विदेशमा बर्सेनि १ हजार नेपालीको मृत्यु, कारण खोज्दैन सरकार

विश्वका २७ मुलुकमा रोजगारीका लागि गएकामध्ये आर्थिक वर्ष २०७७/७८ मा १ हजार २ सय ४२ जनाको मृत्यु भयो। जसमध्ये १ हजार २ सय १३ पुरुष र २९ महिला थिए। वैदेशिक रोजगार बोर्डका अनुसार तीमध्ये १ सय ७१ जनाको ‘प्राकृतिक मृत्यु’ भएको थियो भने २ सय ४८ जनाको ‘अन्य’ कारणबाट भनिएको छ। ५ जनाको मृत्युका बारेमा अनुसन्धान बाँकी नै रहेको जनाइएको छ। यसरी ४ सय १९ जनाको मृत्युको कारण खुल्न सकेको छैन।

बोर्डका अनुसार २०६५ देखि आव २०७७/७८ सम्ममा ९ हजार ३ सय ७१ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ। यो संख्या बर्सेनि सरदर ७ सय ८० हुन्छ। गत आर्थिक वर्षमा त्यो संख्या बढेर १२ सय ४२ पुगेको थियो।

 

कारण खोज्दैन सरकार
सर्वोच्च अदालतले २०७४ कात्तिकमा वैदेशिक रोजगारीका क्रममा श्रम गन्तव्य मुलुकमा हुने मृत्युको कारण खोज्न सरकारलाई आदेश दिएको थियो। त्यसपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। तर उक्त कार्यदलले खासै निष्कर्ष दिएन।

सरोकारवाला निकाय मानिएको वैदेशिक रोजगार बोर्डको सचिवालय यसबारेमा झनै बेखबर छ। सचिबालयका अधिकारीहरु यसविषयमा आफूहरुलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउँछन्।

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ दक्ष जनशक्तिको अभावमा कामदार मृत्युको कारण पत्ता लगाउन समस्या भएको बताउँछन्। यद्यपि वैदेशिक रोजगारीमा हुने मृत्युको वास्तविक तथ्य पत्ता लगाउन अध्ययन सुरु भइरहेको उनको दाबी छ।

वोर्डले विदेशमा मृत्यु भइ नेपाल पठाइएका शव विना परीक्षण नै घर पठाउने गरेको छ।

सबैभन्दा बढी मृत्यु खाडी मुलुकमा

सबैभन्दा बढी नेपालीको मृत्यु खाडी मुलुकहरु साउदी अरब, कतार तथा संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियामा हुने गरेको छ। आव २०७७/७८ मा साउदी अरबमा ३ सय ६२ जनाले ज्यान गुमाएका छन्, जसमा पुरुष ३ सय ६० र महिला २ जना छन्। त्यस्तै मलेसियामा २ सय ७९ पुरुष र १ महिला गरी २ सय ८० जनाको मृत्यु भएको छ।

त्यस्तै कतारमा २ सय ३९ जनाले ज्यान गुमाएका छन्। जसमा २ महिला र २ सय ३७ पुरुष छन्। संयुक्त अरब इमिरेट्स् (युएई)मा १ सय ९६ पुरुष र १२ महिला गरी २ सय ८ जना नेपालीले ज्यान गुमाएका छन्। अन्यमा मुलुकमा १ सय ५३ नेपालीको मृत्यु भएको छ।

बोर्डका उपसचिव दिनबन्धु सुवेदीका अनुसार धेरैजसो मृत्यु हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी/सडक दुर्घटनाजस्ता कारणले हुने गरेको छ। आत्महत्या पनि बाकसमा फर्कने अर्को कारण मानिन्छ।

गत आवमा विभिन्न रोगका कारण ४ सय २७, कार्डियाक एरेष्टका कारण १०४, सवारी/सडक दुर्घटनामा १ सय १९ तथा कार्यस्थलमा दुर्घटनामा २६ जनाको मृत्यु भएको छ।

त्यस्तै आत्महत्याका कारण १ सय ४०, हत्या २ र प्राकृतिक मृत्युका कारण १ सय ७१ जनाको मृत्यु भएको छ। २ सय ४८ जनाको के कारण मृत्यु भएको खुल्न सकेको छैन भने ५ जनाको अनुसन्धान बाँकी रहेको देखिन्छ।

तर, अवैध रुपमा वैदेशिक रोजगारीमा जानेहरुको तथ्यांक भने सरकारसँग छैन। त्यस्ता घटना तिनका परिवार, आफन्त, नातागोता र साथीबाहेक कसैलाई पनि थाहा हुँदैन। यसका अलावा रोजगारीका भारत गएका नेपाली कामदारको पनि कुनै हिसाबकिताब हुँदैन।

वैदेशिक रोजगार बोर्डका अनुसार कामको सिलसिलामा अंगभंग हुनेको संख्या पनि उल्लेख्य हुन्छ। गत आवको तथ्यांक अनुसार एक वर्षमै विभिन्न कारणले गर्दा १ सय ४३ कामदार अंगभंगको पीडा भोग्नु परेको छ।

यसमध्ये कतिपय सोही अवस्थामा स्वदेश फर्किएका छन् भने कतिपय अझै पनि विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका छन्।

मृत्युका श्रृंखला
आव २०७६/७७ मा ६ सय ७४ जनाको मृत्यु भए पनि कोरोना महामारी भएको आर्थिक वर्ष २०७७/७८मा मृत्यु संख्या दोब्बरले बढेको छ। यो वर्ष १२ सय ४१ जनाको मृत्यु भयो।

बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा ७७, २०६६/६७ मा ४१९, २०६७/६८ मा ५६५, २०६८/६९ मा ६४६ र २०६९/७० मा ७२३ जनाले विभिन्न कारणबाट ज्यान गुमाएका छन्।

त्यसैगरी, २०७०/७१ मा ८७६, २०७१/७२ मा एक हजार ७, २०७२/७३ मा ८१३, २०७३/७४ मा ७५५, २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७ सय ५३ जना नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन्।

लकडाउनका कारण २०७६/७७ मा घटना कम भए पनि २०७७/७८ मा आएर १२ सय ४२ जनाको मृत्यु भएको थियो भने १ सय ४३ जनाको अंगभग भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *