लोमस र क्यूमेडले उत्पादन गरेको औषधि न्युन गुणस्तर, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

हेल्थपोस्ट नेपाल

औषधि व्यवस्था विभागले दुईवटा कम्पनिको औषधि विक्री–वितरणमा रोक लगाएको छ।

विभागले एक सूचना जारी गर्दै ती औषधिको गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा क्यूमेड फर्मुलेसन प्राली र लोमस फर्मास्युटिकल्स प्रालीले उत्पादन गरेका औषधिमा न्युन गुणस्तरका भएको पाइएको छ।

विभागको अनुगमनका क्रममा क्यूमेडको (लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स) नामको औषधि र लोमसको जेफिक्स–१०० (सेफिक्सिम १०० एमजी डिस्प्रेसिवल ट्याब्लेट्स) नामका औषधि न्यून गुणस्तरको फेला पारेको हो। यी दुबै औषधि एन्टिबायोटिक्स हुन्।

औषधि व्यवस्था विभागले बजारबा नमूना संकलन गरेर परीक्षण गर्दा  क्यूमेडको लेभोसेफ-५०० औषधिको ब्याच नम्बर एलभिटी११०१७ र लोमसको जेफिक्स-१०० को ब्याच नम्बर जेडएक्स०२२० मा औषधिमा तोकिएअनुसारको मात्रा र गुणस्तरसमेत नपुगेको पाइएको हो।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले दुवै कम्पनीको औषधिमा मापदण्डमा भन्दा कम रहेको बताए। ‘बिरामीले खाएपछि प्रभावकारी हुनका लागि घुलनसील हुनुपर्छ, त्यसमा पनि समस्या छ। तोकिएअनुसारको मात्रा पनि छैन,’ केसीले भने।

सामान्यतः विभागले मानव स्वास्थ्यमा प्रयोग हुने यस्ता औषधिको गुणस्तरमा समस्या देखिँदा रिकलका लागि निर्देशन दिएर औपचारिकता मात्रै निर्वाह गर्छ। कम्पनीहरूले पनि बजारबाट फिर्ता गरेकोजस्तो मात्रै गरेर मानव स्वास्थ्यमा खेलबाड गर्दै आएका छन्।

औषधिमा आत्मनिर्भर रहेको भन्दै आयातमा प्रतिवन्धको माग गर्दै आएका नेपाली औषधि कम्पनीहरूका उत्पादनमा निरन्तर समस्या देखिन थालेको छ।



One thought on “लोमस र क्यूमेडले उत्पादन गरेको औषधि न्युन गुणस्तर, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

  1. Metformin 500 mg मा पनि गुणस्तर हेर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *