काठमाडौं उपत्यकामा ७६ प्रतिशतलाई कोरोना खोप

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले कोरोनाको पूर्णमात्रा खोप लगाएका छन्। उपत्यकाको २१ लाख २९ हजार ७७३ मध्ये १५ लाख ६२ हजार ७३४ जनाले पूर्ण मात्रा खोप पाएका छन्। जुन कुल जनसंख्याको ७३ प्रतिशत हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज १३ गतेसम्मको तथ्याक अनुसार ७६ प्रतिशत (१६ लाख २२ हजार ४४) प्रतिशतले पहिलो मात्रा खोप पाएको छन्।  जिल्लागत रुपमा काठमाडौं जिल्लामा ७४ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन्। काठमाडौं जिल्लामा रहेका १५ लाख ६२ लक्षित जनसंख्यामध्ये ११ लाख १२ हजार ८९३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। ७८ प्रतिशत अर्थात ११ लाख ७७ हजार ६० जनाले पहिलो मात्रा खोप लगाएका छन्।

त्यसैगरी, भक्तपुर जिल्लामा २ लाख ४६ हजार ८५१ लक्षित जनसख्यामध्ये १ लाख ८४ हजार ७८७ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। भक्तपुरमा ६३ प्रतिशत अर्थात १ लाख ५५ हजार ३२६ जनाले पहिलो मात्रा खोप लगाएका छन्।

३ लाख ८२ हजार ८६० लक्षित जनसंख्या रहेको ललितपुर जिल्लामा ६९ प्रतिशत ९ २ लाख ६५ हजार ५४०ले पूर्ण मात्रा खोप लगाएका छन्। त्यसैगरी, ७६ प्रतिशत ( २ लाख ९० हजार ५५) जनाले पहिलो मात्रा खोप पाएका छन्।

देशभरको तथ्यांक हेर्दा अहिलेसम्म नेपालमा २८ दशमलव ७ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। यस्तै पहिलो डोज खोप लगाउने ३३ दशमलव २ प्रतिशत पुगेका छन्।

नेपालमा असोज १३ गतेसम्म ६२ लाख ३८ हजार १ जनाले पूर्ण मत्रा र ७२ लाख १४ हजार ७४२ जनाले पहिलो मात्रा कोराना विरुद्धको खोप लगाइसकेका छन्।

सङ्क्रमण दर पनि घट्दै 

यस्तै सबभन्दा बढी सङ्क्रमण देखिएको भदौ ३ पछि क्रमशः सङ्क्रमण दर घट्दै गएको पाइएको छ । त्यस दिन १६ हजार ४३८ जनामा परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण देखिएको थियो । यो परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।

त्यसको ठीक एक महिनापछि यही असोज ३ गते १० हजार १३ जनामा परीक्षण गर्दा ७३४ जनामा सङ्क्रमण देखिएको थियो । यो सङ्क्रमणको ७.३ प्रतिशत हो । त्यसैगरी हिजो मङ्गलबार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको थियो । यो सङ्क्रमणदर दर ८.३ प्रतिशत हो ।

सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशत मात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिए । उनका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ ।

यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

यस्तै अगष्ट महिनामा २४.५ प्रतिशत पहिलो मात्रा र २०.५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए । अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ ।

नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यामा भएको वृद्धि तथा जनस्वास्थ्यको मापदण्डमा कडाइका कारण पछिल्ला दिनहरुमा भाइरसको सङ्क्रमण घट्दै गएको देखिएको छ ।

एक करोड ७८ लाख मात्रा खोप प्राप्त 

नेपालमा अहिलेसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप प्राप्त भइसकेको छ । कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६० मात्रा, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा र भेरोसेल खोप एक करोड १९ लाख मात्रा प्राप्त भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *