ठूला अस्पतालमा १० शय्याको मानसिक रोगको वार्ड बनाउने स्वास्थ्य मन्त्रालयको निर्णय

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस आर्थिक वर्षमा देशभरका १३ वटा ठूला अस्पतालहरुमा १० शय्याको मानसिक रोगको वार्ड बनाउने कार्यक्रम अगाडि बढाएको जनाएको छ।

विश्व आत्महत्या रोकथाम दिवस २०७८ मनाउने क्रममा मन्त्रालयले उक्त कार्यक्रमबाट उपलब्ध थप १३० बेडहरुले केही मात्रामा भए पनि मानसिक स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउने बताएको छ।

त्यस्तै, मन्त्रालयले साइकोट्रोफिक ड्रग अन्तर्गत सबै प्रदेशमा ५० लाखको दरले बजेट विनियोजन भएको जनाएको छ।

यसले मानसिक स्वास्थ्यसम्बन्धी औषधी आपूर्तिमा सहजता ल्याउने छ। मानसिक अस्पतालमा नेश्नल सुसाइड प्रिभेन्सन हेल्पलाइन ११६६ संचालनमा आएको जनाइएको छ।

विश्व स्वास्थ्य संगठनको सहयोगबाट संचालित यो सेवा यसै आर्थिक वर्षबाट सरकारले संचालन गर्ने छ। यस सेवालाइ क्रमिकरुपमा प्रादेशिक स्तरमा विस्तार गर्दै लगिने छ।

मन्त्रालयकाअनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत रहेको मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा एकत्रित गरेर लानु पर्ने र योसँगै स्वास्थ्य बीमामा पनि यो सेवालाई सुदृढीकरण गरिने छ।

हरेक जिल्ला अस्पतालमा कमसेकम एकजना मानसिक रोग विशेषज्ञको व्यवस्था गर्न सके दूरदराजमा बसेका नेपाली सेवा लिन सहर धाउनु पर्ने बाध्यताबाट मुक्त हुने विश्वास लिइएको छ।

साथै, प्रत्येक स्थानीयतहमा एकजना मनोविमर्शकर्तासमेतको सेवा विस्तार गरिने छ। आत्महत्या न्यूनीकरणमा बहुपक्षीय सहयोग र सहकार्यको लागि एउटा संयन्त्र बनाउने सोचाई मन्त्रालयको रहेको छ।

सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम ४२ जिल्लाबाट आगामी दुई वर्षभित्र ७७ वटै जिल्लामा विस्तार गरिने छ भने असहाय, अशक्त र बेबारिसेहरुको पुनर्स्थापनाको लागि बनेको कार्यविधि कार्यान्वयनको चरणमा रहेको छ जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *