राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन किन?

सन् २०१९को डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरस रोग (कोभिड–१९) ले संसारका अधिकांश देशका लागि संकट निम्त्यारहेको छ। चीनमा सुरु भएको केही महिनाभित्रै नेपालमा देखापरेको कोरोना भाइरसको महामारीले हाम्रो स्वास्थ्य प्रणालीभित्रका समस्या र क्षमता सबैले महसुस गर्न पायौँ।

दोस्रो लहरको ग्राफ ओरालो लागिरहँदा र संभावित तेस्रो लहरको त्रास अन्त्य भइनसक्दा नेपालका सन्दर्भमा महामारीमा गर्नुपर्ने तयारीबारे प्रयाप्त बहस एवं छलफल अझै हुनसकेको छैन। अहिले पनि हाम्रो ध्यान महामारीको नियन्त्रणमै केन्द्रीत छ।

कोरोना भाइरस महामारीले उहानलाई तरंगित पारेको केही साताभित्रै संसारभर यसको त्रास फैलियो। जनजीवन नराम्रोगरी प्रभावित हुन थाल्यो। नेपालमा पहिलो लहर सुरु नहुँदै आम पब्लिकले त धेरै टाढाको कुरा उपचारमा खटिने स्वास्थ्यकर्मीले समेत आधारभुत स्वास्थ्य सुरक्षा सामग्री, मास्क र स्यानिटाइजरसमेतको अभाव खेप्नु पर्यो।

चिकित्सक र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरणको अभावमा जोखिममा राखेरै मैदानमा ओर्लिनु पर्ने अवस्था आयो।

दोस्रो लहरको बेगमा हाम्रो अक्सिजन सप्लाई प्रणालीमा रहेको समस्या छर्लङ्ग देखाइदियो। अक्सिजन सिलिन्डरको अभावमा उत्पादिन अक्सिजन बिरामीसँग पुर्याउँन सकिएन र अस्पतालहरुमै अक्सिजन अभावमा कयौँको ज्यान गयो। अक्सिजन भएका ठाउँमा सिलिण्डर भएन, सिलिण्डर भएका ठाउँमा अक्सिजन भर्न सकिएन। यी दुई हामीले भोगेका दृष्टान्त थिए।

अर्को पक्ष भनेको महामारीको सुरुवातदेखि आजसम्म पनि चिकित्सक, नर्स र प्यारामेडिकल जनशक्तिको चरम अभाव कायमै छ। सम्भावित तेस्रो लहरको सामना गर्न हामीसँग सुरक्षा सामग्री, अक्सिजन र उपकरण त जसोतसो जोहो भएका छन्। तर, ती सामग्रीको व्यवस्थापन गर्ने जनशक्तिको चरम अभावको स्पष्ट संकेत देखिएको छ।

अहिले पनि राज्य स्वास्थ्य जनशक्ति बढाउने र भएका जनशक्तिको व्यवस्थापन गर्ने स्पष्ट खाका तयार गर्ने बाटोमा छैन। यी सबै तथ्यले हामी समस्या आइरहँदा क्षणीक र निरीह व्यवस्थापनको तरीका अवलम्बन गरिरहेका मात्र छौँ भन्ने देखाउँछ। नकी, हामी प्राकृतिक प्रकोप, विपद् र महामारीबाट सिकेर ठोस तयारी गर्ने र यस्ता महामारी आइरहँदा तत्काल परिचालित हुने राज्यसंयन्त्र बनाउनेमा सोचिरहेका छैनाैं।

व्यक्तिगत सुरक्षा सामग्री, अक्सिजनदेखि स्वास्थ्य पूर्वाधार, उपकरण र जनशिक्तको चरम अभाव तर त्यसले सेवा प्रवाहमा पारिरहेको असरलगायतका विषयमा हामीले राम्ररी सिक्नु र आगामी दिनमा त्यस्तो अवस्था दोहोरिन नदिनेगरी प्रयाप्त तयारीसहित बलियो स्वास्थ्य प्रणाली बनाउनुको विकल्प छैन।

कोरोना भाइरसको वैश्विक महामारी विकसितदेखि नेपालजस्ता अल्पविकसित देशहरुका लागि पनि निकै महंगो सावित भयो। ननकोभिड सेवा, आकस्मिक र नियमित स्वास्थ्य सेवा प्रवाहसमेत ठप्प बन्यो। त्यतिमात्रै होइन्, संसारकै अर्थतन्त्र, उद्योगधन्दा कलकारखाना, पर्यटन, होटल, हवाई यातायात सबै क्षेत्रले स्वास्थ्य महामारीको असर पार्यो।

संसारले भोगेको विपत्तिले गरिसकेको मानवीय, स्वास्थ्य र आर्थिक क्षतीको परिपुर्ति संभव छैन। अब संभव भनेको कोरोनाजस्ता महामारी जारी रहन्छन् वा भविष्यमा पनि यस्ता स्वास्थ्य संकट आउँनसक्न भन्ने मनन गरेर त्यसका लागि प्रयाप्त तयारी गर्नु अबको प्रमुख काम हो।

त्यसका लागि हामीले सामना गरेका समस्याबाट सिकेर भविष्यमा यी र यस्तै विपत्ति आउँदा गर्नुपर्ने कामको एउटै बुझाई तय गरेर राज्यका नीति, योजना, कार्यक्रम, ऐन र नियममा सुधार गर्नु प्रमुख आवश्यकता हो।

त्यहि आवश्यकतालाई बुझेर नेपाल चिकित्सक संघले आगामी सेप्टेब्बर २५ अर्थात असोज ९ गते NMA National Health Summit 2021- Pandemic Preparedness in Nepal  को आयोजना गर्न लागेको छ। एनएमए र ब्राण्ड वर्थ प्रा.लीको सहकार्यमा हुन लागेको कार्यक्रमलाई तोकिएका स्वास्थ्य मापदण्डसहित भौतिक उपस्थितिमा सम्पन्न बृहत सहभागिताका लागि आम सञ्चार तथा सामाजिक सञ्जालमा आम रुपमा बहस सृजना गर्ने हाम्रो योजना छ।

नेपालको सबैभन्दा पुरानो ‘प्रोफेसनल अर्गनाइजेसन’का रुपमा यसका सदस्यको व्यवसायिक हितसँगै स्वास्थ्यसँग सम्बन्धित विषयमा छलफल, सम्मेलन, अध्ययन, अनुसन्धान एवं प्रकाशन गर्दै आएको छ । संघले सन् १९६३ देखि निरन्तर वैज्ञानिक लेख रचना प्रकाशित गर्दै आएको नेपालको पहिलो स्वास्थ्य जर्नल JNMA प्रकाशन आरम्भ गरेको दिन पारेर यसपटक Pandemic Preparedness in Nepal को विषयमा राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्न लागेको हो।

सम्मेलन सफल पार्न संघको कार्यकारिणीय समितिले संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीको संयोजत्वमा आयोजन समिति र डा. कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति गठन गरि पूर्ण तयारी गरिसकेका छौँ।

यस्तो सम्मेलनलाई नेपाल चिकित्सक संघले आगामी वर्षदेखि ‘क्यालेण्डर इभेन्ट’ कै रुपमा आयोजना गर्ने संघको कार्यकारीणी समितिले निर्णय गरेको समेत जानकारी गराउँछौँ। संघले आयोजना गरेको Health Summit  विभिन्न विषयमा छोटो प्रस्तुतिकरण, भिडियो प्रस्तुतिगरी सम्बन्धित भिन्न क्षेत्रका जिम्मेवार अधिकारीसँग समूहगत छलफल गरिनेछ।

यसपटक सम्मेलनका लागि ५ वटा छलफलका मुख्य विषय छानिएका छन् । जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशाधन र सेवा प्रवाह, कोभिड १९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आवष्किार मुख्य विषय छन् ।

ती विषयवस्तुमा स्वास्थ्यका राजनीतिक, प्रशासनीक नेतृत्वकर्ता, योजना तर्जुमा तथा कार्यन्वयन गर्ने ठाउँमा बसेका अधिकारी एवं विज्ञहरुसँग छलफल गरिनेछ। सम्मेलन पश्चात प्रस्तुत भएको वैज्ञानिक कार्यपत्रसहित छलफलबाट निस्किएका निचोडलाई एकीकृत गरी भविष्यमा देखापर्ने यस्ता विपत्ति, र महामारीको सामना, व्यवस्थापनका लागि आवश्यक कानून निर्माण, योजना तर्जुमा तथा कार्यन्वयन ल्याउन सहयोगी होस् भन्ने उदेश्यले ‘पोलिसी ब्रिफ’ बनाएर विभिन्न निकायमा बुझाइनेछ। यसरी बुझाइएका सुझावलाई निरन्तर ‘फलोअप’ गरेर सो अनुसारको नीति, योजना तथा संरचना बनाउन संघले निरन्तर लागि पर्ने प्रतिवद्धतासमेत दोहोर्याउँछौँ।

साथै, क्यालेन्डर इभेन्टका रुपमा सम्मेलनको विषय छनौट गर्दा पनि यसपकटका सम्मेलनमा उठेका मुख्य विषयबाटै आगामी वर्षको विषयहरु छानिनेछ। जसले गर्दा विषयको गम्भीरता र त्यसलाई कार्यन्वयनका लागि पनि सरोकारवालासमक्ष प्रयाप्त दबाब पुग्नेछ भन्ने विश्वास लिएका छाैं।

नेपालको स्वास्थ्य प्रणाली सुधार गर्दै जारी रहेको कोरोना महामारी र आगामी दिनमा पनि आउन सक्ने यी र यस्तै स्वास्थ्य संकटका सामना गर्न सवल स्वास्थ्य प्रणाली निर्माणका लागि टेवा पुर्याउने हाम्रो विश्वास छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *