मानव बेचबिखनको उच्च जोखिममा बालबालिका पर्ने गरेको अध्ययनको निष्कर्ष

हेल्थपोस्ट नेपाल

मानव बेचबिखन र तस्करीमा सबैभन्दा धेरै बालबालिकाहरू पर्ने गरेको एक अध्ययनले देखाएको छ। बाल दिवसको अवसरमा कानुनी अनुसन्धान र शंसोधन विकास केन्द्र (सीइएलआरआरडी) ले नेपालमा मानव बेचबिखनको जोखिममा सबैभन्दा बढी बालबालिका पर्ने गरेको जनाएको छ।

भक्तपुरमा मंगलबार संचारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा काठमाडौं स्कुल अफ ल का सह–प्राध्यापक कपिल अर्यालले मानव बेचबिखन र तस्करीमा सबैभन्दा बढी बालबालिका पर्ने गरेको बताए। ‘बालबालिकालाई फकाएर वा धम्की दिएर सजिलै आफ्नो बसमा पार्न सकिन्छ। मानव तस्करहरूले पनि बालबालिकाको त्यही कमजोरीको फाइदा उठाउने गरेका छन्’, उनले भने।

मानव बेचबिखनमा अनपढ मात्र नभएर पढेलेखेका व्यक्तिहरू पनि पर्ने गरेको उनले बताए। ‘कतिपय अवस्थामा नेपालीहरू आफ्नै कमजोरीले पनि मानव तस्करीमा पर्ने गरेका छन्। हामीहरू विदेश जानको लागि मरिहत्ते गछौं। मानव तस्करहरूले त्यसको पनि फाइदा उठाउँछन’, अर्यालले भने।

यस्तै, अधिवक्ता सुकदेव सापकोटा सञ्चारमाध्यममा बालबालिका मानव तस्करको सिकार बन्ने गरेको समाचार कम आउने गरेको बताउँछन्। समाचार लेख्दा पीडित केन्द्रित समाचार सम्प्रेषण हुनुपर्ने उनको सुझाव छ। छापिएका समाचारमा पनि बालबालिकाको विषयले कम महत्व पाउने गरेको उनको भनाई छ। समाचर लेख्दा पीडितको परिचयलाई नखुलाई समाचार सम्पे्रषण गर्न उनले सुझाव दिए।

आजभोली युटुवरहरूले कानुन विपरित भिडियो बनाउने, पीडितको परिचय खुलाइदिने जस्ता काम गर्ने गरेकाले पीडितलाई झनै पीडा थप्ने काम भएको सापकोटाको भनाइ छ।

नेपालमा वि.सं. २०२१ साल भदौ ४ गतेदेखि बाल दिवस मनाउन थालिएको थियो, तर पछि २०६३ सालमा आएर भदौ २९ गतेबाट प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *