आँखामा जीवनभरलाई अँध्यारो छर्ने ‘सापु रोग’ फैलिँदै

हेल्थपोस्ट नेपाल

गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन्। आँखा उपचार केन्द्र र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ।

तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक/एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन्। सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिए।

सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले जनाएको छ । अहिले पनि दैनिक तीन/चार जनाको संख्यामा सापु रोगको शंका बिरामी आउने गरेको बस्नेतले जानकारी दिए। सापुको शंका लाग्नेबित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बस्नेतले र अटेरी गरेमा आँखाको ज्योति नै गुम्न सक्ने बताए।

भैरहवा, पाेखरा, इलामलगायत पहाडी ठाउँमा सेतो पुतलीको समस्या देखिने गरेको छ ।

के हाे सापु राेग? 

बत्तीमा झुम्मिने पुतलीहरूमध्ये सेतो पुतली आँखाको लागि घातक हुन सक्छ । कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कमा आए सापु रोग लाग्ने र यसका कारण आँखाको दृष्टि नै गुम्न सक्ने चिकित्सकहरू बताउँछन् । यो रोगको पूरा नाम हो, सिजनल हाइपर एक्युट पनुभिआइटिस ।

भदौ पहिलो सातायता गण्डकी प्रदेशको पोखरामा सेतो पुतली देखिन थालेसँगै त्यहाँ सापुका बिरामी भेटिन थालेका छन् । पोखरासँगै बाग्लुङ, पर्वतका विभिन्न ठाउँमा सेतो पुतलीको समस्या देखिएको छ । सापु नेपालमा पहिलो पटक सन् १९७५ मा पोखरामै देखिएको थियो ।

संक्रमण र लक्षण

सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौं आँखासम्म पुगेमा सापुको संक्रमण फैलिन सक्छ । संक्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने जस्ता लक्षण देखिन्छन् । ४८ घण्टाभित्र अस्पताल पुगे ५० प्रतिशत आँखाको ज्योति गुम्ने सम्भावना हुन्छ । र, त्योभन्दा ढिला भए आँखाको ज्योति बचाउने सम्भावना निकै कम हुने चिकित्सक बताउँछन् ।

प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले तीव्र रूपमा असर गर्छ । यो सरुवा रोग भने होइन । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *