‘कान्ति बन्द गर्नका लागि बाह्य शक्ति लागिपरेका छन्’

हेल्थपोस्ट नेपाल

कान्ति सरकारद्वारा सञ्चालित मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल हो। यहाँ देशका कुना–कुनाबाट उपचारका लागि बिरामीको घुइँचो लाग्ने गर्छ। अस्पतालमा स्वास्थ्यकर्मी तथा बजेट अभावले सेवा–सुविधा न्यून हुँदै गएको छ।

ओपिडी सेवा लिनका लागि बिरामीहरूले घन्टौं पालो कुनुपर्ने, बेड तथा उपचार सेवाको अभाव अन्य रिफर हुनुपर्ने बाध्यता बर्षौदेखि चलिआएको छ। एक महिनाअघि वरिष्ठ बाल रोग विशेषज्ञ डा. अजित रायमाझीले पुन अस्पतालको जिम्मेवारी लिएका छन्।

एक कार्यकाल प्रशासनिक नेतृत्व समालेका डा. रायमाझीले अस्पतालमा भएका समस्या, बेथेतिलाई राम्रो सँग बुझेका छन्। डा. रायमाझीले नेतृत्व लिएपछि अस्पतालको सेवा–सुविधा थप तथा विस्तारमा के–कस्तो योजना बनाएका छन्। यिनै विषयको सेरोफेरोमा रहेर निर्देशक डा. रायमाझीसँग हेल्थपोस्ट नेपालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

पुनः कान्ति बाल अस्पतालको जिम्मेवारी समाल्नुभएको छ। जिम्मेवारीमा आउनुअघि देख्नुभएको समस्या र आइसकेपछि अस्पतालका सुधारका लागि के–के काम अगाडी बढाउनु भएको छ?

कान्ति बाल अस्पताल नेपालको एकमात्र बाल अस्पताल हो। यहाँ बालबालिकाका सबै खाले उपचार गरिन्छ। योसँगै चिकित्सकहरुलाई विशेषज्ञ तालिम तथा शिक्षा दिएर देशभर १५० बालरोग विशेषज्ञ उत्पादन गरिसकेको छ।

यो अस्पताल सन् १९६३ मा जेनेरल अस्पतालबाट सुरु भई १९७० मा बालरोग अस्पतालको रुपमा स्थापना गरिएको थियो। समयसँगै रुप फेर्दै हाल बाल अस्पतालबाट बाल विशेषज्ञ अस्पताल वा सुपरस्पेसियालिटी अस्पताल भइसकेको छ।

तर, अस्पतालमा दरबन्दीको कमी छ। यहाँ धेरै पुरानो दरबन्दी छ। २० वर्षअघिको दरबन्दीमा यहाँका कर्मचारीहरुले अस्पतालमा सेवा उपलब्ध गराइरहेका छन्।

यसबीच काठमाडौंको जनसंख्या तीन गुणाले बढिसकेको छ। तर, त्यही जनशक्ति र त्यही पूर्वाधारमा बालबालिकालाई उपचार गर्नुपर्ने बाध्यता छ।

यहाँका चिकित्सकहरु आफ्नै पहल वा सरकारले पठाएर बाल मुटुरोग, बाल स्नायुरोग, बाल क्यान्सर, बालबालिकाको मृगौला, पेटको विशेषज्ञता हाँसिल गरेर आएका छन्। तर, हालसम्म पनि ती चिकित्सकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालरोग विशेषज्ञ मात्र भनेर पद दिइएको छ।

हामीले दरबन्दी थप गर्नका लागि अर्गनाइजेशन एण्ड म्यानेजमेन्ट (ओएनएम)   काे फारम भरेर मन्त्रालयमा बुझाइसकेका छौं। अस्पतालको स्तरलाई ध्यान दिएर दरबन्दी थप गरे समस्या समाधान हुन्छ।

पेडियाट्रिसको अध्ययन अध्यापन पनि हुने भएकोले यस अस्पतालमा बिरामीको चाप बढेसँगै उपचारको गुणस्तर पनि बढेको छ। सरकारले विद्यार्थी चिकित्सकहरुले नै अस्पतालमा सुविधा दिइरहेको कारण अस्पताल मारमा नपर्ने विचारले दरबन्दी थप नगरेको हुन सक्छ। तर, उनीहरुलाई सिकाउन पनि विशेषज्ञ चिकित्सकको आवश्यकता रहेको छ।

हालै हामीले ५२ बेडको आइसियु सञ्चालनमा ल्याएका छौं। सुपर स्पेसियालिटी अस्पताल भएका कारण सघन उपचार अति आवश्यक छ, र यसका लागि विशेषज्ञ चिकित्सक, नर्स, सहयोगी सबै अझ बढि आवश्यक छ। यहाँ पनि दरबन्दी आवश्यक छ।

करारमा दरबन्दी उपलब्ध भए पनि दीर्घकालीन समस्या समाधान गर्न स्थायी दरबन्दी आवश्यक छ।

अस्पतालको सेवा विस्तार नहुनुमा जनशक्ति अभाव भएरै हो? अन्य पनि बेथिति छन् होला नि!

अस्पतालमा झण्डै दोब्बर संख्यामा दरबन्दीको आवश्यकता पर्दछ। अस्पतालले बनाएको पाँच वर्षे र १० वर्षे कार्यक्रमअनुसार २५ देखि ३५ प्रतिशत दरबन्दी थप गर्ने योजना रहेको छ। हाल २०५० साल देखिकाे ओएनएम सर्वे अनुरुप कै दरबन्दी रहेको छ।

अहिलेसम्म नपुगेको दरबन्दी अस्पताल विकास समितिले व्यवस्था गरिरहेको छ। त्यस्तै, डोनर एजेन्सीमार्फत विभिन्न सेवा सुविधाको व्यवस्था गरिएको छ।

तर, अस्पतालमा भीडभाड हुन नदिन, रिफर भएका बिरामीलाई हेरचाह गर्न, विभिन्न किसिमका रोगको उपचार सुविधा प्रदान गर्न उचित दरबन्दी आवश्यक छ।

सरकारको नीति तथा कार्यक्रममा कान्ति बाल अस्पताललाई प्राथमिकता राख्ने गरेको छ। तर, किन अस्पतालको सेवा–सुविधामा केही परिर्वतन देखिँदैन नि?

बच्चालाई सेवा सुविधा दिन जरुरी हुन्छ। राजनीतिक अगुवा तथा नेताहरुले आफूलाई माथि राख्न यसै विषयलाई नारा बनाउने गर्दछन्। कतिपयले अस्पतालाई सहयोग पनि गर्ने गर्दछन्। एकजना मन्त्रीले पहिलो तलब क्यान्सर पीडित बालबालिकाको कोषमा जम्मा गरेका थिए।

तर, काम सुरु गर्दा वा काम गर्दागर्दै विभिन्न कारणले रोकिने गरेको छ। जस्तै, राजनीतिक अस्थिरता, बजेटको अभाव, प्राथमिकतामा परिर्वतन भएर कार्यक्रमहरु अन्त्यमा कार्यान्वयन हुँदैन।

गतवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताललाई चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान भनेर घोषण गर्दै कार्यक्रममा पनि सामेल गरिएको थियो। तर, यसको केही उपलब्धी भएको छैन। हामीले यसका लागि धेरै लागि प¥यौं, तर गर्न सकेनौं।

यस वर्ष पनि सोही कार्यक्रम रहेको छ, अबको नेतृत्वले के गर्छ, त्यसमा भर पर्छ।

दातृनिकाय र विभिन्न संघसंस्थाबाट धेरै सहयोग छ भन्नुहुन्छ, किन काम हुन सकेको छैन ?

दुई वर्षअघि कोरोना संक्रमणकै समयमा काठमाडौं महानगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गरिदिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार काम सुरु भएको छ र अक्सिजन प्लान्ट बन्ने क्रममा छ। सबै सामाग्रीहरु आइसकेको छ, र यही महिनाभित्रमा अक्सिजन पनि उत्पादन हुन थाल्नेछ।

हाल अस्पतालले कोभिडलाई नै ध्यानमा राखेर कार्यक्रमहरु ल्याइएको छ। यो भन्दाअगाडिका कार्यक्रमहरु कोभिडका कारण छायामा परेका छन्।

त्यस्तै, तेस्रो लहर आउने सम्भावना भएको हुँदा त्यसको तयारी गरिरहेका छौं भने कोभिड वार्ड पनि सञ्चालनमा ल्याइएको छ। इमरजेन्सी वार्डमा आएका बालबालिकालाई पिपिइ लगाएका चिकित्सकले हेर्ने र ओपिडिमा आएका बिरामीलाई स्पेसियल वार्डमा लगेर उपचार गर्दै आइएको छ।

कोभिड भए–नभएको हेरेर स्क्रिनिङ वार्ड र जेनेरल वार्डमा पठाउँछौं। हामीसँग १६ शय्याको स्क्रिनिङ वार्ड छ।

त्यस्तै चारवटा कोभिड वार्डमा ‘लेबल सी’ मा ४ वटा भेन्टिलेटरको सुविधा छ भने हाइ डिपेन्डेन्ट युनिट (एचडियु) को सुविधा छ।  त्यस्तै, ‘लेबल बी’ मा अक्सिजन लगाउनुपर्ने बिरामीलाई राखिन्छ। सामान्य कोरोनाका बिरामीलाई ‘लेबल ए’ मा राख्ने गरेका छौं।

हाम्रो अस्पताल कोभिडको गाइडलाइन बनाउने पहिलो अस्पताल हो। त्यस्तै, हामीले इन्फेक्सन प्रिभेन्सन गाइडलाइन पनि बनाएका छौं। यो गाइडलाइन भएकै कारण अस्पताल व्यवस्थापन गर्न निकै सजिलो भएको छ।

तर, हाम्रा पुराना योजनाहरु भने ओझेलमा परेका छन्। हाम्रो योजनाअनुसार पुरानो आइसियु तथा अपरेसन थिएटरलाई मोडुलर ओटी बनाउने योजना थियो। कान्तिमा आएका बिरामीहरू अझै पनि रिफर भएका छन्। सेवा लिन घन्टौं कुर्नु पर्ने बाध्यता छ।

स्रोत–साधन भएर पनि अस्पतालले सेवा दिन सकेको छैन। आइसियू अभावमै दैनिक दजनौं बिरामी रिफर हुन्छन्। व्यवस्थापन कमजोरी कि कर्मचारीको मनपरीतन्त्र?

अप्ठ्यारो कस्तो छ भने, यस अस्पतालमा आइसियु तथा भेन्टिलेटरसहितको सुविधामा मात्र १५ सय रुपैयाँ दिनको खर्च लाग्छ। भेन्टिलेटरसहित भए २५ सयदेखि ३ हजार लाग्छ।

यहि सुविधा निजी अस्पतालमा भए १५ हजार खर्च लाग्छ। त्यस्तै, हाम्रो अस्पतालको आइसियुको गुणस्तर पनि उत्तिकै राम्रो छ। यो आइसियु जापान सरकारको सहयोगमा स्थापना भएको हो। म पहिलो निर्देशक हुँदा नै ५२ शय्याको आइसियु बनेको हो। आइसियु चलाउने नै यस अस्पतालको ठूलो चुनौती हो। विभिन्न क्षेत्र यहाँको आइसियु निस्क्रिय बनाउने धेरै प्रयत्न भए। तर पनि हामीले सञ्चालन गरिरहेका छौं।

तर, भएको आइसियु सञ्चालन गर्न पनि पर्याप्त दरबन्दी छैन। करारमा नियुक्त गरिएका ५६ जना कर्मचारीको पनि म्याद सकिइसकेको छ।

स्वास्थ्य मन्त्रालयले गतवर्ष २० चिकित्सक, ३५ नर्सिङ स्टाफ र एकजना बायोमेडिकल इन्जिनियरको दरबन्दी सृजना गरी उपलब्ध गराएको थियो। उनीहरुको म्याद सकिइसकेको कारण थप्न जानुपर्छ। यसरी नै आइसियु सञ्चालन गर्नुपर्ने अवस्था छ। श्रावणमै म्याद थपिसक्नुपर्ने हो, तर निकै लामो प्रशासनिक प्रकृया भएका कारण निकै कठिन भएको छ।

चिकित्सकको मनोबल नघटोस् र बालबालिकाले उचित उपचार सेवा पाउन् भनेर सन्तुलन गर्न लागिपरेका छौं।

सबैभन्दा अप्ठ्यारो के छ भने यो अस्पतालमा ५२ मात्र होइन १०० शय्याको आइसियु सञ्चालन गरे पनि भरिन्छ। हाम्रो देशमा कूल जनसंख्याको ४० प्रतिशत त बालबालिका नै छन्। कुनै पनि मानिसले आइसियु खाली भए दैनिक १५ हजार तिरेर अस्पतालमा राख्न चाहँदैनन्। सबै यहि अस्पतालमा आउने गर्दछन्। आकस्मिक कक्षमा आएका बालबालिकाको ज्यान जोगाउन अप्रेसन नै गर्नुपर्ने हुन्छ।

रिफर गर्नुअघि अन्य ठाउँमा आइसियु छ छैन, बच्चा गम्भीर भएको–नभएको सबै हेरेर मात्र पठाउँछौं।

हामीले व्यवस्थित गर्न ट्रायज सिस्टम लागू गर्न लागेका छौं। गम्भीर, मध्ययम र सामान्य रोग भएका बालबालिकालाई रोग अनुसार वर्गिकरण गर्ने र सामान्य रोग भएका बालबालिकाले कुर्न सक्ने भएकाले लाइनमा राखेर जाँच गराउने व्यवस्था लागू गर्न लागिएको हो।

धेरैजसो अभिभावकले छिटो उपचार गराउन ओपिडिमा भन्दा पनि आकस्मिक कक्षमा लग्न लगाउने गर्दछन्। बच्चा बोल्न नसक्ने हुनाले गम्भीर हो होइन थाहा नपाउने हुनाले सामान्य रोग भएकाले अन्यलाई असर गर्न सक्दछ। त्यही भएर ट्रायज सिस्टम लागू गर्न लागेको हो।

त्यस्तै, अस्पतालमा कर्मचारीहरु घटी–बढि भइरहने कारण पनि आइसियु चलाउन नसक्ने अवस्था हुन्छ। अन्य अस्पतालमा अवसर पाउनेबित्तिकै यहाँबाट छोडेर जाने गरेका छन्।

अर्को कारण नर्सिङ स्टाफ हो। कान्ति बाल अस्पतालमा नर्सिङ स्टाफको सबैभन्दा कम तलब छ। वीर अस्पताल, आइओएम, गंगालाल अस्पतालहरुमा नर्सिङ स्टाफको तलब धेरै छ। त्यहाँ विज्ञापन खुलाए यस अस्पतालका स्टाफहरु पनि छोडेर जाने गरेका छन्।

हामीले लोकसेवामार्फत नै जनशक्ति राखेका थियौं, तर आजसम्मको मितिमा ५६ करारमा आएका जनशक्तिमा एक तिहाइ कर्मचारीले छोडिसकेका छन्।

हामीले कडारुपमा परीक्षा लिएर दक्ष जनशक्ति राख्छौं, तर अन्य अस्पतालमा विज्ञापन खोल्दा छिटै नाम निकालेर जाने गर्छन्। यसले गर्दा पनि सधैं जनशक्तिको कमी भइरहन्छ। अन्य संस्थामा भत्ता पाउने तर, हामी सरकारी अस्पताल भएका कारण सरकारले तोकेको तलब मात्र प्रदान गर्दछौं।

बालबालिकामा जटिल खालका रोग तथा जेनेटिक डिस्अर्डर देखा पर्न थालेका छन्। यसको लागि कस्तो योजना बनाउनु भएको छ?

जेनेटिक्ससँग सम्बन्धित रोग निकै संवेदनशील विषय हो। यस्ता प्रकारका सेवा तथा अनुसन्धान गर्नका लागि निकै दक्ष तथा महंगो उपकरण आवश्यकता पर्दछ। यस्तो रोगसँग जोडिएको समस्यामा हामीले चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठानसँग मिलेर काम गरिरहेका छौं।

त्यहाँ यससम्बन्धी जाँच गर्ने गरिन्छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि प्रविधि छ। इम्युनोसाइटो केमेस्ट्री इम्युनोहिस्टो केमेस्ट्री जस्ता मेसिनबाट हुन्छ।

कति रोगहरु नयाँ हुन्छन् भने कति वर्गीकरण हुन्छ। हामीले अभिभावकहरुलाई काउन्सीलिङ गर्ने र यहाँ सम्भव हुन्छ–हुँदैन भन्ने गरेका छौं।

यहाँ सबै खालको प्रयोगशालाको सुविधा छरिएर रहेका छन्। यी सबै एकैठाउँमा राखियो भने साधारण मानिसको पहुँचमा रहन्छ भने उपचारमा पनि सहज हुन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *