डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक सकियो, यस्ता छन् ८ निर्णय

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक सकिएको छ। नेपालले आयोजना तथा अध्यक्षता गरेको पाँच दिने बैठकले विभिन्न ८ बुँदे निर्णय गरेको छ।
दक्षिण पूर्वी एसियाका सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री, विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारी लगायत संयुक्त राष्ट्र संघका एजेन्सी, विकास साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधि बैठकको विभिन्न छलफलमा सहभागि थिए।
बैठकले गरेका निर्णयहरु
१. नेपालले यस सत्र देखि अर्को सत्रमा नयाँ अध्यक्ष चयन नहुन्जेलसम्मका लागि समितिको अध्यक्षता गर्ने।
२. कोभिड-१९ को सन्दर्भमा अत्यावश्यक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन मन्त्रीस्तरिय घोषणा पत्र जारी गर्ने।
३. विश्व स्वास्थ्य संगठनको २०२२-२०२३ को कार्यक्रम तथा बजेट पारित गर्ने।
४. विद्यालय स्वास्थ्य र विद्यालयहरुमा स्वास्थ्य प्रवर्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने।
५. नसर्ने रोग, मुख स्वास्थ्य र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणमा भए गरेका प्रयासलाई थप सुदृढ बनाउने।
६. दक्षिण पूर्वी एसियाली राष्ट्रमा स्वास्थ्य बैठक प्रवर्धन गर्ने।
७. भाइरल हेपाटाइटिस, एचआइभी तथा यौन रोग नियन्त्रणका लागि कार्य दशक मनाउने।
८. अर्को सत्र २०२२ सेप्टेम्बर ५ देखि ९ मा भुटानमा हुने।
भदौ २१ देखि २५ गतेसम्म काठमडौंमा भएको बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा थिए। यस्तै, स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल भएका छन्। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा समेत गरेको छ।
बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टे गरी ११ देश दक्षिणपूर्वी एसियाली क्षेत्रमा पर्दछन्। जसको क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ। हरेक वर्ष विश्व स्वास्थ्य संगठनको जेनेभामा हुने महासभाको पूर्व तयारीका रुपमा यो बैठकलाई लिइन्छ।