डा. गोविन्द केसी अमेरिका जाँदै, संयुक्त राष्ट्र संघको मुख्यालयमा ‘सामूहिक सत्याग्रह’

हेल्थपोस्ट नेपाल

नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार लागि लडिरहेका प्रा.डा. गोविन्द केसी आज अमेरिका जाँदैछन्।

नेपालमा बढेको राजनीतिक तथा प्रशासनिक विकृति र विसंगतिविरुद्ध डा. केसी ‘दुईदिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर ‘संसारको अघोषित राजधानी’को रूपमा रहेको महाशक्ति राष्ट्र अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन्।

मानवता र मानवीय सेवाका माध्यमबाट सद्भाव बढाउँदै विश्व समुदायमा दिगो शान्ति प्राप्त गर्न सकिन्छ भन्ने उनको विश्वास छ ।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उद्देश्यले उनको अगुवाइमा सेप्टेम्बर २० र २१ तारिक दिनको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मुख्यालय, न्युयोर्क, अमेरिकामा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ ।

शान्ति दिवसका अवसरमा हुने उक्त दुईदिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रूपमा लिइएको छ ।

प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ्य र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय छ।

हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ भन्ने सन्देश संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई दिइनेछ ।

सेप्टेम्बर १४ देखि सुरु हुने संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधन हुने भएको हुँदा सो शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो ।

सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्सले नेपाल र विश्वभर छरिएर रहेका नेपालीको भावनात्मक अभिव्यक्तिको रूपमा आयोजना गर्न लागिएको सो शान्तिपूर्ण प्रदर्शनीमा सहभागी भइदिन अमेरिकामा रहेका नेपाली समुदाय, संघसंस्था तथा व्यक्तिलाई अपिल गरेको छ।



Leave a Reply

Your email address will not be published.