माओवादी नेता पुनको उपचार नेपालमा असम्भव, यसो भन्छन् उपचारमा संलग्न चिकित्सक

जन्मजात जण्डिसको उपचार गर्न बुधबार बैंकक लगिँदै

हेल्थपोस्ट नेपाल

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ। जन्डिसका कारण राजधानीको सुमेरु सिटी अस्पतालमा दुई दिनदेखि उपचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको हो।

लामो समयदेखि पुनको स्वास्थ्य हेरिरहेका पेटरोग विशेषज्ञ डा. युवराज शर्माका अनुसार उनलाई जन्मजात जण्डिस भएको हो।

डा. शर्माले नै तीन वर्षअघि पुनको रोग पहिचान गरेका थिए।

‘उहाँको जण्डिसको लेबल बेला–बेलामा उच्च हुने गरेको छ,’ डा. शर्माले हेल्थपोस्टसँग कुरा गर्दै भने, ‘अहिले स्वास्थ्य अवस्था स्थिर छ।’

तीन वर्षअघि जण्डिसको लेबल उच्च भएका कारण इन्फेक्सन भई शरीरका विभिन्न अंगमा असर देखिएपछि उनी थप उपचारका लागि बैंकक गएका थिए। त्यसबेला डा. शर्मा पनि साथमा गएका थिए।

डा. युवराज शर्मा

बैंककमा थप उपचारपछि पुनको स्वास्थ्य अवस्था राम्रो भएको थियो। उनी नियमित रुपमा डा. शर्मासँग फलोअपमा थिए।

उनलाई पुनः केही समयअघिदेखि खाना रुची नहुने, पेट फुल्ने हुने समस्या देखिन थालेको थियो। केही औषधिले सेवनले त्यो सञ्चो पनि हुन्थ्यो।

‘उहाँ जिल्लातिर गइराख्नुपर्ने, खानपान त्यहीँ अनुसार हुन्छ,’ डा. शर्माले भने, ‘अहिले स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ।’ उनका अनुसार अहिले पुनको जण्डिसको लेबल उच्च छ।

स्वास्थ्यमा देखिएको थप समस्या तथा फलोअपका लागि बैंकक जान लागेको डा. शर्माले जानकारी दिए।

पुनको नेपालमा उपचार गर्न सकिँदैन? भन्ने प्रश्नमा डा शर्माले उपकरण–प्रविधि अभावका कारण थप उपचारमा कठिनाइ हुने बताए। उनका अनुसार जण्डिसको लेबल बढ्दा रगत सफा गर्ने ‘प्लाज्मा थेरोपिस’ उपकरण नेपालमा छैन।

‘जण्डिस लेबल उच्च भएको खण्डमा रगत नै फिल्टर गनुपर्ने हुन्छ,’ डा. शर्मा भन्छन्, ‘केही गरी रगत सफा गर्नुपरे यो सेवा यहाँ उपलब्ध छैन।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *