खोप लगाएकाहरूमा कोरोनाभाइरसका कारण हुने मृत्युको घटना चार गुणाले कम देखिएको छ।

कोभिडबाट आफूलाई सुरक्षित राख्न दुई मात्रा खोप लगाउनु नै सबैभन्दा उत्तम उपाय रहेको देखिएको छ। यूकेमा आस्ट्राजेनेका र फाइजर अनि मोडेर्ना खोप दिने गरिएको छ।

नेपालमा सरकारी विवरणहरू अनुसार हालसम्म आस्ट्राजेनेका, भेरोसेल र ज्यानसेन खोपको प्रयोग भएको छ।

कोभिड खोप अनिवार्य हो?

नेपालमा कोभिड खोप लगाउन अनिवार्य तुल्याउने कानुनी व्यवस्था छैन। तर सरकारले निश्चित उमेर समूहका योग्य मानिसहरूलाई खोप नि:शुल्क उपलब्ध गराएको छ।

र आफू, आफ्नो परिवार, साथीभाइ, सहकर्मी, छिमेकी र समाजका मानिसहरूको सुरक्षाका लागि खोप लगाउन सरकारले आग्रह गर्ने गरेको छ।

खोप नलगाउँदा खोप लगाएको प्रमाण आवश्यक पर्ने यात्रा लगायतका कामहरू गर्न पाइँदैन वा अप्ठ्यारो पर्ने हुन्छ।

वैदेशिक रोजगारी वा अध्ययन वा पर्यटन वा अन्य जरुरी काम विशेषले विदेश जान वा विदेशबाट नेपाल फर्कनका लागि खोप लगाएकाहरूलाई खोप नलगाएकाहरूका दाँजोमा अवस्था हाल केही सहज हुने गरेको छ।

केही देशहरूले कोभिड खोपको पूर्ण मात्रा लगाएकाहरूलाई मात्र आफूकहाँ प्रवेश दिने गरेका छन्।

‘साइड इफेक्ट’

कोभिड खोप लगाएकाहरूमा प्रायः जसो सामान्य असर वा साइड इफेक्ट देखिएको पाइएको छ जुन केही दिनपछि हराएर जाने गरेका छन्।

खोप लगाएपछि शरिरको रोगप्रतिरोधी क्षमताले सक्रियता देखाएर प्रतिक्रिया जनाउँदा ती सामान्य लक्षणहरू देखिने गर्छन्।

त्यस्ता केही लक्षणहरू यस्ता हुन्छन्:

खोप लगाएको हात दुख्ने
थकान अनुभव हुने
हल्का ज्वरो आउने
टाउको दुख्ने र
वाकवाक लाग्ने
केही थोरै सङख्यामा मानिसहरूलाई गम्भीर ‘एलर्जिक’ लक्षणहरू पनि देखिएका छन्।

यूकेमा विशेषगरी त्यस्ता लक्षण फाइजर र मोडेर्नाका खोप लगाएकाहरूमा देखिएको बताइएको छ। कसैमा एलर्जीको समस्या छ भने खोप लगाउनु अघि चिकित्सकसँग सल्लाह गर्नु पर्छ।

खोप लगाइसकेका केही थोरै सङ्ख्यामा युवाहरूको मुटुको मांशपेशी सुन्निएको पाइएको विवरणहरू आएका छन्।

कोभिड सङ्क्रमण भए पनि त्यस्तो समस्या देखिने सम्भावना बढी रहन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *