के हो पेट नै नचिरी पित्तनलीको पत्थरी निकल्ने ‘इआरसिपी’ विधि?

विराटनगरमा नेपालकै आधुनिक प्रविधिबाट पित्तनलीको शल्यक्रियाको सुविधा सुरु भएको छ। पेट नै नचिरी इन्डोस्कोपिक विधिबाट गरिने शल्यक्रिया नेपालका ठूला अस्पतालबाहेक अन्य अस्पतालमा उपलब्ध छैन। प्रदेश १ र २ मा हालसम्म पनि मुखबाट इन्डोस्कोपी गरेर अप्रेशन सुरु नभएका कारण यस अस्पतालले बिरामीको सुविधाका लागि यो सेवा सूचारु गरेको हो।

यस विधिबाट कसरी उपचार गरिन्छ भनेर हेल्थपोष्ट संवाददाताले वरिष्ठ इन्डोल्याप्रोस्कोपिक तथा जनरल सर्जन डा. रोहितप्रसाद यादवसँग कुराकानी गरी यो लेख तयार गरेको छ।

पित्तथैलीमा भएको तरल पदार्थ पित्तले कलेजोबाट निकालेको कोलेस्ट्रोललाई पगाल्ने काम गर्दछ। तर, पित्तले पगाल्न सक्नेभन्दा बढी कोलेस्ट्रोल भए पित्तथैली वा पित्तनलीमा जम्मा भएर बस्दछ।

धेरै समयसम्म यसरी जम्मा भइराखे ढुङ्गाजस्तो साह्रो बन्दछ जसलाई पत्थरीको नाम दिइएको छ।

पित्तथैली कलेजो र सानो आन्द्राको बीचमा हुन्छ भने पित्तनलीको माध्यमबाट पित्तरस सानो आन्द्रमा जान्छ जसले खाना पचाउन मद्दत गर्छ।

पित्तथैली र पित्तनली दुवैमा पत्थरी हुन सक्छ भने कहिलेकाँही पित्तथैलीमा मात्र वा पित्तनलीमा मात्र पनि पत्थरी हुन सक्छ।

पित्तथैलीमा पत्थरी छ भने ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। त्यस्तै पित्तनलीमा पत्थरी भए दुई तरीकाले उपचार गराउन सकिन्छ।

ल्याप्रोस्कोपी विधि तथा इआरसिपी (इन्डोस्कोपिक रेट्रोग्रेड कोल्यानजियो–प्यान्क्रियाटोग्राफी) विधिबाट उपचार गर्न सकिन्छ। ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको चिरेर शल्यक्रिया गरेजस्तै पित्तनलीको पनि चिरेर ढुङ्गा निकाल्न सकिन्छ।

तर, इआरसिपीबाट उपचार गर्दा नचिरिकनै मुखबाट इन्डोस्कोप छिराएर पित्तनलीमा रहेको ढुङ्गा निकाल्न सकिन्छ।

इन्डोस्कोप मुखबाट पसाएर पेटको बाटो हुँदै आन्द्रामा रहेको पित्तनलीको मुख वा खुलेको प्वालबाट भित्र छिराउन मिल्छ। त्यहाँ पुगेर विभिन्न प्रविधि प्रयोग गरेर प्वालको मुख चौडा पारेर ढुङ्गा निकालिन्छ।

योसँगै पित्तको नलीमा अन्य रोग पनि हुन्छ। पित्तनलीमा मासु पलाएर क्यान्सर पनि हुने गर्दछ। मासु पलाएर नली हुँदै जाने बाटो बन्द गर्न सक्दछ। बाटो बन्द हुनुको कारण वा क्यान्सरले भएका हो वा होइन भन्ने थाहा पाउन पनि इआरसिपी विधि प्रयोग गरिन्छ। क्यान्सर तथा मासु निकाल्ने पनि यसै विधिबाट गर्न सकिन्छ।

मासु बढेर वा अन्य कारणले नली बन्द भएमा मानिसलाई जन्डिस हुन सक्छ। नली साँघुरो भएको भागभन्दा माथि पर्ने गरी पाइप-स्टेन्ट राखिन्छ। उक्त पाइप राखिदिएपछि बन्द भएको नली खुल्छ र पित्तको बहाव सुरु हन्छ। यसले मानिसमा हुने जन्डिस पनि निको हुन्छ।

यस विधिबाट प्यान्क्रियाज क्यान्सरको पनि उपचार गर्न सकिन्छ। सुरुवाती क्यान्सर पनि पत्ता लगाउन सकिने भएकाले यो उपचार विधि निकै लाभदायक छ। यस्तो उपचार वृद्धहरुका लागि बरदान सरह हो। उमेर बढेसँगै पित्तको नली वा थैलीमा पत्थरी हुन थाल्दछ। वृद्ध अवस्थामा पेट चिरेर शल्यक्रिया गर्दा जटिल तथा जोखिमपूर्ण पनि हुन्छ। इआरसिपी विधिबाट उपचार गरियो भने वृद्धहरुलाई निक्कै सजिलो हुन्छ।

विदेशमा यो धेरै पुरानो तरिका हो भने हाम्रो देशमा यो उपचार विधिको यति धेरै विकास भएको छैन। काभ्रेको धुलिखेल अस्पताल, चितवनको भरतपुर अस्पताल र काठमाडौंका केही केन्द्रीय अस्पतालमा मात्र यो सुविधा सीमित छ।

इआरसिपी तथा ल्याप्रोस्कोपिक सेवा काठमाडौंबाहिर धेरै लगानी र ठूलो सेटअपमा विराट मेडिकल शिक्षण अस्पतालमा तयार गरिएको छ। ७०० शय्याको अस्पताल बन्दै गर्दा यो सेटअप पनि वर्ल्ड क्लासकै तहमा तयार गरिएको छ।

मेरो अनुमानमा विराटनगरस्थित अस्पतालहरुमा दैनिक ५ हजार भन्दा बढी बिरामीहरु उपचारका लागि आउने गर्दछन्। यी ५ हजार बिरामीमध्ये प्रत्येक दिन इआरसिपी १० जना बिरामीलाई गर्नुपर्ने हुन्छ।

पित्तनलीको शल्यक्रियाका लागि दिनहुँ बिरामीहरु काठमाडौं, चितवन त कोही भारतको दिल्ली, मुम्बई, हैदराबाद जाने गर्दछन्। बिरामीको संख्या धेरै भए पनि उनीहरुलाई यस्ता खाले सुविधा दिन सकेका छैनौं।

पित्तनली ब्लक हुनु निकै गम्भीर समस्या हो, यसले मानिसलाई जन्डिस गराउने तथा समयमै उपचार नभए मृत्युको मुखमा पनि पुर्याउने गर्दछ।

यो सेवा सुरु भएसँगै यहाँका स्थानीयहरुले भोग्नुपर्ने समस्या, उपचारका लागि धाउँदाधाउँदै मृत्यु हुने, टाढा उपचार गराउन जाँदा हुने आर्थिक भार तथा कुरुवा पनि बिरामी हुनेजस्ता समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।

त्यस्तै, यो विधिबाट उपचार गराउँदा धेरै रकम पनि खर्च हुँदैन। ५० हजारदेखि १ लाखसम्ममा यसको उपचार गर्न सकिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *