वीरको २४ घण्टे पिसिआर परीक्षणले उपचारमा सहज

हेल्थपोस्ट नेपाल

वीर अस्पतालले २४ सै घण्टा पिसिआर परीक्षणको सुविधा संचालन गरेपछि नन् कोभिडका बिरामीलाई सहज हुन थालेको छ। अस्पतालले केही समयदेखि २४ सै घण्टा पिसिआर परीक्षणको सुविधा सुचारु गरेको थियो।

हाल कोरोना संक्रमितलाई भन्दा पनि परीक्षणले नन् कोभिडका बिरामीलाई उपचारमा निकै सहज बनाएको अस्पतालका निर्देशक डा। भुपेन्द्र बस्नेतले बताए।

‘कोरोना संक्रमणको सहज परीक्षणले अकस्मिक कक्षमा आउने बिरामी, आइसियु तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई निकै फाइदा भएको छ,’ उनले भने। अस्पतालमा २७० नन् कोभिडका बिरामी उपचाररत छन्।

‘५ देखि ६ घण्टाभित्र कोरोनाको रिपोर्ट आउने गरेको छ। यसले गर्दा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीलाई पनि संक्रमण हुने जोखिम कम भएको छ’, उनले भने।

भदौ १६ गतेबाट सुरु भएको २४ घण्टे पिसिआर परीक्षणमा हालसम्म १ हजार ११९ जनाले परीक्षण गराइसकेका छन् भने १७५ जनाले एन्टिजेन विधिबाट परीक्षण गराएका छन्।

त्यस्तै, अस्पतालले पोस्ट कोभिड ओपिडी तथा पोस्ट कोभिड आइसियु पनि संचालन गरेको छ।

कोरोना संक्रमणबाट निको भएर पनि स्वास्थ्यमा सुधार नआएका तथा अन्य लक्षणहरुले गाह्रो भएर आउने बिरामीहरुका लागि पनि अस्पतालले सेवा प्रदान गर्दै आएको छ।

धेरैजसो बिरामीहरु कोरोना संक्रमणपश्चात सास फेर्न गाह्रो हुने, खोकी लागिरहने, थकाई लाग्नेजस्ता लक्षण लिएर अस्पताल आउने गरेका छन्। उनीहरुका लागि ओपिडी सेवा छुट्याइएको डा. बस्नेतले बताए। दैनिक १० देखि १५ बिरामीहरु पोस्ट कोभिड उपचारका लागि ओपिडी धाउने गरेका छन्।

त्यस्तै, अस्पतालले लामो समयसम्म अक्सिजनको सहायता चाहिने कोरोना बिरामी तथा आइसियुमा उपचार गर्नुपर्ने बिरामीका लागि १० शय्याको आइसियु पनि छुट्याएको उनले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *