काठमाडौंका विद्यालय असोज १० गतेबाट खोल्न पाइने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य मापदण्ड पूरा गरेका काठमाडौंका विद्यालय असोज १० गतेदेखि भौतिकरुपमै सञ्चालनमा आउने भएका छन्। नगर शिक्षा समितिले असोज १० गतेदेखि विद्यालय खोल्न सकिने बताएको हो।

बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो।

‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो। यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ’, बैठकका अध्यक्ष शाक्यले भने, ‘सरकारले गरेका निर्णय विद्यालयहरुले पूर्ण पालना गर्नुपर्छ। अनुगमन आए पालना गरौँला, नत्र आफ्नो अनुकुल हेरौँला भन्ने सोच राख्नु हुन्न।’

विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्छ।

यदि कसैले नलगाएको भए आफूहरुले खोप उपलब्ध गराउने प्रमुख शाक्यले बताए। ‘कक्षा सञ्चालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणका विषयमा समझदारी बनाउनुपर्छ। त्यसपछि मात्र विद्यालय सञ्चालन गर्न सकिनेछ।’, शाक्यले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *