खाली भए आइसोलेसन

हेल्थपोस्ट नेपाल

चितवनका सात पालिकाले सञ्चालन गरेको आइसोलेसनमा कोरोना संक्रमित आउन छाडेपछि खाली भएका छन्। पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेसनमा अहिले बिरामीको शून्य भएसँगै आइसोलेन खाली भएका हुन्।

कोरोना संक्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ।कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १२५ श्ययाको आइसोलेसन स्थापना गरिएको थियो।

भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा– १०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा–१२ रत्ननगर नगरपालिकामा–आठ र इच्छाकामना गाउँपालिकामा २५ श्ययाको आइसोलेशन सञ्चालनमा ल्याइएको थियो।

विगत केही समयदेखि राप्ती र खैरहनीकोे आइसोलेसनमा बिरामीको संख्या शून्य हुँदै आएकामा अहिले सबै आइसोलेशनमा बिरामीको संख्या शून्य भएको हो।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेशन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार सञ्चालनमा आएको आइसोलेसन अहिले बिरामी शून्य भएपछि सञ्चालनमा आउन सकेका छैनन्।

‘सञ्चालनमा नआए पनि बिरामी बढ्दै गए त्यहाँ राख्न सकिने छ,’ उनले भने, ‘आइसोलेसन बन्द गरिएको छैन । अहिले सञ्चालनमा मात्र नल्याइएको हो।’

कतिपय आइसोलेशन अस्पतालमा नै सञ्चालन भइरहेकाले आवश्यकतानुसार सञ्चालन गर्न सकिने उनको भनाइ थियो । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५६० रहेकामा ५२१ होम आइसोलेशनमा छन भने ३९ अस्पतालमा उपचाररत छन्।

जिल्लामा हालसम्म २५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४१२ को मृत्यु भइसकेको छ भने २४ हजार ८५३ निको भएर घर फर्किसकेका छन्। अस्पतालमा अहिले ५२ संक्रमितको उपचार भइरहेको छ। अस्पतामा ५९२ शैया कोभिडका बिरामीको लागि छुट्याइएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *