नेपालमा फाइजरको खोपलाई आपतकालीन प्रयोग अनुमति

हेल्थपोस्ट नेपाल

औषधी व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप फाइजर बायोएन्टेकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

विभागले बिहीबार यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो।

स्वास्थ्य सेवा विभागले फाइजर खोपको आपतकालीन प्रयोगका लागि औषधी विभागसँग अनुमति मागेको थियो।

औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले विश्व स्वास्थ्य संगठनले इमरजेन्सी युज लिस्टिङ (आकस्मिक प्रयोग सूची) मा राखिसकेको र प्रयोग गर्न मिल्ने भनेर राखिसकेकाले यसैलाई आधार मानेर स्वीकृत गरिएको बताए।

माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने यस खोपलाई भण्डारण गर्नका लागि नेपालमा केही दिनअघि कोभ्याक्स सुविधा अन्तरगर्त चारवटा फ्रिज ल्याइसकिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष माथिका बालबालिकालाईसमेत प्रयोग गर्ने गरी ६० लाख डोज फाइजर खोप खरीद गर्ने योजना अघि सारेको थियो। कोभ्याक्स सुविधाबाटसमेत यो खोप नेपालले प्राप्त गर्ने जनाइएको छ।

नेपालमा यसअघि नै भातरमा उत्पादित कोभिसिल्ड, कोभ्याक्सिन, चीनमा उत्पादित भेरोसेल र कोरोना भ्याक, बेलायतमा उत्पादित एस्ट्राजेनेका, अमेरिकी कम्पनीले उत्पादन गरेको जोनसन एण्ड जोनसनको खोपले आपतकालिन प्रयोग अनुमति पाइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *