स्वास्थ्य संगठनको चेतावनी : बागमतीमा प्राविधिक सचिव नियुक्त गरियोस्, नत्र आन्दोलनमा उत्रिन्छौं

हेल्थपोस्ट नेपाल

बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन गरिएको छ।  प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय गठन गरेसँगै मन्त्रालयका लागि आवश्यक दरबन्दीको प्रस्ताव समेत गरिएको छ।

तर, स्वास्थ्य मन्त्रालय प्राविधिक मन्त्रालय भएकाले सचिवका लागि प्रशासन तर्फको सचिव राख्न नहुने र अन्य पदमा पनि चिकित्सकको दरबन्दी राख्नु पर्ने भन्दै स्वास्थ्य सेवा तर्फका कर्मचारीले विरोध गरेका छन्। यसको विरोधमा नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ तथा स्वास्थ्यकर्मीहरु विरोधमा उत्रिएका छन्।

‘संघीय मन्त्रालय तथा अन्य प्रादेशिक मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदाय भूमिका चिकित्सकबाटै भइरहेको अवस्थामा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा चिकित्सकको दरबन्दी नै नराखी प्रस्तावित दरबन्दी तेरिज सार्वजानिक भएकोमा गम्भीर ध्यानकर्षण भएको छ,’ नेपाल चिकित्सक संघ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले गल्तीलाई सच्याउँदै स्वास्थ्य मन्त्रालयको सचिव स्वास्थ्य सेवाकै विशेषज्ञ चिकित्सक हुनुपर्ने र अन्य सेवा समूह जस्तै मेडिकल अधिकृतदिख विशेषज्ञ चिकित्सकसम्मलाई मन्त्रालय, विभाग देखि महाशाखा तथा शाखामा दरबन्दी राख्न माग गरेको छ।

त्यसैगरी, यसविषयमा सरकारी चिकित्सक संघले नै विरोध जनाएको छ।

अनेक सेवा समूह राख्ने तर स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक समूहलाई भने नीति निर्माणको तहबाट नियोजित रुपमै अलग्याउनु निकै खेदपूर्ण रहेको सरकारी चिकित्सक संघको ठहर छ।

‘स्वास्थ्यजस्तो निकै प्राविधिक र मानव जीवनसँग प्रत्यक्ष जोडिएको सेवालाई गैर स्वास्थ्य समूहको र स्वास्थ्य विधाबारे ज्ञान नै नभएको अप्राविधिक नेतृत्वको हातमा सुम्पिन खोज्नु हास्याँस्पद र गैरजिम्मेवार एवं खेदपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, स्वास्थ्य सेवा प्रवर्धन संघ, बागमती प्रदेश स्वास्थ्य निर्देशनालय कर्मचारी, हेटौडा प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, नेपाल

जनस्वास्थ्य संघ लगायतले पनि स्वास्थ्य सेवा बाहेकको सचिव राख्ने प्रस्तावको विरोध गरेका छन्।

मन्त्रालयका लागि विभिन्न १७ पदमा २५ जनाको दरबन्दी प्रस्ताव गरिएको छ।

यसअघि प्रदेश कार्यरत स्वास्थ्यका अधिकारी र कर्मचारीहरुले मन्त्रालयमा प्रशासनतर्फको सचिव राख्न थालिएको भन्दैं स्वास्थ्य सेवातर्फको सचिव बनाउन दबाब दिएका थिए।

प्रदेशका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवातर्फको सचिव नराखिए प्रदेशकै आकस्मिकबाहेकको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । तर, मन्त्रालयले उक्त

चेतावनीलाई बेवास्ता गर्दै प्रशासनतर्फकै सचिव रहने दरबन्दी प्रस्ताव गरेको छ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *