तीन अंकमा झर्‍यो नयाँ संक्रमितको संख्या, आज सक्रिय संक्रमितभन्दा निको हुने धेरै

हेल्थपोस्ट नेपाल

पछिल्ला केही दिनयता कोरोना संक्रमित पुष्टि हुने तथा अस्पताल भर्ना हुने दर घट्दै आएको छ।

खोपको पहुँज, मानिसहरूमा विकास भएको एन्टिबडी तथा जनचेतनाले गर्दा संक्रमण घट्दै गएको जनस्वास्थ्य विज्ञले बताएका छन्।

पछिल्लो २४ घन्टामा देशभर ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका विभिन्न प्रयोगशलामा ११ हजार १८ नमुना परीक्षणमा ९११ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार १३ जनाको कोरोनाबाट निधन भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ११ हजारको नजिकमा पुगेको छ।

आइतबार २६ हजार ७५७ संक्रिय संक्रमित छन्। जसमध्ये २५ हजार १७१ होम आइसोलेसन र १ हजार ५८६ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयको अनुसार आज १४० भेन्टिलेटरमा सहित ४५४ जना आइसियूमा उपचार भइरहेको छ।

काेराेना संक्रमण घट्नुकाे कारण

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी संक्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको बताउँछन्।

‘मन्त्रालयले गरेको सीरो प्रेभलन्स सर्वेक्षणले पनि एउटा मात्रै खोप लगाउनेमा ८० प्रतिशत दुवै लगाउनेमा ९० प्रतिशत र समग्रमा ६८ प्रतिशत मानिसहरूमा एन्टिबडी रहेको देखाएको छ,’ कोभिड संक्रमण कम हुनुको कारणबारे अधिकारीले भने।

विज्ञहरूका अनुसार कोभिड–१९ विरुद्ध लड्ने क्षमता विकास गर्ने खोपबाहेक कोभिड संक्रमणबाट निको भएका मानिसहरूमा पनि एन्टिबडी भनिने प्रतिरोध गर्ने तत्त्व रहन्छ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड जनाभन्दा बढीलाई कोभिड खोप लगाइसकिएको छ।

शनिवारसम्म ५१ लाख ६१ हजार जनाजतिले पूर्ण मात्रामा कोभिड खोप लगाइसकेका छन्।

नेपालमा पीसीआर र एन्टिजन विधिबाट गरिएको परीक्षणमा हालसम्म ८६ हजार कोभिड संक्रमण पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा समेत पछिल्लो समय बिरामीहरूको चाप घट्दै गएको जानकारी दिए।

डा. बाँस्तोला आगामी असोज दोस्रो र तेस्रो हप्ता संक्रमण थप कम भएर जाने बताउँछन्।

‘एउटा नेपालमा खोपको पहुँच धेरै विस्तार भइसकेको छ भने अर्को जो संक्रमणको जोखिममा थिए उनीहरू संक्रमित भइसकेको देखिन्छ,’ बाँस्तोलाले भने, ‘अब नयाँ भेरिअन्ट आयो भने भन्न सकिन्न, तर अहिलेकै भेरिअन्टहरूले सङ्क्रमण पुन : बढाउने सम्भावना ज्यादै न्यून छ।’

स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्न सक्ने बताएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *