चीनबाट आउन लागेको ४४ लाख खोप क–कसले पाउँछन्?

सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ।
उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो। स्वास्थ्य सेवा विभागको अनुसार उक्त खोप आज दिउँसो २ बजे आइपुग्ने छ।
विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले ४४ लाख भेरोसेल खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिए।
सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ।
सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको सरकारले जनाएको छ।
हालसम्म २० प्रतिशत नागरिकले पूर्ण खोप पाइसकेका छन्।
क–कसले पाउँछन् खोप ?
केही दिनबाट पुन सुरू हुने खोप अभियानमा हिमाली १० जिल्लाका १८ बर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना रहेको दाहालले जानकारी दिए।
जसअनुसार ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, सखुंवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला रहेका छन्।
त्यसैगरी, काठमाडौं, भक्तपुर, ललितपुर, मकानपुर, रामेछाप, सल्लार्ही र अछाममा ४० बर्षभन्दा माथिका नागरिकलाई खोप दिन लगाइएको दाहालले जानकारी दिए।
त्यस्तै, काभ्रे, चितवनमा ३५ बर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ बर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ।
दाहालका अनुसार १८ बर्षभन्दा माथिका खोप लगाउन छुटका भएका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको छ।
दोस्रो डोज सुरक्षित गरेर खोप लगाउने योजना रहेको दाहालले बताए।