यसकारण बढ्दै छ नेपालमा मातृ तथा नवजात शिशु मृत्युदर

कोरोना महामारी कारण २० लाख शिशुको ज्यान लियो

सुरक्षा हामी सबैको लागि आधारभुत आवश्यकता हो र यसै सुरक्षाको लागि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले २०१९ मा महासभा बैठकले विश्व विरामी सुरक्षा दिवस मनाउने निर्णय गर्यो । यो दिवस प्रत्येक वर्ष सेप्टेम्वर १७ अर्थात् नेपाली मिति अनुसार असोज १ गते मनाइन्छ । यसवर्ष कोभिडको संक्रमणमा मातृमृत्युदर अत्याधिक देखिएको छ ।

कोभिडभन्दा अगाडि प्रत्येक दिन ८१० महिला र ६७०० नवजात शिशुको मृत्यु भइरहेकामो अहिले त्यो संख्या लगभग सय प्रतिशतलेनै बढेको देखिन्छ । महामारीको समयमा विश्वमा लगभग २० लाख शिशुको मृत्य, प्रसवको अवस्थामा भएको देखिन्छ । यी २० लाख शिशुलाई जोगाउन सकिन्थ्यो भनेर धेरै अध्ययनहरुले देखाइसकेका छन् ।

यही सन्दर्भमा डब्ल्यूएचओले यो वर्ष एउटा मूल विषय, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहारलाई प्राथमिकता दिदै ‘सुरक्षित तथा सम्मानजनक प्रसुति, स्वास्थ्यमा प्रगति’ भन्ने मूल नाराकासाथ मनाउने भएको छ ।

सुरक्षा हाम्रो आधारभुत आवश्यकता हो तरपनि हामी सुरक्षित हुन सकिरहेका छैनौं । हाम्रो आमा/दिदि /बहिनीहरुको अर्कालमै मृत्यु भइरहेको छ । र, त्यसको कारणमा रोग एउटा कारण भयो त्यो बाहेक हाम्रो सामाजिक अवस्था, अस्पताल र पूर्वतयारी अपूग हुनु पनि हाे ।

आमाको मृत्यु हुने कारणमा उपचार गर्न ढिलाइ हुुनु रहेको तथ्य हामीले पटक पटक भन्दै आएका छौं । अहिले पनि कहिले उपचार खोज्नमा ढिलाइ, कहिले उपचार गर्न निर्णयमै ढिलाइ, कहिले यातायातको समस्याका कारण नवजात शिशु मातृमृत्युदर बढिरहेको देखिन्छ ।

दिगो विकास लक्ष्य अनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदरलाई ७० मा झार्न पर्नेछ । अहिले नेपालको मातृमृत्युदर २३९ छन् । दिगो लक्ष्य हासिल गर्न अब हामीसँग ९ वर्षमात्रै बाँकी छ । यसबीचमा हामाीले धेरैनै काम गर्नुपर्नेछ । नेपालको तथ्यांक हेर्ने हो भने गर्भावस्थामा ४ पटक जाँच गर्ने
महिलाहरु ५६ प्रतिशत, दक्ष प्रसुतीकर्मीबाट सुत्केरी गराउने महिला ७२ प्रतिशत र संस्थागत प्रसुती गराउने महिला ६५ प्रतिशत र सुत्केरी पश्चात जाँच गराउने महिला १८ प्रतिशत छन् । यी सबै सूचकांक ९० प्रतिशतभन्दा माथि पुर्याउन सक्यौं भनेमात्रै हाम्रो दिगो विकास लक्ष्य हासिल हुन्छ । नत्र हामी लक्ष्य पुरा गर्न असफल हुनेछौं ।

दिगो विकास लक्ष्य पुरा गर्न नेपालमा भएका कार्यहरु :

सन् १९९७ देखि नै नेपालमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा छ । हामीले बर्थि सेन्टर स्थापना गरेका छौं । साथै दक्ष प्रसुतीकमीहरुको तालिम दिने काम पनि भइरहेको छ । अपरेशन गर्ने सुविधा छ, यो सुविधा २१९ ठाँउमा लागू भइसकेको छ । यस्तै नवजात शिशुको मृत्युलाई कम गर्न सरकारले इसेन्सियल र एनआइसियुको व्यवस्था गरि नि:शुल्क उपचार गरिरहेको छ । बिरामीको आर्थिक दायित्वलाई कम गर्न सरकार लागि परिरहेको छ तथापी मृत्यु भइरहेको छ । यति गर्दा गर्दै पनि मृत्यु किन भइरहेको भन्ने यथार्थ हामी सबै सरोकारवालाहरुले खोज्न जरुरी छ ।

उपचार खोज्न ढिलाइ हुने एउटा कारण छ ।  त्यसमा घरपरिवार, समाज, समुदायको उत्तिकै जिम्मेवारी छ । एक महिला गर्भवति भएदेखिनै उसको उपचार गर्न वा महिलालाई सही निर्णय लिन परिवारदेखि समुदायसम्मको भूमिका अपरिहार्य छ । यो गर्न सकियो भने कतिपय महिलालाई समयमा नै अस्पताल पुर्याउन सक्छौ जसले आमा र बच्चालाई जोगाउन सकिन्छ ।

यसैगरी सरकारले रोडम्याप २ सेफ डेलिभरी बनाएको छ । रोडम्यापको उद्धेश्य भनेको स्वस्थ शिशुकाे जन्म हुनुपर्छ र सबै आमा र शिशु स्वस्थ हुनुपर्छ ।  सो कार्यको लागि सबै सरोकारवाला लाग्नुपर्ने हुन्छ ।

बिरामी सुरक्षा दिवस मनाउनुको उद्धेश्य :
– प्रसवको समयमा मातृ तथा नवजात शिशुको सुरक्षाको मुद्धालाई व्यापक रुपमा जागरुक गराउने । जबसम्म जागरुक भइदैन मातृमृत्यु घट्न सक्दैन ।
– बहुपक्षीय सरोकारवालाहरुको संलग्नतामा नविनतम र प्रभावकारी नीति अपनाई मातृ तथा नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने । अब विज्ञानले पनि धेरै कुरा प्रमाणित गरिसक्यो, नयाँ नयाँ कुराहरु बाहिर ल्याइरहेको छ नयाँ नयाँ प्रविधि आइसक्यो त्यसैले हामीले पुरानो तरिकाबाट उपचार गरिरहेका छौ त्यसलाई रोकेर नयाँ प्रविधिबाट उपचार गर्नुपर्छ ।

– प्रसवको समयमा सुरक्षित मातृत्व तथा नवजात शिशु हेरचाहको शुनिश्चितता र सेवामो पहुँच पुर्याउन सबै सरोकारवालाहरुलाई दिगो नीति अगाडि बढाउने । २०३० को दिगो विकास लक्ष्य पुरा गर्न आजकै दिनदेखि सही तरिकाले एक्सन प्लान गरेर अगाडि बढाउनुपर्छ ।

-प्रसवको समयमा सबै महिला र शिशुलाई हानी हुनबाट जोगाउन प्रभावकारी स्वास्थ्य सम्बन्धी अभ्यासको वकालत गर्नुपर्छ । यसको अर्थ के हो भने सबै प्रकारका स्वास्थ्य संस्था (सरकारी /गैरसरकारी/निजी)सबैले एकै प्रकारकाे अभ्यास गर्नुपर्छ । जस्तो, आमाको डेलिभरी नर्मल गराउन सक्छौ भने सबै संस्थाले त्यही अनुसार डेलिभरी गराउन पर्यो, जसको सुत्केरी सिजेरियन गरेर गर्नुपर्ने हुन्छ अथवा औजारको प्रयोग गरेर गर्नुपर्ने हुन्छ त्यो पनि देशभर एकनास र एकै प्रकारको अभ्यास हुन जरुरी छ ।

(परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. संगिता मिश्राले स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा गरेको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *