चीनबाट अध्ययन गरी आएका विद्यार्थीले पाए इन्टर्नसिप गर्ने अनुमति पत्र, आन्दोलन स्थगित

हेल्थपोस्ट नेपाल

हातमा सम्झौता पत्र बाकेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान हिँडेकी थिइन् ज्वाला।

अब भने चिकित्सक बन्न पाइने भइयो भनेर खुशी भएकी थिइन्।

उक्त सम्झौता पत्र मार्फत उनले बीर अस्पतालमा इन्टर्नसिप गर्न पाउने सोचेर हतारिँदै गइन्।

चिकित्सक बन्ने सपना भएकै कारण नेपालबाट एमबिबिएस पढ्न चीन पुगेकी हुन् सुर्खेत बासी ज्वाला बराल।

नेपालमा महँगो चिकित्सा शिक्षाका कारण उनी चीनमा गएर भएपनि पढ्ने रहरले उडेकी थिइन्।

तर उनको उडानलाई कोरोनाले संक्रमित बनायो र नेपालमा आएर रोकियो।

एमबिबिएस अध्ययन सकेर इन्टर्नसिप  शुरु गरेको उनी सन् २०२० को मार्च महिनामा सर्टिफिकेट नै हातमा नराखी फर्किइन्।

‘ज्यान जोगाउने सोचले स्वदेश फर्कियौं तर चीनले र्फिता बोलाउँदैन भन्ने थाहा भएको भए त्यतै बस्थौं,’ उनले भनिन्।

नेपाल फर्केपछि चीनले सबै विद्यार्थीहरुको भिसा रद्ध ग¥यो भने विद्यार्थीलाई फर्कन भिसा नै दिएन। पढ्न गएका उनीहरु अलपत्र परे।

नेपालमै भएपनि इन्टर्नसिप गर्न पाउँ भन्दै आग्रह गरे, आन्दोलन गरे, तर न त चिकित्सा शिक्षा आयोग न त नेपाल मेडिकल काउन्सीलले वास्ता गरे।

विद्यार्थीहरु सडकमै आएपछि चिकित्सा शिक्षा आयोग र फेडेरेसन अफ नेप्लिज मेडिकल स्टुडेन्टबीच चीनमा अध्ययन गर्न गएका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्न दिने सम्झौता भएको थियो।

आयोगले असार २३ गते इन्टर्नगर्नका लागि आवेदन भर्न सूचना प्रकाशन गरेको थियो भने नेपाल मेडिकल काउन्सिलले पनि अनुमति दिएको थियो।

तर दुई महिना बितिसक्दा पनि उनीहरुले अनुमति पत्र पाउन सकेका थिएनन्।

इन्टर्नसिप नगरी चिकित्सकीय अभ्यास गर्न नपाइने। झण्डै डेढ वर्ष खेर गइसकेको छ। यतिबेला उनीहरु नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर भएको चिकित्सक भइसक्ने थिए।

रौतहतका विष्णु दत्त दिभेदीले एनएमएको परीक्षा एकैपटक उत्तीर्ण गरेका थिए। तर उनले आफ्नो नाम अगाडि डाक्टर राख्न पाएनन्। उनलाई एनएमएले दर्ता नम्बर नै दिएन। उनीसँग एमबिबिएसको अन्तिम परीक्षा उत्तीर्ण भएपनि इन्टर्नसिप अधुरो भएका कारण उनले चिकित्सा अभ्यास नै गर्न पाएनन्।

कोरोना संक्रमणले देश र जनतालाई पिडा दिएको समयमा चिकित्सक भएर पनि उनले सेवा दिन नपाएका कारण थकथक लागेको छ उनलाई।

‘आयोगले समयमै हामीलाई अनुमति दिएको भए देशले झण्डै ५० जना चिकित्सक पाउँथे र स्वास्थ्य संकटमा हामीले पनि सेवा दिन पाउँथ्यौं,’ दिवेदीले बताए।

दिभेदी र बराल दुबै सन् २०१४ मा एमबिबिएस पढ्न चीन लागेका थिए। यतिबेला उनीहरु चिकित्सक भएर काम गर्न पाउँथे। तर इन्टर्नसिपमै अड्केपछि बिचल्लीमा छन्।

हाल चीनबाट अध्ययन गरेर आउने तीन ब्याच रहेका छन्। २०१४, २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्नुपर्ने बाध्यता छ।

चिकित्सा शिक्षा आयोगको सूचना अनुसार १९८ विद्यार्थीले दरखास्त दिएका थिए भने सूचना अनुसार १६५ विद्यार्थीहरु लिस्टिङमा परेको रजिष्टार डा.कृष्ण प्रसाद अधिकारी बताउँछन् ।

‘हामीले माग गरे अुनसार विद्यार्थीहरुको आवेदन आइसकेको छ। पहिलो चरणमा २०१४ का ब्याचले इन्टर्नसिप गर्न पाउनेछन् भने अर्को निर्णयमा अन्य ब्याचले पालो पाउँछन्,’ उनले भने।

सोमबार सम्ममा सबै विद्यार्थीहरुको कागजातहरु हेरेर इन्टर्न गर्न पाउने पत्र पठाउँनेछौं उनले भने।

यो समाचार प्रकाशित गरुन्जेलसम्म अधिकाशं विद्यार्थीहरुलाई असोजबाट इन्टर्नसिप गर्न पाउने पत्र विद्यार्थीहरुको व्यक्तिगत इमेल ठेगानामा पत्राचार भइसकेको छ।
पत्राचार पाएकोमा दिभेदीले पनि हेल्थपोष्ट नेपाललाई खुशी व्यक्त गरेका छन्।

उनले आफ्नो माग पुरा भएका कारण अब आन्दोलन स्थगित गर्ने बताए।  सोमबारदेखि चीनमा अध्ययन गर्ने विद्यार्थीहरुले आन्दोलन गर्दै आएका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *