नेपालमा कोरोना महामारीको ‘तेस्रो लहर’ निस्तेज भएको हो?

नेपालमा निषेधाज्ञा खुले पनि कोरोनाभाइरस संक्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र संक्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन्।

नेपालमा पछिल्लो तीन दिनयता कोभिड सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।

पछिल्लो दुई सातायता संक्रमण दर १४ प्रतिशतभन्दा कम कायम रहेको देखिन्छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पछिल्लो समय सङ्क्रमण पुष्टि हुने दर र संक्रमितको संख्या दुवै घटेको बताए। मन्त्रालयका अनुसार लगातार चार दिनदेखि सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा कममा सीमित भएको छ।

कोभिड संक्रमणको दोस्रो लहर उच्चबिन्दुमा पुग्दा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा माथि थियो भने दैनिक संक्रमण पुष्टि दर ३० प्रतिशतसम्म पुगेको थियो।

कोभिड संक्रमण घट्नुको कारण

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी संक्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको बताउँछन्।

‘मन्त्रालयले गरेको सीरो प्रेभलन्स सर्वेक्षणले पनि एउटा मात्रै खोप लगाउनेमा ८० प्रतिशत दुवै लगाउनेमा ९० प्रतिशत र समग्रमा ६८ प्रतिशत मानिसहरूमा एन्टिबडी रहेको देखाएको छ,’ कोभिड संक्रमण कम हुनुको कारणबारे अधिकारीले भने।

विज्ञहरूका अनुसार कोभिड–१९ विरुद्ध लड्ने क्षमता विकास गर्ने खोपबाहेक कोभिड संक्रमणबाट निको भएका मानिसहरूमा पनि एन्टिबडी भनिने प्रतिरोध गर्ने तत्त्व रहन्छ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड जनाभन्दा बढीलाई कोभिड खोप लगाइसकिएको छ।

शनिवारसम्म ५१ लाख ६१ हजार जनाजतिले पूर्ण मात्रामा कोभिड खोप लगाइसकेका छन्।

नेपालमा पीसीआर र एन्टिजन विधिबाट गरिएको परीक्षणमा हालसम्म ८६ हजार कोभिड संक्रमण पुष्टि भएको भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा समेत पछिल्लो समय बिरामीहरूको चाप घट्दै गएको जानकारी दिए।

डा. बाँस्तोला आगामी असोज दोस्रो र तेस्रो हप्ता संक्रमण थप कम भएर जाने बताउँछन्।

‘एउटा नेपालमा खोपको पहुँच धेरै विस्तार भइसकेको छ भने अर्को जो संक्रमणको जोखिममा थिए उनीहरू संक्रमित भइसकेको देखिन्छ,’ बाँस्तोलाले भने, ‘अब नयाँ भेरिअन्ट आयो भने भन्न सकिन्न, तर अहिलेकै भेरिअन्टहरूले सङ्क्रमण पुन : बढाउने सम्भावना ज्यादै न्यून छ।’

स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्न सक्ने बताएको छ।

महामारीको तेस्रो लहर

काठमाडौं उपत्यकासहित देशभरि निषेधाज्ञा हटेर उपत्यकामा जात्राहरू जस्ता भिडभाड हुने गतिविधि हुँदा पनि सङ्क्रमण नबढ्नुमा एन्टिबडी नै प्रमुख कारण रहेको उनको दाबी छ।

स्वास्थ्य मन्त्रालयका विज्ञहरूले दोस्रो लहरपछि तेस्रो लहर सुरु भएको र अहिले त्यो घट्न थालेको आकलन गरेका छन्।

‘पहिलोभन्दा दोस्रो लहर धेरै ठूलो थियो। अहिले तेस्रो लहर चाहिँ धेरै नबढी बिस्तारै ओरालो लाग्न थालेजस्तो देखिएको छ,’ सहप्रवक्ता अधिकारीले भने,‘ तर हामी अहिले नै यो लहर सकिएको मान्दैनौँ किनभने भेरिअन्टहरू उत्परिवर्तन हुने क्रम जारी भएकाले जोखिम कायमै छ।’

मन्त्रालयले दशैँ तिहारजस्ता चाडवाडको समयमा मानिसहरूको हिँडडुल र भेटघाट बढ्ने भएकाले असोज अन्त्यतिरबाट पुनः जोखिम बढ्न सक्ने भन्दै सचेत रहन भनेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *