यी हुन् आत्महत्या रोकथाम गर्ने चार रणनीति

हामी सबैले एकपटक आ—आफ्नोे मुटुमाथि हत्केला राखौँ त ।

मुटुको धडकन थाहा पाउनुभयो ?

यसलाई उद्देश्य भनिन्छ ।

सुन्दा सामान्य सुनिए पनि, तर खास कुरा भनेको तपाईँको मुटु अझै पनि धड्किरहेको छ र शरीरभरि यसले रक्तसञ्चार गरिरहेको छ, अनि यो जीवित रहिरहन चाहिने पर्याप्त कारण हुनसक्छ । हामी कुनै कारणले नै जीवित छौँ, त्यसैले हार कहिल्यै नमान्नुहोला ।

केही मानिसहरूमा आत्महत्या गर्ने सोच आउन सक्छ । यसो हुनुको कारण उनीहरू आफ्नो जीवनबाट खुशी छैनन् र जीवनको खास उद्देश्य पहिल्याउन सकेका छैनन् भन्ने हो । यदि तपाईँ वा तपाईंको नजिकको कसैमा आत्महत्या गर्ने सोच आइरहेको छ भने तुरुन्त ११६६ मा डायल गर्नुहोस् । अब नेपालमा पनि आत्महत्या रोकथाम हेल्पलाइन ११६६ उपलब्ध भएको छ ।

मानसिक स्वास्थ्य र नशालु पदार्थ सेवनसम्बन्धी समस्याहरूको बढ्दो प्रवृत्तिबाट नेपाल पनि अछुतो छैन । समग्रमा यी दुवै कारकहरू न्यून तथा मध्यम आय भएका मुलुकमा पाँचमध्ये १ वर्षको अपाङ्गताको लागि जिम्मेवार रहेका छन् ।

आत्महत्या भन्नाले कमजोर मानसिक स्वास्थ्यलाई जनाउँछ र संसारभर मृत्युको प्रमुख कारणमध्ये यो एक हो । नेपालमा सन् २०१९ मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार ६.५ प्रतिशत वयस्क जनसङ्ख्याले उनीहरूमा आत्महत्याको सोच भएको बताएका थिए । सन् २०२० मा प्रत्येक दिन हामीले नेपालमा आत्महत्या घटनामा १९ व्यक्ति गुमायौँं । आत्महत्याको कारण हुने मृत्युदर एचआईभी, मलेरिया, स्तन क्यान्सर वा युद्ध तथा आपराधिक हत्याबाट हुने मृत्युभन्दा धेरै छ ।

यदि हामी आत्महत्याको बढ्दो दरको यो प्रवृत्तिलाई रोक्न र उल्ट्याउन विफल भयौं भने नेपालले दिगो विकास लक्ष्यहरू र विश्व स्वास्थ्य संगठनको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्ने छैन ।

कोभिड–१९, भूकम्प वा बारम्बार आउने बाढी जस्ता आपत्कालीन अवस्थाहरूले पहिल्यै दबाबमा रहेका स्वास्थ्य प्रणाली र सेवाहरूमा झनै दबाब बढाएका छन् । यस्ता आपत्कालीन अवस्थाहरूले उच्च प्राथमिकता पाउँछन् र अन्य विषयहरूलाई ओझेलमा पर्छन् । आपत्कालीन अवस्थाहरूले मानसिक स्वास्थ्यलाई झनै बिगार्नेे भएकाले मानसिक स्वास्थ्यलाई आपत्कालीन अवस्थाको सन्दर्भसमेतमा प्राथमिकता दिइनुपर्छ ।

मानव व्यवहारसम्बन्धी वैज्ञानिक स्यान्ड्रा जे क्लार्कले प्रायः उद्धृत हुने सन् २००१ को शोधपत्रमा यो कुरा राम्रोसँग उल्लेख गरेकी छिन् : आत्महत्याबाट व्यक्ति जीवनमा एकपटक मर्दछ । तर जो बाँकी रहन्छन्, तिनीहरू ती भयानक क्षणहरूसँगै पुनः जिउने र बुझ्ने कोसिसमा हजार मृत्यु मर्दछन् ।

अध्ययनहरूका अनुसार प्रत्येक आत्महत्यामा औसतमा ६ वा सोभन्दा बढी आत्महत्याका प्रभावितहरू हुन्छन् । यिनीहरू आफूले अति माया गर्ने व्यक्ति गुमाएका र त्यसको कारणले शोकमा जिउने व्यक्तिहरू हुन् । आत्महत्या प्रभावितहरू आत्महत्याको बारेमा सोच्ने, योजना बनाउने वा आत्महत्याको प्रयास गर्ने बढ्दो जोखिममा हुन्छन्, यसले पीडा र दुःखको अविरल प्रभावलाई झनै बढाउँदै लान्छ ।

विश्व स्थास्थ्य संगठनले हालै आत्महत्या रोकथामको LIVE LIFE approach  जीवन जीउने पद्धति) कार्यान्वयन गर्नको लागि बृहत् मार्गदर्शन जारी गरेको छ । यस पद्धतिमा ४ वटा रणनीति छन् ।

पहिलो, अत्याधिक खतरनाक कीटनाशक विष र बन्दूकजस्ता आत्महत्या गर्ने साधानहरूमा पहुँच सीमित गर्ने ।

सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो, किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिकको प्रयोग गरिने देखिएको छ ।

दोस्रो, आत्महत्याको जिम्मेवार रिपोर्टिङमा मिडियालाई प्रशिक्षित गर्ने ।

मिडियाद्वारा आत्महत्याको जिम्मेवार रिपोर्टिङसम्बन्धी विश्व स्वास्थ्य संगठनले तयार गरेको मार्गदर्शनको नेपाली अनुवाद संस्करण हामी छिट्टै विमोचन गर्दैछौँ र यो हामी सबैका लागि खुशीको कुरा हो । मिडियाका प्रतिनिधिहरूलाई यो मार्गदर्शनसँग अभ्यस्त हुन र आत्महत्यासम्बन्धी प्रत्येक रिपोर्ट प्रकाशन गर्दा यसको पालना गर्न म आग्रह गर्दछु । त्यसैगरी, आत्महत्याको कुरा गर्ने प्रत्येक मिडिया रिपोर्टमा राष्ट्रिय आत्महत्या हेल्पलाइन ११६६ राख्न पनि म अनुरोध गर्दछु । के तपाईँ सचेतना जगाउन र जीवन जोगाउन सहयोग गर्न सक्नुहुन्छ ?

तेस्रो, किशोरकिशोरीहरूमा सामाजिक–संवेगात्मक जीवनोपयोगी सीप विकास गर्न ।

किशोरावस्था (१० देखि १९ वर्षको उमेर) सामाजिक–संवेगात्मक सीप हासिल गर्ने अत्यन्त महत्वपूर्ण उमेर हो, किनकी मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रायः १४ वर्षभन्दा पहिले नै देखिने गर्दछ । जीवन जीउने (लिभ लाइफ) मार्गदर्शनले मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने र जिस्काउने सताउने (बुलिङ) विरुद्धका कार्यक्रमहरूलाई प्रोत्साहन गर्दछ । यो सहयोगी सेवाहरूसँग जोडिन्छ र विद्यालय तथा विश्वविद्यालयमा काम गर्ने मानिसको लागि यसले आत्महत्याको जोखिम पहिचानका विषयमा स्पष्ट मापदण्ड उपलब्ध गराउँछ ।

चौथो रणनीति भनेको आत्महत्याका प्रयास गरेका छन् वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र अनुगमन हो ।
आत्महत्याको सोच र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र अनुगमन जीवन रक्षाका लागि स्वास्थ्य प्रणालीका महत्वपूर्ण कार्यक्रम हुन् । मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक उपचार तहमा र थोरै स्रोत उपलब्ध हुने स्थानमा पनि प्रभावकारी ढङ्गले समायोजन गर्न सकिने प्रमाणहरू उपलब्ध हुँदै छन् । यो पद्धति लागतमैत्री छ र मानिसहरूको समग्र स्वास्थ्य तथा काम गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्दछ । तथापि, यो सेवालाई राष्ट्रिय स्तरमै उपलब्ध गराउनको लागि सरकारले मानसिक स्वास्थ्यमा लगानीलाई धेरै गुनाले बढाउन जरुरी छ ।

यी कार्यक्रमहरू नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२० र किशोरावस्थाको स्वास्थ्य रणनीति २०१८ मा पनि समेटिएका छन् । तथापि, मानसिक सुस्वास्थ्यको प्रत्याभूति गर्ने गरी बहुक्षेत्रीय कार्यहरूलाई समेट्दै अघि बढ्ने एउटा बृहत् राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्न पनि जरुरी छ ।

हामीले मानसिक स्वास्थ्यलाई मानवअधिकार, सामाजिक समानता वा विकास योजना, जे जस्तो दृष्टिकोणले हेरे पनि– मानसिक स्वास्थ्यमा लगानी बढाउन प्रेरित गर्ने विश्वसनीय प्रमाण उपलब्ध भइसकेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०२० कार्यान्वयन गर्न र नेपालका लागि आत्महत्या रोकथामसम्बन्धी बृहत् कार्यक्रम विकास गरी कार्यान्वयन गर्नका लागि स्रोतहरूको विनियोजन बढाउन म आह्वान गर्न चाहन्छु ।

“मानसिक स्वास्थ्यको लागि विशेष अभियान” नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ । यस अभियानले नेपालको मानसिक स्वास्थ्य प्रणालीलाई साना परियोजनागत कार्यबाट माथि उठेर उल्लेख्य सुधारका कार्यहरूमा सहभागी हुने दीर्घकालीन अवसर प्रदान गर्दछ ।

यो नेपालको लागि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा प्रणाली सुधार कार्यान्वयनमा सहयोग गर्ने पञ्चवर्षीय प्रद्धिबद्धता हो । हामी नर्वे सरकार र मातहतको आर्थिक सहायता निकाय नोराडलाई उनीहरूको महत्वपूर्ण र सामयिक सहयोगको लागि धन्यवाद दिन चाहन्छौँ ।

महिला तथा सज्जनवृन्द, आत्महत्या कहिल्यै पनि समाधान बन्न सक्दैन ! आत्महत्या कहिल्यै पनि समाधान नबनोस् भन्ने सुनश्चित गर्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ !

अब म यस विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा, गत वर्ष आत्महत्याका कारण हामीले गुमाएका सबै व्यक्तिहरूको सम्झनामा एक मिनेट मौनधारण गर्न र उनीहरूको प्रियजनहरूप्रति ऐकवद्धता जनाउनु हुन आग्रह गर्न चाहन्छु ।

-(विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा व्यक्त गरेको मन्तव्य)



Leave a Reply

Your email address will not be published. Required fields are marked *