महंगियो आयातित ‘स्यानिटरी प्याड’, छैन अनुगमन

एकाबिहानै महिनावारी हुनु अनि बिहानै महिनावारी हुँदा प्रयोग गरिने स्यानिटरी न्याप्किन (प्याड) को भाउ बढ्यो भनेर खबर सुन्दा कस्तो हुन्छ होला, अनुमान गर्नुस् त ।

नराम्रो लाग्नु स्वभाविकै हो ।

हो, हरेक महिनाको ६ दिनसम्म प्रयोगमा आउने प्याड महँगो भएपछि चित्त दुखेझैं भएको छ आकृति सापकोटालाई ।

मोरङको उर्लाबारीनिवासी सापकोटालाई महिनावारी हुँदा तीन प्याकेट प्याडको आवश्यकता पर्दछ ।

भर्खरै स्नातक प्रथम वर्षमा प्रवेश गरेकी उनको कुनै आम्दानी छैन । प्याड किन्नलाई पनि उनी आमाबुबाकै भर पर्नुपर्छ ।
‘मलाई महिनावारी हुँदा ६ दिनसम्म प्याड चाहिन्छ । पहिलो तीन दिनसम्म चारदेखि पाँचवटा प्याड फर्नेुपर्ने हुन्छ,’ उनले भनिन् ।
धेरै रगत बग्ने कारण साधारण कपडा तथा प्याडले चुहिने समस्या भएका कारण लामो र ‘विङस्’ (पखेटा) भएको प्याड प्रयोग गर्नुपर्ने हुन्छ, जसको पैसा एकसय रुपैयाँ भन्दा बढी पर्दछ ।

महिनावारी पूरा हुँदासम्म उनलाई झण्डै तीन सयको प्याड चाहिन्छ । महिनामा प्याड मात्र होइन, उनलाई पढ्न र लगाउनका लागि अन्य सामाग्रीको पनि आवश्यकता पर्दछ ।

कमजोर आर्थिक अवस्थाका कारण घरि–घरि अभिभावकसँग पैसा माग्न पनि उनलाई अप्ठ्यारो लाग्छ ।
‘आफुसँग पैसा छैन । आमाबुबासँगै माग्नुपर्छ । अझै पनि प्याडको लागि पैसा माग्न अप्ठ्यारो लाग्छ । प्याडको मूल्य वृद्धि भएपछि झनै अप्ठ्यारो बनाएको छ,’ सापकोटाले भनिन् ।

उनले खरिद गर्ने प्याडको मूल्य हाल प्रति थान १० रुपौयाले वृद्धि भएको उनले बताइन् ।

‘सामान्य प्याडलाई ७० देखि ८० रुपैयाँ पर्दछ। तर त्यो एक प्याकेटले दुई दिनसम्म पनि पुग्दैन। रगतको बहाव धेरै हुँदा साना खालका प्याड काम पनि लाग्दैन। लामो र विङस् भएको प्याडको आवश्यकता पर्दछ, जसको मूल्य १४० सम्म पनि पर्दछ। यस्तोमा हामीले एक चोटीको महिनावारीमै धेरै खर्च व्यहोर्नुपर्ने हुन्छ,’ सामाजिक सञ्जालमा आफ्नो धारणा पोख्दै सुरक्षा कट्टेलले लेखिन्।

उनले शहरमा बस्ने हामी महिलाहरुका लागि त प्याड यति महँगो लाग्छ भने, गाउँमा बस्ने महिलाहरुले कसरी किन्न सक्नु? भनिन्।
प्याड आफ्नो आम्दानीको पहुँचमा नभएकै कारण दुर्गममा बस्ने महिलाहरुले कपडा प्रयोग गर्नु पर्ने तथा महिनावारीका सामाग्रीको अभावकै कारण प्रजनन स्वास्थ्यमा असर पर्ने गरेको बताइन्।

उनीहरु जस्तौ थुप्रै महिलालाई महँगो महिनावारी सामाग्रीले हैरान बनाएको छ।

कति छन् प्याड प्रयोग गर्ने महिला?

धेरैजसो महिला १० वर्षको उमेरदेखि नै महिनावारी हुने गर्दछन् । यो क्रम करिब ४९ वर्ष चलिरहन्छ । ‘मनोपज’ (महिनावारी रोकिने प्रकृया) नभएसम्म हरेक महिना लगातार महिनावारी हुने गर्दछन् ।

नेपालको जनगणना २०११ को तथ्याङक अनुसार १० देखि ४९ वर्ष उमेर समूहका ७८ लाख २७ हजार ७ सय २० महिला छन् ।
नेपालको जनसंख्याको कूल महिला संख्याको ६४.७ प्रतिशत महिला महिनावारी उमेर समूहमा पर्दछन्।
यीमध्ये अधिकाशं महिलाले बजारमा पाउने प्याड प्रयोग गर्दछन् । थोरैले मात्र किन्न नपर्ने तथा घरमै बनाउन सक्ने कपडाको प्याड प्रयोग गरेको पाइन्छ ।

कुन प्रदेशमा कस्ता प्याडको प्रयोग बढी ?

 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र वल्र्ड भिजनले हालसालै गरेको ‘स्ट्याटस अफ मेन्सुरल हेल्थ एण्ड हाइजिन म्यानेजमेन्ट एमोङ एडोलेसेन्ट गल्र्स अफ नेपाल’ अध्ययनअनुसार अधिकाशं महिलाहरुले बजारमा पाउने प्याडको प्रयोग गर्छन ।

प्रदेश १ मा ६१.१ प्रतिशत महिलालले ‘डिम्पोजेबल’ (एक चोटी प्रयोग गरेर फाल्ने) ‘स्यानिटरी प्याड’ प्रयोग गर्दै आएको तथ्यांकले देखाएको छ । करिब २९.३ प्रतिशत महिलालले पुनःप्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दछन् । त्यस्तै, ३१.९ प्रतिशतले महिनावारी हुँदा नयाँ कपडा प्रयोग गर्छन् । ११.१ प्रतिशतले पुरानै कपडा प्रयोग गर्ने गरेका छन् । जम्मा १.८ प्रतिशतले कटन वा उनको प्रयोग गर्दछन्।

प्रदेश २ मा ३२.२ प्रतिशत महिलाले ‘डिस्पोजेबल प्याड’ प्रयोग गर्ने गरेका छन् । यस्तै ४८.२ प्रतिशतले पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दछन्। रिपोर्टअनुसार २८ प्रतिशतले नयाँ कपडा, १६ प्रतिशतले पुरानो कपडा, १.५ प्रतिशतले कटन उन, ०.१ प्रतिशतले टेम्पोन प्रयोग गर्ने गरेका छन्।

यसैगरी ०.१ प्रतिशत महिलाले ट्वाइलेट पेपर र २.५ प्रतिशत महिलाले भित्रीवस्त्र (अन्डरवेयर) मात्र लगाउने गरेका छन्।

बागमती प्रदेशको हकमा सबै भन्दाबढी महिलाले पुनःप्रयोग गर्न मिल्ने प्याडको प्रयोग गर्दछन् । अध्ययन प्रतिवेदनले औल्याएअनुसार ५१.५ प्रतिशत महिले पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्छन् । ४६ प्रतिशतले ‘डिस्पोजेबल प्याड’ प्रयोग गर्दछन्।

३२.६ प्रतिशत महिलाले प्रत्यक महिलनावारीमा नयाँ कपडा प्रयोग गर्दछन् । ११.५ प्रतिशतले पुरानो कपडा प्रयोग गर्दछन्। त्यस्तै ३.३ प्रतिशत महिलाले कटन उन, ०.६ प्रतिशतले टेम्पोन ०.१ प्रतिशतले अन्डरवेयर मात्र लगाउने गर्दछन्।

गण्डकी प्रदेशमा सबै भन्दाबढी महिलाले बजारमा पाउने प्याड प्रयोग गर्ने गरेका छन्। ७८ प्रतिशतले ‘डिस्पोजेबल प्याड’ प्रयोग गर्दछन् । करिब २२ प्रतिशतले मात्र पुनःप्रयोग गर्न मिल्ने ‘रियुजेबल प्याड’ प्रयोग गर्ने गरेका छन्। १५ प्रतिशत महिलाले नयाँ कपडा, २१ प्रतिशतले पुरानो कपडा, ५ प्रतिशतले उन तथा कटनको कपडा प्रयोग गरेको प्रतिवेदनले देखाएको छ ।

लुम्बिनी प्रदेशमा पनि ‘डिस्पोजेबल प्याड’ नै बढी प्रयोग गर्ने गरिएको छ। ६४ प्रतिशत महिलाले ‘डिस्पोजेबल प्याड’ प्रयोग गर्दछन् । २७ प्रतिशतले ‘रियुजेबल प्याड’ प्रयोग गर्दछन्। २१ प्रतिशतले नयाँ कपडाको टुक्रा प्रयोग गर्छन् । १० प्रतिशतले पुराना कपडा, ०.४ प्रतिशतले टेम्पोन, ०.२ प्रतिशतले ट्वइलेट पेपर, ०.१ प्रतिशतले अन्डरवेयर मात्र लगाउँछन्।

कर्णाली प्रदेशमा भने आधुनिक प्याडको प्रयोगमा कमी देखिएको छ । प्रदेशमा महिनावारी हुँदा कपडाको प्रयोग बढी भएको पाइएको छ । ५३ प्रतिशत महिलाले नयाँ कपडा प्रयोग गर्ने गरेका छन् । ३२ प्रतिशतले ‘डिस्पोजेबल’ र ४५ प्रतिशतले ‘रियुजेबल प्याड’ प्रयोग गर्ने गरेका छन्।
त्यस्तै, कर्णालीका २१ प्रतिशत महिलाले पुराना कपडा, ५ प्रतिशतले कटन तथा उनका कपडा, ०.५ प्रतिशतले ट्वइलेट पेपर र ०.२ प्रतिशतले अन्डरवेयर मात्र लगाउने गरेका छन्।

सुदुपश्चिम प्रदेशका महिलाले सबै भन्दा बढी पुनः प्रयोगमा ल्याउन सकिने प्याडको प्रयोग गर्ने गरेको पाइएको छ । झण्डै ५४ प्रतिशत महिलाले पुनःप्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्छन् । करिब ४० प्रतिशतले बजारमा पाउने ‘डिस्पोजेबल प्याड, २९ प्रतिशतले नयाँ कपडा, २२ प्रतिशतले पुराना कपडा प्रयोग गर्ने गर्दछन् ।
त्यस्तै, ०.१ प्रतिशतले टेम्पोन र ०.५ प्रतिशतले ट्वइलेट पेपर प्रयोग गर्ने गरेका छन्।

नेपालमा प्याड उत्पादन गर्ने कम्पनी ३० वटा भन्दा धेरै छन्। अधिकाशं विदेशी प्याडकै फ्रेन्चाइज कम्पनी छन् । एक दुईवटा मात्र स्वादेशी प्याड कम्पनी रहेको महिला अधिकारकर्मी राधा पौडेलले बताइन्।

कति भित्रिन्छ नेपालमा प्याड?

नेपालमा अधिकाशं प्याड विभिन्न देशबाट आउने गर्दछन् । नेपालमा बन्ने प्याड पनि विदेशमै बनेको कच्चा पदार्थबाट बनेका छन्।
भन्सार विभागको वैदेशिक व्यापारको तथ्याङकअनुसार नेपालमा भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, साउदी अरब, ताइवान, बेलायत, अमेरिका, युएई, जर्मनी, अस्ट्रेलिया, फ्रान्स, मलेसिया, पोल्याण्ड, स्पेन, जापान, भियतनाम र टर्कीबाट प्याड आयात हुने गरेका छन्।
आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ३१ लाख १९ हजार ५ सय ९८ थान प्याड, टेम्पोन, मिन्सुरल कपजस्ता सामाग्री नेपाल भित्रिएका छन्।
त्यस्तै, गएको आथिएक वर्षमा प्याड बनाउन चाहिने १६ लाख ९४ हजार ९ सय ४२ कच्चा पदार्थ विदेशबाट भित्रिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कच्चा पदार्थ भित्रिएको तथ्यांक नभएपनि २१ करोड ५१ लाख १० हजार ७१ थान प्याड भित्रिएको छ ।

नेपाली प्याडलाई छैन बजार

मितेरी जैविक प्याड व्यवस्थापन समितिका अध्ययक्ष राधा पोखरेलका अनुसार नेपालमा प्याडको प्रयोग गर्ने संख्या बढेको छ । यसमा पनि बाहिरबाट आएका प्याड नै प्रयोगमा छन् । विदेशमा धेरै उत्पादन हुने भएकोले नेपालमै बनाइएका प्याडभन्दा कम दाममा पाइने गरेको पोखरेलले बताइन् ।

पोखरेलले जैविक प्याडको उत्पादन बिक्री वितरण गर्दै आएकी छिन्। तर एकैपटक धेरै उत्पादन गर्न नसकेको तथा यस्ता प्याड कमै मात्र माग भएका कारण बजारमा प्रतिस्पर्धा नै गर्न नसकेको उनी बताउँछिन्।

‘हामीसँग दुई वटा मात्र प्याड बनाउने ‘सेमी अटोमेसिन’ छ । यसमा पनि हातको काम धेरै हुन्छ । दैनिक ४ देखि ५ सय मात्र प्याड बन्ने भएकोले माग धान्न सक्दैनौँ,’ उनले भनिन्।

उनका अनुसार जैविक प्याड प्लास्टिकबाट बन्ने ‘डिस्पोजेबल’ प्याड भन्दा अलिबढी महँगो पर्न अगाउँछ।
हाल किशोरीहरुको माग डिस्पोजेबल प्याड नै भएका कारण प्याडको भाउ मनोमानी तरीकाले बढाउने गरिएको बताउँछिन् पोखरेल।

कानूनमा के छ?

महिनावारी सामाग्रीको बिक्री–वितरण र यसको मूल्य तोक्नुपर्ने जस्ता कुनै पनि कानून बनेको छैन। विद्यालय तहका किशोरीहरुका लागि निःशुल्क वितरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरेको छ ।
कानुन बमोजिम विद्यालयस्तरमा जैविक तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको उपयोग हुनुपर्ने भनिएतापनि विद्यालयमा डिस्पोजेबल प्याडकै प्रयोग भइरहेको पोखरेल बताउँछिन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको सेनिटरी प्याड (वितरण तथा व्यस्थापन) कार्यविधि, २०७६ का अनुसार विद्यालयहरुमा दिगो विसर्जन तथा पुनःप्रयोग गर्न सकिने सामाग्रीको प्रयोग गनुपर्ने भनिएपनि यस विषयमा कुनै पनि विद्यालय तथा स्थानीय तहको यस विषयमा ध्यान नगएको पोखरेल बताउँछिन्।

‘हामीले उत्पादन गर्ने प्याड १०० प्रतिशत जैविक तथा वातावरणमा असर नपर्ने बनाएका छौँ। महिलाहरुको महिनावारीलाई ध्यानमा राखेर बनाइएको तथा विभिन्न अध्ययन गरेर उत्पादन गरिएको प्याडमा कुनै विद्यालयमा चासो भएन ।’ उनले भिनन्, ‘हामीले कयौँ विद्यालयमा प्रस्ताव राख्यौं। टेन्डर आह्वान गरेर खरिद गर्ने प्रकृया भएका कारण हाम्रा प्याड कहिल्यै यसभित्र पर्न सकेन। उल्टै कमिसन खाने चक्रमा ‘डिस्पोजेबल प्याड’को खरिद हुने गरेको छ।’

महिलालाई महिनावारी हुँदा चाहिने सामाग्रीहरुमा कर छुट गर्नुपर्ने हो तर कर छुट नहुँदा यस्ता सामाग्री महिलाहरुले महँगोमा खरिद गर्नुपरेको बताउँछिन् महिला अधिकारकर्मी पौडेल ।

त्यस्तै, सरकारले २०७५ मा ‘राष्ट्रिय मर्यादित महिनावारी नीति’ सार्वजनिक गरेको थियो । नीतिमा महिनावारीका समाग्री उपलब्ध गराउने भनिएको छ । प्याड वितरणको जिम्मा विभिन्न निकायलाई दिएका कारण समाग्रीको उपलब्धता, मूल्यको अनुगमन गर्न सम्बन्धित निकाय जिम्मेवार देखिँदैन । सरकारी तहमा कुनै अनुगमन गर्ने तथा यस विषयलाई हेर्न कुनै सरकारी निकाय नभएकै कारण भाउ बढाउने काम भइरहेको पौडेल बताउँछिन्।

छैन अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुुसार हालसम्म महिनावारी सामाग्रीको मूल्यवृद्धि भए, नभएको अनुगमन भएको छैन।
विभागका सूचना अधिकारी शिवराज सेढाईंले हालसम्म यस्ता कुनै प्रडक्टलाई ध्यानमा राखेर अनुगमन नगरिएको बताए।
उनले भने, ‘प्याडको मूल्य कति लिएको छ भनेर अनुगमन त गरेका छैनौँ, अब अनुगमन गर्दा यसको पनि गर्नेछौँ ।’

करोडौँको स्यानेटरी प्याड नेपाल भित्रिन्छ तर यसको व्यवस्थापन भएको छैन। महिनावारी हुँदा नभइ नहुने बस्तु भएकाले बढी मूल्य तितेर पनि खरिद गर्न बाध्य छन् महिला ।

 

 

 

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *