चीनबाट भोली ४४ लाख डोज भेरोसेल खोप आइपुग्ने

हेल्थपोस्ट नेपाल

चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप भोलि नेपाल आइपुग्ने भएको छ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।

खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जाने भएको छ। निगमका अनुसार आज साँझ ५ः४५ बजे निगमको वाइडवडी ३३० बेइजिङ तर्फ जाने छ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।

नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *