बिपी प्रतिष्ठानको सेवा गुणस्तरहीनः मेडिकल काउन्सिल

हेल्थपोस्ट नेपाल

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा गुणस्तरहीन रहेको मेडिकल काउन्सिलले निष्कर्ष निकालेको छ।

काउन्सिलले प्रतिष्ठानमा पुगेर तयार पारेको प्रतिवेदनले प्रतिष्ठानको सेवाका कारण सेवाग्राहीले अन्य अस्पतालमा रिफर भएर जानुपर्ने अवस्था रहेको पाइएको जनाइएको हो।

प्रतिष्ठानबाट अन्यत्र प्रतिदिन २० जना बिरामी रिफर भएर जाने गरेको पाइएको हो।

प्रतिठानका विशेषज्ञहरुले खासै बिरामी नहेर्ने र रेजिडेन्ट डाक्टरहरुले मात्र विरामी जाँच गर्ने गरेको पाइएको छ। यस्तै, स्वास्थ्य जनशक्ति तथा विरामीको अनुपातमा धेरै न्यून संख्यामा आईसीयू तथा अन्य शय्या रहेको पाइएको छ।

काउन्सिल र चिकित्सा शिक्षा आयोगको टोलीले भदौ २ देखि ५ गतेसम्म प्रतिष्ठानमा निरीक्षण गरेको थियो। सो क्रममा निरीक्षण टोलीले प्रत्यक्ष रुपमा सम्बन्धित स्थानमा ओपिडी, वार्ड, ल्याब, इमजेन्सी सेवाको अवलोकन र अध्ययन, सरोकारवाला सेवाग्राहीहरुसँग छलफल र अन्तरक्रिया, सेवा प्रदान गरिरहेका स्वस्थ्यकर्मीहरुसँग छलफल र अन्तरक्रिया गरेको थियो।

सो क्रममा देखिएका समस्याबारे निरीक्षण टोलीले आकस्मिक स्वास्थ्य सेवाको अवस्था, ओपिडी सेवाको अवस्था, आइसीयु, इनप्यासेन्ट र ओटी सेवाको अवस्था, रेडियोलोजी सेवाको अवस्था, प्रयोगशाला सेवाको अवस्था तथा डेण्डल, फार्मेसी, अस्पतालजन्य फोहोरमैला व्यवस्थापन मेडिकल रेकर्ड  लगायतका विषयमा निरीक्षण गरी त्यहा देखिएका समस्या बारे प्रतिवेदनमा उल्लेख गरिएको छ।

अस्पतालमा आईसीयू बेडको कमीले गर्दा आकस्मिक कक्षमा आएका नाजुक अवस्थाका बिरामीहरू अन्य अस्पतालमा रिफर हुने गरेकाे र प्रतिदिन १५-२० जना बिरामी रिफर भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

रेडियोलोजी तथा डेन्टल सेवा पनि दयनीय रहेको प्रतिवेदनको निष्कर्ष छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *