२५ करोड मात्रा काेराेना खोप खेर जाने

बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड सम्मेलनमा विश्वभरका नेताहरूसामु विश्वको ७० प्रतिशत जनसङ्ख्यालाई अर्को वर्षको सेप्टेम्बरसम्म खोप दिइसकिने बताए।

तर अध्ययनहरूका अनुसार केही देशहरूले आफ्नो जनसङ्ख्याको दुई प्रतिशतलाई पनि खोप दिन नसकेको अवस्थामा धनी देशहरूसँग मिति गुज्रन लागेका धेरै खोप छन्।

यो गर्मीयाममा इरान जानका लागि विमान चढ्दा बहर आफ्ना बुवालाई चार वर्षपछि भेट्न पाउनेमा निकै खुसी थिइन्।

तर त्यहाँ फैलने क्रममा रहेको कोभिडको घातक दोस्रो लहरले उनको परिवारलाई पार्न लागेको असरबारे उनलाई केही थाहा थिएन।

सबैभन्दा सुरुमा उनको पारिवारिक साथी जो आफ्ना छोराको बिहेको तयारी गरिराखेकी थिइन् उनी बिरामी परिन्। त्यसको केही समयमा उनको मृत्यु भयो।

त्यसपछि उनका एक जना हजुरबुवा अनि एक जना वृद्ध काकी।

बहर त्यसपछि सबैभन्दा बढ्ता आफ्नी हजुरआमाबारे चिन्तित भइन् जो पहिलो खोप लगाएर दोस्रो मात्रा पर्खिरहेकी थिइन्।

२० वर्षीय बहर अहिले अमेरिकामा बस्छिन् जहाँ उनले एप्रिलमा खोप लगाइन्।

उनले आफू केही रूपमा सुरक्षित रहेको थाहा पाए पनि आफ्ना बुवाको घरमा पछिल्ला दिनहरू एक्लिएर बसिन्।

देशमै खोपको आपूर्ति कमी भइरहेका बेला उनको परिवारमा समेत थोरै मानिसहरूले मात्र खोप लगाउन पाएका थिए।
अमेरिका फर्कने बित्तिकै उनले आफ्ना बुवा बिरामी भएको थाहा पाइन्।

उनी घरबाट टाढा रहेकी उनलाई त्यस खबरले निकै चिन्तित बनायो।

उनका बुवालाई पछि सन्चो भए पनि धेरै जना ज्येष्ठ नातेदारहरू चाहिँ कोभिडका कारण ज्यान गुमाउन पुगे।

त्यसले आफूलाई निकै ग्लानि महसुस गराएको बताउँदै उनले सुनाइन्, “मैले फाइजर खोप लगाएकै कारण पूर्ण रूपमा स्वास्थ्य भएरै इरान छाडेकी थिएँ।”

असमान वितरण

कोभिड खोपको चर्को असमान वितरणको तथ्याङ्कले अझै विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले एउटा मात्रा पनि लगाउन नपाएको देखाउँछ।

ह्युमन राइट्स वाचका अनुसार ७५ प्रतिशत कोभिड खोप १० देशमा पुगेका छन्।

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको आँकडा अनुसार अहिलेसम्म बनेका कोभिड खोपमध्ये आधा जसो विश्वका १५ प्रतिशत मानिसहरूसम्म पुगेको छ।

विश्वका धनी देशहरूले गरिब देशका तुलनामा १०० प्रतिसतसम्म बढ्ता खोप लगाएका छन्।

जुन महिनामा जी-सेभेन सदस्य राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिकाले अर्को वर्ष गरिब देशहरूका लागि एक अर्ब मात्रा खोप दान गर्ने बाचा गरेका थिए।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको विश्वव्यापी खोप आपूर्तिसम्बन्धी पछिल्लो प्रतिवेदनका मुख्य लेखक तथा पूर्वकूटनीतिज्ञ अगाट डेमारइस त्यस्तो थाहा पाएपछि सुरुमा आफू मुस्काएको बताए।

“मैले यस्तो खुबै देख्छु। तपाईँलाई थाहै होला यो कहिल्यै कार्यान्वयन हुनेवाला छैन।”

वाचा
यूकेले १० करोड खोप बाँड्ने वाचा गरे तापनि उसले अहिलेसम्म ९० लाखभन्दा कम दान गरेको छ।

राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप बाँड्ने वाचा गरे पनि अहिलेसम्म १४ करोड मात्र खोप दिएका छन्।

युरोपेली सङ्घले २५ करोड खोप बाँड्ने बताए तापनि अहिलेसम्म आठ प्रतिशत मात्र त्यस्तो खोप पठाएको छ। धेरै मध्यम आय भएका देशहरूझैँ इरानले समेत विश्वव्यापी खोप साझेदारी कार्यक्रम कोभ्यास कार्यक्रमबाट खोप ल्याएको थियो।

विश्व स्वास्थ्य कार्यक्रम डब्ल्यूएचओले सघाएको उक्त कार्यक्रमले जहाँ सबैभन्दा धेरै खोप आवश्यक त्यहाँ पठाउने परिकल्पना गरेको छ। कोभ्याक्सले खोप किनेर कम तथा मध्यम आय भएका देशलाई सस्तोमा बेच्नुका साथै त्यो गरिब देशहरूलाई सित्तैमा समेत वितरण गर्छ।

समस्यामा कोभ्याक्स

कोभ्याक्सले अहिले आपूर्तिको मुख्य समस्या सामना गरिरहेको छ। उक्त निकायले सन् २०२१ मा दुई अर्ब मात्रा खोप बाँड्ने योजना बनाएको थियो।

जसको धेरैजसो हिस्सा भारतबाट किन्ने सोचिएकामा मे महिनामा त्यहाँ देखा परेको दोस्रो लहरका कारण त्यहाँको सरकारले निर्यात प्रतिबन्ध लगायो।

त्यसयता कोभ्याक्स धनी देशहरूले दान दिने खोपमा निर्भर रहन थाल्यो। र आपूर्तिको काम सुस्तायो।

कोभ्याक्सका प्रबन्ध निर्देशक औरिला नाङ्वेन भन्छन्, “हाल खोपहरू कम मात्रामा र छोटो सूचनाका आधारमा र म्याद सकिनुभन्दा केही अघि त्यसलाई प्रयोग गर्न सक्नेहरूले सदुपयोग गरिरहेका छन्।”

यो विश्वव्यापी आपूर्ति समस्या होइन। धनी देशहरूले खोपको चाहिनेभन्दा धेरै मात्रा जम्मा पारिरहेको एउटा वैज्ञानिक विश्लेषण गर्ने कम्पनी एर्फिनिटीले जनाएको छ।

उत्पादन

खोप निर्माताहरूले हरेक महिना १.५ अर्ब मात्रा उत्पादन गरिरहेका छन् र ११ अर्ब यो वर्षको अन्त्यसम्ममै उत्पादन भइसक्छ।

एर्फिनिटीका प्रमुख अध्ययनकर्ता डा. म्याट लिन्ले भन्छन्, “उनीहरूले पछिल्लो तीनदेखि चार महिनामा खोप उत्पादनलाई निकै बढाएका छन्।”

अतिरिक्त रूपमा दिइने बुस्टर मात्राका लागि खोप कार्यक्रम सञ्चालन गरे पनि विश्वका धनी देशहरूसँग १.२ अर्ब मात्रा अतिरिक्त खोप रहनेछ।

त्यसको पाँच भागको एक भाग अर्थात् २४.१ करोड मात्रा छिट्टै दान दिइएन भने त्यो काम नलाग्ने हुनसक्छ।

म्याद सकिनुभन्दा पहिले कम्तीमा दुई महिना समय दिइएन भने गरिब देशहरूले त्यो स्वीकार्न नसक्ने अवस्था रहन्छ।

डा. लिन्ले भन्छन्, “मलाई धनी देशहरू लोभी नै भएका हुन् झैँ लाग्दैन। बरु के हुनसक्छ भने उनीहरूलाई कुन खोपले राम्ररी काम गर्छ भन्ने थाहा छैन। त्यसैले उनीहरूले धेरै खाले खोप किनिरहेका छन्।”

यूकेले आफूसँग अतिरिक्त मात्रा खोप नभएको बताउँदै अस्ट्रेलियालाई ४० लाख मात्रा खोप सापटी दिने एउटा सम्झौता गरेको जनाएको छ।

जुन यसै वर्षको अन्त्यसम्ममा उसले अस्ट्रेलियाले छुट्टाएको भागबाट फिर्ता लिनेछ।

ब्रिटेनको स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रालयका एक जना प्रवक्ताले यूकेले खोप चाहिनेलाई समयमै पुर्‍याउनका लागि राम्ररी व्यवस्था गरेको बताउँछन्।

तर बहर र उनको परिवारका यी खोपका मात्रा सिर्फ अङ्क होइनन् ती साँच्चिकै जीवन हुन्, साथी र परिवार हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *