अक्टोबर पहिलो साता भित्र २० लाख कोभिशिल्ड खोप नेपाल आउँदै

हेल्थपोस्ट नेपाल

भारतको सिरम इन्सिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपको २० लाख डोज नेपाल आउने भएको छ।

नेपाल सरकारलाई इन्सिच्युटले अक्टोबरको पहिलो साता भित्र खोप दिने बाचा गरिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार नेपालले खरिद गरेको १० लाख र अनुदानमा दिन लागेको १० लाख गरी २० लाख डोज खोप कम्पनीले दिन लागेको हो।

तर हालसम्म कम्पनीले लिखित रुपमा जवाफ नपठाएका कारण कति गते आउँछ एकिन रुपमा भन्न नसकिने उनले बताए।

कम्पनीले हालसालै खोप अन्य देशलाई वितरण गर्ने निर्णय गरेको थियो। योसँगै नेपालले खरिद गरेको २० लाख डोज खोप मध्य बाँकी रहेको १० लाख डोज पनि आउने सम्भावना बढेको थियो।

त्यस्तै, शुक्रबार चाइनीज रेडक्रसले एक लाख खोप भेरोसेल नेपाल रेडक्रसलाई अनुदानमा दिएको छ।

नेपालले हालसम्म एक करोड ७८ लाख ५५ हजार ५९० डोज कोरोना भाइरस विरुद्धको खोप पाइसकेको छ। जसमध्य ४४ लाख २२ हजार ७४० कोभिशिल्ड तथा अष्ट्राजेनिका, एक करोड १९ लाख डोज भेरोसेल, र १५ लाख ३४ हजार ८५० जोनसन एण्ड जोनसनको खोप रहेको छ।

त्यस्तै, नेपालले कोभ्याक्स सुविधा मार्फत तीन लाख ४८ हजार खोप उपलब्ध गरेको थियो जसमा भुटानबाट दुई लाख ३० हजार खोप, जापानबाट १६ लाख १४ हजार ७४०, र बेलायतबाट एक लाख ३० हजार अष्ट्राजेनिका खोप उपलब्ध भएको थियो।

असोज ९ गतेसम्मको तथ्याङक अनुसार एक करोड २५ लाख ४३ हजार ३३३ डोज खोप मानिसले लगाइसकेका छन्।

यसमध्य ३० प्रतिशतले पहिलो मात्रा र २७.६ प्रतिशतले दोस्रो मात्रा लगाइसकेका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *