‘एसिड फ्लाई’ किराको टोकाइबाट हैरान भैरहवाका स्थानीय

हेल्थपोस्ट नेपाल

तराई क्षेत्रमा ‘एसिड फ्लाई’ नामक किराले आक्रान्त मच्चाइरहेको छ। उक्त किराले टोकेर उपचारका लागि अस्पताल धाउने मानिसको संख्या बढीरहेको छ।

युनिभर्सिटी कलेज अफ मेडिकल साइन्स भैरहवामा अध्ययन गर्न आएका विद्यार्थी तथा त्यहाँ वरपर बसोबास गर्ने स्थानीय किराको टोकाइबाट पीडित भएका छन्।

वैज्ञानिक नाम ‘पेडिरस एसपी’ रहेको किरा झाड तथा प्रदुषित पानीबाट उत्पन्न हुने र त्यहाँ बस्ने गर्दछ। उक्त किरा साँझ घाम डुबेपछि सक्रिय हुने र बत्तीको उज्यालोले आकर्षित हुने गर्दछ।

के गर्छ यो किराले?

यो किराले टोकेर छालामा विषालु चिज छोड्छ जसले गर्दा छाला सुन्निने, रातो हुने, चिलाउन र २४ देखि ४८ घण्टामा पानी जस्तो फोका उठ्न थाल्छ।

यो किरालाई बिटल ब्रिस्टल पनि भनिन्छ। यो किरा मारे पनि यसले विष निकाल्दछ। यसलाई चलाउनेबित्तिकै क्यान्थादिन नामक विष छर्दछ।

क्यान्थादिन विष यति धेरै विषालु हुन्छ कि यो मुखमा पर्यो वा खाइयो भने यसले ग्यास्ट्रोइन्टेस्टिइनल ट्रयाक्ट र मृगौला खराब गर्न सक्छ।

विश्वभर नै खेतमा काम गर्ने किसानहरु यसको सिकार हुन्छन् भने नेपालमा पनि मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई धेरै असर गरेको पाइन्छ।

यसको उपचार

-किराले टोकेको ठाउँमा साबुनपानीले मज्जाले पखाल्ने

-टोकेको ठाउँमा ‘टिन्चर आयोडिन’ औषधी राख्दा विष केही हदसम्म जान्छ।

-टोपिकल स्टेरोइड मलम लगाउँदा बिस्तारै टोकेको ठाउँमा फोका सुक्दै जान्छ। ७ देखि १० दिनसम्म यस्तो दाग रहन्छ।

-धेरै चिलाए एन्टिहिस्टामाइन्स लगाउन सकिन्छ।

कसरी जोगिने?

यो किरा निकै सानो र मसिनो हुने भएकाले लामखुट्टेबाट जोगिन राखेको झुलभित्र पनि पस्न सक्छ।

त्यस्तै, यो प्रकाशप्रेमी भएका कारण बत्ती बालेको ठाउँहरुमा आउन सक्छ।

यसबाट जोगिन यी केही उपायहरु अवलम्बन गर्न सकिन्छ-

१. यो किरा आएको ठाउँमा ‘स्प्रे’ छर्कने

२. घाम जानेबित्तिकै वा अध्यारो हुन थालेपछि झ्याल ढोकाहरु बन्द गर्ने। यो किरा घाम डुबेको एक घण्टामा सक्रिय हुन थाल्छ। सकेसम्म किराको सम्पर्कमा नजाने

३. किरा छिर्न नमिल्ने खालको झुल लगाउने

४. मनसुनको समयमा किरा धेरै हुने ठाउँहरुमा सिधै बत्तिको मुनि सकेसम्म नबस्ने

५. राति बत्ती निभाए पनि बत्तीको सिधै मुनि नसुत्ने

६. किरा मार्ने तथा समात्ने प्रविधि प्रयोग गर्ने

७. घ्युकुमारी र नरिवलको तेल लगाउने

८. झाडी तथा पानी भएको ठाउँहरु सफा राख्ने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *