मोदीको जन्मदिन ‘भव्य’ बनाउन खोपमा फर्जी

हेल्थपोस्ट नेपाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म दिन १७ सेप्टेम्बरमा एकै दिन साढे २ करोडभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको दाबी गरिएको थियो। तर रेकर्डका नाममा फर्जी काम गरिएको दाबी गरिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त दिन पहिल्यै खोप लगाएका मानिसलाई खोप प्रमाणपत्र वितरण गरिएको थियो भने दोस्रो डोज नै नलगाइएकालाई पनि दोस्रो डोज लगाएको प्रमाणपत्र दिइएको थियो।

यस्तै, खोप नै नलगाएका मानिसलाई पनि खोप प्रमाणपत्र दिइएको थियो। हुसेन बाजी नाम गरेका व्यक्तिको भनाइ उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘अचम्म छ, मलाई दोस्रो डोज बडोदरामा लगाइएको थियो। तर प्रमाणपत्रमा दोस्रो डोज मेरो गृहनगरबाट लगाइएको भनिएको छ। म त्यतिबेला त्यहाँ नै थिइनँ।’ उनले आफूले चिनेका ८ जनाको पनि यस्तै गरिएको बताए।

गुजरातको केशोदमा बस्ने तुषार वैष्णव र उनकी पत्नीलाई पनि १७ सेप्टेम्बरको राति ८ बजे एक मेसेज आयो। जसमा भनिएको थियो–तपाईंलाई दोस्रो डोज लगाइएको छ।’ उनले भने, ‘सुरुवातमा मैले सम्झेको थिएँ गलत मेसेज आयो, त्यसपछि प्रमाणपत्रमा हामी दुवैको नाम देखेपछि मैले के भइरहेको छ, सोच्नै सकिनँ।’

उनको प्रमाणपत्र घरबाट २५ किलोमिटर टाढाको खोप केन्द्रबाट जारी गरिएको थियो। उनले यति टाढा गएर खोप लगाउनु असम्भव रहेको बताए।

१८ सेप्टेम्बरमा उनी उजुरी लिएर स्थानीय खोप केन्द्र गएका थिए। त्यहाँ एक नर्सले उनको आधार कार्ड नहेरी र डाटा इन्ट्री नगरी खोप लगाइदिइन्।

बिहारको हिल्साका राजू कुमारलाई १५ सेप्टेम्बरमा प्राथमिक स्वास्थ्य केन्द्रबाट फोन गर्दै यो साता आएर निःशुल्क दोस्रो डोज लगाउन भनियो। तर १७ सेप्टेम्बरको दिउँसो उनको मोबाइलमा नोटिफिकेशन आयो–तपाईंले कोरोनाको दोस्रो डोज लगाइसक्नु भएको छ, आफ्नो प्रमाणपत्र डाउनलोड गर्न सक्नुहुनेछ।’

त्यसपछि उनले खोप केन्द्रमा फोन गरे। त्यहाँबाट उनलाई ‘चुप रहन र चाहेको बेला आएर खोप लगाउन सक्ने’ जवाफ दिइयो।

यसअघि स्क्रोल वेबसाइटले पनि यस्तै आरोपका विषयमा अनुसन्धान गरेको थियो। उक्त वेबसाइटका अनुसार बिहारका अधिकारीहरुले १५ र १६ सेप्टेम्बरमा खोप लगाएका थिए । तर यसको तथ्यांक भने १७ सेप्टेम्बरमा कोभिड पोर्टलमा अपलोड गरियो।

१७ सेप्टेम्बरमा साढे २ करोडभन्दा बढीले खोप लगाए पनि त्यसको एक साताभित्र दैनिक खोप लगाउनेको संख्या ७६ लाखभन्दा कम भएको थियो। यसकारण पनि उक्त दिन रेकर्डका नाममा फर्जी कार्य गरिएको पुष्टि हुने भारतीय सञ्चारमाध्यमको भनाइ छ।

गत २१ जुनको अन्तर्राष्ट्रिय योग दिवसका दिन सरकारी अधिकारीहरुले भारतभर ८६ लाख डोज लगाइएको दाबी गरेका थिए। तर पछि भाजपा सरकार रहेको राज्यमा २१ जुनमा अप्रत्याशित वृद्धि देखाउन केही दिनअघि नै खोप लगाउने दरलाई कम गरिएको खुलासा भएको थियो।

तस्बिर : दि वायरबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *