धनी मुलुकले जम्मा गरेका १० करोड खोप काम नलाग्ने

हेल्थपोस्ट नेपाल

धनी मुलुकले जम्मा गरेका करिब १० करोड कोभिडविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा काम नलाग्ने हुने भएको छ।

विज्ञान एनालिटिक्स कम्पनी एयरफिनिटिका अनुसार काम नलाग्ने अवस्थामा पुग्ने १ करोड खोपमध्ये युरोपियन युनियनसँग ४१ प्रतिशत र अमेरिकासँग ३२ प्रतिशत छन्।

एयरिफिनिटले गरेको आँकलनअनुसार गरिब मुलुकका १.९ प्रतिशत मानिसले मात्र एक डोज खोप लगाएका छन्। जबकि अमेरिकामा ६३ प्रतिशत र बेलायतमा ७१ प्रतिशतले एक डोज खोप लगाउन सफल भएका छन्।

‘ग्लोबल जस्टिस नाउ’ का अनुसार यसले खोप वितरण भएको व्यापक असमानता देखाएको छ। कम आय भएका मुलुकमा खोप उपलब्ध गराउन जरुरी भएको पनि उक्त संस्थाले उल्लेख गरेको छ।

ग्लोबल जस्टिस नाउका निर्देशक निक डियरडेन भन्छन्, ‘बेलायतजस्ता धनी देश खोप जम्मा गरिरहेका छन्, तर यो खोप निम्न तथा मध्य आय भएका देशलाई अन्त्यन्त जरुरी छ।’

करोडौं डोज खाप काम नलाग्ने अवस्थामा पुर्‍याउनु क्रुरता भएको उनको भनाइ छ। ‘यसबाट कैयौं मानिसको जीवन बचाउन सकिन्थ्यो। तर मुठ्ठीभरका धनी देशका कम्पनी खोप उत्पादनमा एकाधिकार जमाउछन् भने यस्तो स्थिति अवश्यम्भावी छ।’

डियरडेनका अनुसार कैयौं देश खोप निर्माण गर्न सक्षम छन्। तर यसका लागि खोप निर्माता कम्पनीहरुले पेटेन्ट राइट खुला छाडिदिनुपर्छ। डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले पनि गत महिना यस्तो गर्न सम्भव रहेको बताएको थियो। एमएसएफकी क्याम्पेन म्यानेजर लारा डोविफेटले पनि अफ्रिकामा एमआरएनए खोप निर्माण सम्भव रहेको बताएकी छन्।

एयरफिनिटिको यो आंकलन अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा बोलाइएको कोभिड १९ भर्चुअल शिखर सम्मेलनअघि सार्वजनिक भएको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *