१० प्रतिशतभन्दा कममा झर्‍यो कोरोना संक्रमणदर

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोनाभाइरस संक्रमण दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम दैनिक संक्रमण दर आइतबार देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपराह्न सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार परीक्षण गराएकामध्ये ८.२६ प्रतिशतमा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ११,०१८ जनाको परीक्षण गर्दा ९११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

संक्रमणको संख्या शनिवारबाटै एक हजार तल झरेको थियो। शनिवार ९,८४० को परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको थियो।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार लगातार चार दिनयता १० प्रतिशतको हाराहारीमा संक्रमण दर देखिएको छ।

मेको दोस्रो साता उच्च बिन्दुमा पुगेर कम हुन थालेको संक्रमण जुलाईको दोस्रो सातादेखि फेरि माथि उक्लिएको थियो।

निरन्तर घट्दो

अगस्टको दोस्रो सातादेखि भने निरन्तर संक्रमण दर कम हुँदै गएको तथ्यांकले देखाउँछ।

संक्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको अधिकारीहरूले बताएका छन्

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको संख्या ५१ लाख ६१ हजार नाघेको मन्त्रालयले जनाएको छ।

पछिल्लो विवरण अनुसार देशभर २६,७५७ सक्रिय संक्रमित छन्।

१३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने २० जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आइतबार थप १३ जनाको मृत्यु भएपछि कोभिडका कारण ज्यान गुमाउनेको कुल संख्या १०,९४९ पुगेको छ।

पाँच ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूको संख्या बागमती प्रदेशमा उच्च छ।

उक्त प्रदेशका काठमाडौं भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा संक्रमितहरूको संख्या ५०० भन्दा बढी छ। गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ। लुम्बिनी प्रदेशको रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सक्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि संख्या ५०० माथि छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा समेत पछिल्लो समय बिरामीहरूको चाप घट्दै गएको जानकारी दिए।

डा. बाँस्तोला आगामी असोज दोस्रो र तेस्रो हप्ता संक्रमण थप कम भएर जाने बताउँछन्।

‘एउटा नेपालमा खोपको पहुँच धेरै विस्तार भइसकेको छ भने अर्को जो संक्रमणको जोखिममा थिए उनीहरू संक्रमित भइसकेको देखिन्छ,’ बाँस्तोलाले भने, ‘अब नयाँ भेरिअन्ट आयो भने भन्न सकिन्न, तर अहिलेकै भेरिअन्टहरूले सङ्क्रमण पुन : बढाउने सम्भावना ज्यादै न्यून छ।’

स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्न सक्ने बताएको छ।

महामारीको तेस्रो लहर

काठमाडौं उपत्यकासहित देशभरि निषेधाज्ञा हटेर उपत्यकामा जात्राहरू जस्ता भिडभाड हुने गतिविधि हुँदा पनि सङ्क्रमण नबढ्नुमा एन्टिबडी नै प्रमुख कारण रहेको उनको दाबी छ।

स्वास्थ्य मन्त्रालयका विज्ञहरूले दोस्रो लहरपछि तेस्रो लहर सुरु भएको र अहिले त्यो घट्न थालेको आकलन गरेका छन्।

‘पहिलोभन्दा दोस्रो लहर धेरै ठूलो थियो। अहिले तेस्रो लहर चाहिँ धेरै नबढी बिस्तारै ओरालो लाग्न थालेजस्तो देखिएको छ,’ सहप्रवक्ता अधिकारीले भने,‘ तर हामी अहिले नै यो लहर सकिएको मान्दैनौँ किनभने भेरिअन्टहरू उत्परिवर्तन हुने क्रम जारी भएकाले जोखिम कायमै छ।’

मन्त्रालयले दशैँ तिहारजस्ता चाडवाडको समयमा मानिसहरूको हिँडडुल र भेटघाट बढ्ने भएकाले असोज अन्त्यतिरबाट पुनः जोखिम बढ्न सक्ने भन्दै सचेत रहन भनेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *