कोरोना खोप व्यवस्थापन, अबको चुनौती र रणनीति

नेपालमा गत माघदेखि कोरोनाविरुद्धको खोप सुरू गरिएको थियो। हालसम्म आइपुग्दा सवाकरोड खोप उपलब्ध भएको छ।

जसमध्ये करिब २० प्रतिशत पहिलो मात्रा र पूर्ण खोप पाउने १८ प्रतिशत छन्।

उच्च जोखिमका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्ति र उमेर अनुसार ५० वर्षभन्दा माथिकालाई खोप दिइएको छ। यसरी हेर्दा अतिउच्च जोखिमका वर्गलाई खोपको पहुँच पुगेको देखिन्छ।

अन्य जनसंख्यालाई खोप दिनका लागि खोपको उपलब्धता नै हो। खोप जति उपलब्ध हुँदै जान्छ त्यही रूपले खोप कार्यक्रम अगाडि बढ्दै जान्छ। अन्य लक्षित वर्गलाई खोप दिइँदै जानुपर्छ।

केही दिनअगाडि मात्रै चीनबाट ४५ लाख मात्रा खोप हामीलाई उपलब्ध भएको छ। अहिलेको भएको खोपको कभरेज र ४५ लाख लागि सही हिसाबले सदुपयोग गर्दा असोज–कात्तिकमा एक तिहाइ मानिसले खोप पाउँछन्।

पुससम्म दुई तिहाइ र चैतसम्म सम्पूर्ण नागरिकले खोप पाइसक्ने सरकारको रणनीतिमा पूरा हुन खोपको उपलब्धतामा नै भर पर्नुपर्ने हुन्छ।

खोप आइसकेपछि त्यसलाई सरल तथा गुणस्तर हिसाबले दिनुपर्ने हुन्छ। अझै पनि हामीले प्रशस्त मात्रामा खोप केन्द्र राख्न सकेका छैनौं। अहिले स्वास्थ्य केन्द्रमा मात्रै खोप केन्द्र छन्। जहाँजहाँ खोप केन्द्र छन् त्यही भीडभाड भएका छन्। जसका कारण संक्रमण त्यहीबाट फैलन थप मद्दत पुगेको छ।

विगतमा भएको दादुरा खोप अभियान अनुसारको खोप केन्द्र बढाउन आवश्यक छ। सरकारले ६५ वर्षभन्दा माथिका लागि खोप दिइसकेको भनेको छ। नेपालमा ६५ वर्षभन्दा माथिको संख्या करिब १८ लाख रहेको छ। ६५ वर्ष माथिका लागि खोप अभियान सञ्चालन गरेको त्यसक्रममा १४ लाखलाई मात्रै खोप दिएको तथ्यांकमा उल्लेख छ। तर, अझै ४ लाखले खोप लिएको देखिँदैन।

हामीले जुन लक्षित समूहलाई खोप दिँदै छौं, ती सबैले पाए कि पाएनन् भनेर यकीन गनुपर्दछ। खोप लिनको लागि को–को छुटे, ती कहाँ छन्, कसैलाई पनि जानकारी छैन। प्रत्येक लक्षित समूहलाई खोप दिएपछि कति प्रतिशतमा एन्टिबडी बन्यो भनेर यकिन गर्नमा सरकार चुकिरहेको छ।

कुनै पनि खोप कार्यक्रम सञ्चालन गर्दा खोप लिने लक्षित समूहलाई तीन ग्रुपमा बाँड्ने गरिन्छ। एक गुप्र हुन्छ – जो रोगको विषयमा जानकार हुन्छ। कति बेला खोप आउँछ र लगाउन पाइन्छ भनेर बसेको हुन्छ।

दोस्रो – दोधारे खालका हुन्छ।

तेस्रो – खोप नै नलगाएर बस्ने।

अहिले खोप लगाएको मानिसलाई हेर्दा ‘एक्टिभ’ ग्रुपले खोप लगाएको देखिन्छ। काठमाडौं उपत्यकाभित्र पनि हामीले लक्षित गरेर खोप दिइसक्यौं भनेका ग्रुपका केही मानिस छुटेको पाइन्छ।  त्यसकारण दोधारमा परेका वा खोप नलगाउने भनेर बसेका समूहलाई जनचेतना अझै पुर्याउन पर्ने देखिन्छ। अन्यथा, खोप उपलब्ध भएर पनि कभरेज कम हुने देखिन्छ।

खोप लगाउनका लागि विगतमा स्वास्थ्यकर्मीसमेत दोधारमा परेका थिए। त्यसैगरि, अन्य सर्वसाधारणमा ठूलो डर पैदा भएको थियो। केही समयपछि दोस्रो लहर सुरू भयो, मानिसको मृत्यु हुने संख्या बढ्यो त्यसपछि खोप लगाउने मानिस बढ्न थाले। अब पनि खोपको कार्यक्रम सञ्चालन गर्दा खोपको बारेमा जानकारी नभएका, रोगको डर नभएका वा खोपप्रति नकारात्मक सोच राख्ने मानिसलाई जनचेतनाको बारेमा राम्रोसँग सूचना प्रवाह गर्नुपर्ने हुन्छ।

कोरोना खोप व्यवस्थापन, अबको रणनीति र चुनौती को बिषयमा नेपाल चिकित्सक संघ आयोजनामा भोलि शनिबार (असोज ९)मा ‘पेन्डामिक प्रिपेडनेस इन नेपाल’ नामक सन्देश सहित राष्ट्रिय स्वास्थ्य सम्मेलनमा बृहत छलफल गर्दै छ।

खोप कार्यक्रम सुरू गर्नुभन्दा अगाडिको मृत्युदर र पछिको मृत्युदर तुलना गर्दा फरक नतिजा पाउँछौं। तत्कालिन समयमा हेर्दा ६५ वर्षभन्दा माथिको मृत्युदर बढी थियो। खोप लगाइसकेपछि मृत्युदर ह्वात्तै घटेको देखिन्छ।

५५ वर्षभन्दा माथिका मानिसमा हुने संक्रमणले गम्भीर बनाउने वा मृत्युदर बढी हुने देखिएको थियो। तर, खोप दिएपछि त्यो मृत्युदर घटेको पाइएको छ।
अहिले हेर्दा ४० वर्षभन्दा माथिका मानिसमा मृत्युदर १ प्रतिशत माथि छ। सामान्य रुपमा हेर्दा पनि खोपले केही हदसम्म काम गरेको देखिन्छ। तर, यसको वैज्ञानिक आधारमा अध्ययन गरेर प्रभावकारिता हेर्नुपर्ने हुन्छ।

खोप लिएपछि संक्रमण रोकिने भने होइन। खोप लिएपछि पनि संक्रमण पुनः देखिन सक्छ। तर, त्यो संक्रमणबाट गम्भीर अवस्थामा पुग्न वा मृत्यु हुनबाट जोगिन सकिन्छ।

डा. श्यामराज उप्रेती

 

खोपको सुनिश्चिता

अहिले अवस्थामा हेर्दा खोपको उपलब्धता हुने स्रोत ‘गाभी’ हो। जुन गरिब राष्ट्रका २० प्रतिशत जनसंख्यालाई निःशुल्क दिने घोषणा गरिएको छ। जसमध्ये केही खोप हामीले पाएका छौं। त्यसैगरी गाभीमार्फत नै कम मूल्यमा खोप पाउन सकिन्छ। सरकारले भारत, चीन वा अन्य देशबाट खोप खरिद गर्नुपर्ने देखिन्छ।

सन् २०२२ भित्रमा ‘कोभ्यास’ बाट आउने सबै खोप पाइसक्ने अनुमान गरिएको छ। त्यसैगरि, ४० लाख मोडेर्ना किन्दै छौं।

अहिलेकै अवस्थामा चैतसम्म सबै नागरिकले खोप पाइसक्छन् भनेर आशावादी हुन सकिँदैन। जसका लागि दुई देशको सरकारको सहमतिबाटै खरिद प्रक्रिया गर्नुपर्छ। गाभीबाट थप खोप किन्नुपर्ने वा कुनै देशसँग सहायता माग्नुपर्ने हुन्छ।

अहिले पनि नेपालको तथ्यांक हेर्दा बालबालिकामा संक्रमण भएको देखिन्छ। तर, मृत्युदर भने न्यून छ। जति उमेर बढ्दै गयो उति नै कोरोनाबाट मृत्यु अथवा सिकिस्त हुने सम्भावना बढी छ। त्यसैले जब हामीलाई खोपको थोरै मात्रा उपलब्ध भयो अति जोखिम समूहलाई खोप दिँदै आएका हौं।

शिक्षकहरूले खोप लगाएको अवस्थामा जनस्वास्थ्यको मापदण्ड अपनाएर स्कुल खोल्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले बच्चालाई खोप उपलब्ध भएपछि दिनुपर्ने सिफारिस गरेको छ। हामीले अति जोखिम वर्गलाई खोप दिएपछि मात्रै बालबालिकालाई खोप दिन सुरू गर्न डब्लुएचओको सुझाव छ।

विश्वमा हाल तीनवटा खोप लगाउन सुरु गरिएको छ। जसमा फाइजर १२ देखि १७ वर्षसम्मका लागि दिन सकिन्छ। त्यसैगरी, मोडेर्ना पनि १२ देखि १७ वर्षसम्मका लागि दिन सिफारिस गरिएको छ।

चीनमा उत्पादन भएको भेरोसेल तीन वर्षका बालबालिकालाई प्रयोग गरिएको छ। तर, त्यसलाई डब्लुएचओले मान्यता भने दिएको छैन। नेपाल सरकारको योजनामा फाइजर वा मोडेर्ना खोप आएपछि १२ देखि १७ वर्षका मानिसलाई खोप दिने योजना बनाइएको छ।

कोरोनाविरुद्धको दुई मात्रा खोप दिएपछि कति मानिसमा एन्टिबडी बन्यो वा बनेन भनेर हेर्नुपर्ने हुन्छ। दीर्घरोगी वा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा एन्टिबडी भने कम हुन्छ।

हामीले तत्कालै दोस्रो मात्रा खोप पाएर कति मानिसमा एन्टिबडी बनेको छैन वा कति समयसम्म खोपले काम गर्छ भन्ने कुराहरू हेर्न जरुरी छ। अहिले सामान्य हिसाबले हेर्दा पनि मृत्युदर घटाउन र गम्भीर हुनबाट दोस्रो मात्राले काम गरेको देखिएको छ।

कुनै देशले बुस्टर डोज सिफारिस गरेको छ। तर, विश्व स्वास्थ्य संगठनको सिफारिसमा अझै पनि तेस्रो मात्रा दिनै पर्छ भन्नका लागि प्रमाण पुगेको छैन।त्यसहिसाबले पनि नेपाल सरकारले तेस्रो मात्राका लागि कुनै योजना बनाएको छैन। सबै मानिसले एकपटक खोप पाइसकेपछि त्यसभन्दा पछि अन्य खोप दिन सकिएला।

खोपको समस्या तथा चुनौति

खोपको उपलब्धता बढ्दै गएको छ। सुरूका दिनमा हामीले यो समयसम्म २० प्रतिशत मानिसमा खोप दिन सक्छौं भन्ने आंकलन गर्न सकेका थिएनौं। खोपको पहुँच बिस्तारै बढ्दै गएको छ। हामीले खोप किन्ने अवसर पनि पाउँदै गएका छौं।

खोप उपलब्ध भएको खण्डमा कसरी प्रभावकारी रुपमा खोप कार्यक्रम सञ्चालन गर्ने र सबै वर्गलाई पुर्याउने भन्ने विषयमा ध्यान दिन जरूरी छ। जसका लागि अहिले भएका खोप केन्द्र बढाउनु पर्छ।

अहिले पनि अधिकांशले खोप केन्द्र टाढा भएको गुनासो गरिरहेका छन्। त्यसैगरि, स्थानीय तहमा खोप नेताको पहुँचमा भएकाले अझै पनि सर्वसाधारणले नपाएको र लक्षित समूहभन्दा बाहिर गएको देखिन्छ।

त्यसैगरि, हामीले जुन समूहलाई खोप दिइसक्यौं भनेर ढुक्क भएका छौं अहिले पनि त्यस्ता धेरै लक्षित समूहका व्यक्ति छुटेका छन्। यदि जोखिममा रहेका मानिस खोपबाट वञ्चित भए भने कोरोनाबाट मृत्यु हुने सम्भावना एकदमै बढी हुन्छ।

अझै पनि खोपप्रति विश्वास नभएका मानिसलाई जनचेतना बढाउनुपर्ने काम गर्नुपर्ने देखिन्छ। सरकारले खोपप्रति मानिसमा विश्वास दिलाउन सकेन भने उपलब्ध भएर पनि लक्षित समूहले खोप नलिन सक्छन्।

अहिलेसम्म पनि तथ्यांकलाई राम्रोसँग राख्न सकिएको छैन। लिंग, जातीय वा वर्गका हिसाबले क–कसले खोप लगाए यसलाई हेर्न जरुरी छ।

अहिले तीन तहको सरकार छ। खोप उपलब्ध भएपछि बढी जिम्मेवारी स्थानीय तहको हुन्छ। खोप आधारभूत स्वास्थ्य अन्तर्गत पर्छ, जुन पालिकाको जिम्मेवारी हो। स्थानीय तहले स्रोत साधन परिचालन गरे खोप लक्षित समूहसम्म पुर्याउन सहज हुन्छ।

अबको रणनीति

पहिला हामीले स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिएका मानिसलाई खोप दियौं। दोस्रोमा हामीले उमेरसमूहलाई राखेका छौं। जसमा हामीले ५५ वर्षभन्दा माथिका मानिसलाई खोप दियौं। त्यसैगरि, जोखिम वर्गको आधारमा कमकम उमेर गर्दै खोप दिँदै गयौं। अहिलेको अवस्थामा हेर्दा कुनै जिल्लामा १८ वर्षभन्दा माथिका सबैले लगाएका छन्। केही जिल्लामा ५५ भन्दामाथि वा ४० भन्दा माथिका मानिसले खोप पाएका छन्।

४० वर्षभन्दा माथिमा मानिसले पूर्णरुपमा पाएको खण्डमा १८ वर्षभन्दा माथिका नागरिकलाई खुल्ला रुपमा खोप दिन सुरु गर्दा हुन्छ। तर, त्यसको लागि खोप पहुँच बढाउनु पर्छ। हामीले सुक्ष्म योजनासहित काम गर्नुपर्छ।

मानिसलाई खोपमा विश्वास दिलाउन प्रत्येक संयन्त्र परिचालन गर्नुपर्छ। प्रत्येक घरमा महिला स्वयंसेविका परिचालन तथा नजिक–नजिक खोप केन्द्र राख्न सकियो भने पहुँच बढाउन सकिन्छ।

कोरोनाको दोस्रो लहर नआएको भए खोपको पहुँच बढाउन सकिँदैन थियो। किनभने, जब रोगले मानिस मर्न थाले र गम्भीर हुन थाले अनि खोप लगाउने मानिसको संख्या ह्वात्तै बढ्न थाल्यो। कोरोनाको जोखिम अझै घटेको छैन। संक्रमण भएको खण्डमा मानिसको मृत्यु हुनसक्छ त्यसैले खोपमा नागरिकको विश्वास बढाउन जरूरी छ।

(कोभिड–१९ खोप सल्लाहकार समिति संयोजक तथा खोपविज्ञ डा. श्यामराज उप्रेतीसँगको कुराकानी आधारित)

 



One thought on “कोरोना खोप व्यवस्थापन, अबको चुनौती र रणनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *