टिचिङ अस्पतालमा बिरामीले भर्ना पाएनन्, एउटै बेडमा तीन जनासम्म

हेल्थपोस्ट नेपाल

चिसो भूई।

कोही कुर्सीमा। कोही त ह्लिचियरमा।

एउटै बेडमा पनि तीन जनासम्म खचाखच।

यो दृश्य हो, त्रिवि शिक्षण अस्पतालको।

आकस्मिक कक्षमा पाइला हाल्ने ठाउँ समेत छैन।

बिरामी कुर्सी मै छट्पाइरहेका छन्।

चिकित्सकलाई दौडधुप छ। कसरी बिरामीको व्यवस्थापन गर्ने।

अहिले त्रिविमा आकस्मिक कक्षमा सयौं संख्या बिरामी आउँछन्।

तर, विडम्वना बेड अभाव छ। आकस्मिक कक्षमा भर्नाका लागि एउटै शैयामा तीनजना सम्म बस्न बाध्य छन्।

पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या न्यून भएसँगै अन्य बिरामीको संख्या भने बढ्दै गएको छ।

अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीका अनुसार नन कोभिडका बिरामीलाई भर्ना गर्न सकिने अवस्था छैन।

ओपिडीमा समेत बिरामीको लर्को लाइन छ।

केही महिना अगाडी पाँच–छ सय ओपिडी टिकट बिक्रि हुने गरेकोमा हाल एक हजार पाँच सयभन्दा बढी हुने गरेको छ।

अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार आकस्मिक कक्षमा आएका बिरामीलाई बेड अभावका कारण रिफर गर्नुपर्ने बाध्यता छ।

अस्पतालको तथ्यांक अनुसार ६२४ भन्दा बढी नन कोभिडका बिरामीले उपचार लिइरहेका छन्।

‘कोरोना कम भएपछि नन कोभिडका बिरामीले भर्ना हुने संख्या ह्वातै बढेको छ। बिरामीलाई व्यवस्थापन गर्न सकिएको छैन। भर्नाको लागि आकस्मिक कक्षमा तीनजना समेत राखेर उपचार गर्नुपरेको छ,’ डा. दासले भने।

बिरामीको संख्या बढ्नुमा प्रमुख कारण कोरोना संक्रमण उच्च हुँदा अन्य सेवा प्रभावित हुनु।

चिकित्सकका अनुसार अघिल्ला बर्ष यस बेला यस्तो चाप हुँदैन थियो। तर, कोरोना संक्रमणले अन्य रोगका सेवा प्रभावित भएकाले चाप बढ्को डा. दास बताउँछन्।

‘कोरोना उच्च भएको बेला हामीले अप्रेशन पनि रोकेका थियौं। लामो समय सम्म घर बसिरहेका अन्य रोगका बिरामी अहिले आइरहेका छन्,’ डा. दासले भने, ‘ अहिले बरु कोभिडका बिरामीलाई भर्ना गर्न सजिलो छ। नन कोभिडका बिरामीको बेड हाहाकार छ।’

अस्पतालको तथ्यांक अनुसार नन कोभिडको ९० जना भर्ना हुनेगरेका छन्।  त्यसैगरी, आकस्मिक कक्षबाट भर्ना हुने बिरामी २०–२५ जना रिफर हुँदै आएका छन्।

‘बेडको लागि दुई–तीन लगाएर आकस्मिक कक्षको कुर्सीमा बस्नु परेको छ। बिरामीलाई बेडकै अभावमा रिफर गर्नुपर्ने बाध्यता छ,’ डा. दास गुनासो गर्छन।

अधिकारीका अनुसार मृगौला डायलासिस, ज्वरो रुघाखोकी, श्वाप्रश्वास, ब्लडप्रेसर, सर्जरी गर्नुपर्ने बिरामीको आउने क्रम बढ्दो छ।

‘नन कोभिडको आइसियू खाली छैन। सर्जरीका बिरामीले लामो समयदेखि कुनुपर्ने बाध्यता छ,’ अधिकारीले भन्छन्। नन कोभिडका ५५ वटा आइसियू छन्।

अधिकारीका अनुसार कोभिडका बिरामी भएकाले लागि प्रयोग भइराखेको आइसियु हटाएर नन् कोभिडका विरामीका लागि प्रयोग गर्न कार्य भइरहेको छ।

‘बेलुका आकस्मिक कक्ष बढी भीड हुने गरेको छ। बेड अभाव छ भनेर अन्य रिफर गर्न खोज्दा मान्दैनन्,’ अधिकारी भन्छन्, ‘ बरु यही मर्छु भनेर बस्छन्।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *