बिहिबार चीनबाट थप ४४ लाख डोज खोप आउँदै

चीनबाट थप ४४ लाख डोज कोरोना विरुद्धको खोप ( भेरोसेल) आगामी बिहीबार आउने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाकाले सरकारले खरिद गरेको थप ४४ लाख खोप भदौं ३१ मा आउने जानकारी दिए।
उनका अनुसार खोप लिनका लागि भदौ ३० गते हवाइजहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको छ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो, जसमध्ये १६ लाख डोज खोप भदौ पहिलो साता भदौ ४ र ५ गते नै आइसकेको छ।
नेपालमा अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको संख्या ५१ लाख ६० हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोभिड खोपको पहिलो मात्रा मात्र लगाउने मानिसको संख्या ५७ लाख ६९ हजार नाघेको छ।
अक्सफर्ड आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरोसेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।