भरतपुर अस्पतालमा बहिरङ्ग सेवा विस्तार

चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ। आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो।
यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको थियो।
‘अब बिहान एक घण्टा सेवा थप गर्न लागेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पोडेलले भने।
बिहान ८ बजेदेखि ११ बजेसम्म काटिँदै आएको टिकट अब दिउँसो १२ बजेसम्म काटिने भएको छ।
बहिरङ्ग सेवामा बिहान एक घण्टा र टिकट काउण्टरमा दिउँसो एक घण्टा थप गर्न लागिएको पौडेलले बताए। अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले बहिरङ्ग सेवाको समय बढाइएको उनको भनाइ छ।
संघीय अस्पताल भरतपुरमा ६०० शैया छ। चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । एकै दिनमा दुई हजार जनाले बहिरङ्ग सेवा लिएको तथ्यांक छ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको बताए ।
‘बिरामीको चाप बढ्दा सेवाग्राहीले घण्टौँं कुर्नुपर्ने समस्या छ,’ उनले भने, ‘यसबाट कोरोना संक्रमण फैलिनसक्ने जोखिम कम हुनेछ अनुमान गरिएको छ। अस्पतालमा निजी सामाजिक संघ–संस्थाको सहयोगमा हरेक सोमबार सरसफाइ गर्दै आएको छ।