५ वटा प्रदेशमा सरकारी मेडिकल कलेज खोल्न अध्ययन सुरु गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

हेल्थपोस्ट नेपाल

हाल मेडिकल कलेज नभएका ५ वटा प्रदेशमा एमबिबिएस कार्यक्रमसहित मेडिकल कलेज स्थापनाका लागि आवश्यक भौतिक तथा प्रज्ञिक पूर्वाधारसहितको पूर्ण प्रतिवेदन पेश गर्न स्वास्थ्य मन्त्रालयले विभिन्न ५ वटा निकायलाई पत्राचार गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विहीबार विभिन्न प्रदेशअनुसार छुट्टाछुट्टै मन्त्रालय प्रतिष्ठानलाई पत्राचारगरी तीन महिनाभित्र पूर्ण प्रतिवेदन माग्ने निर्णय गरेका छन् ।सोही आधारमा सबै निकायलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको निर्णयमा हाल सरकारी मेडिकल कलेज नभएका प्रदेशमा कलेज स्थापना गर्न हाल कलेज तथा प्रतिष्ठान रहेका ठाउँमा सेवा विस्तारगरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न कलेज स्थापना प्रक्रिया अगाडि बढाएको उल्लेख छ।

हाल प्रदेश तीनमा आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश १ को धरान र कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि स्नातक तह (एमबिएस) पढाई हुन्छ।। मन्त्रालयले सुदूरपश्चिम प्रदेशको गेटामा एमबिबिएस कक्षा संचालनका लागि छुट्टै समिति बनाइसकेको छ।

बाँकी नयाँ ठाउँका लागि मन्त्रालयले महोत्तरीको बर्दिबास, प्रदेश १ को इलाम, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुब्बिनी प्रदेशको लुम्बिनी र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज एवं एमबिबिएस कार्यक्रम संचालनका लागि सम्भाव्यता, आवश्यक जग्गा प्राप्ति, भौतिक तथा शैक्षिक पूर्वाधार र अन्य विविध विषयमासमेत अध्ययनगरी तीन महिनाभित्र ठोस विस्तृत प्रतिवेदन दिन पत्राचार गरिएको छ।

मन्त्रालयले प्रदेश १ का लाग बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रदेश २ मा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशकोे स्वास्थ्य, जनसङ्ख्या, परिवार कल्याण मन्त्रालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेको छ ।

डा. गोविन्द केसीको विभिन्न अनशनका क्रममा सरकारले पाँच वटै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज स्थापनाको सम्झौता गर्दै आएपनि ठोस रुपमा काम आगडि बढ्न सकेको छैन्।
पछिल्लो पटक पनि डा. केसीले यो माग उठाउँदै आएको सन्दर्भमा स्वास्थ्य मन्त्रालयले मेडिकल कलेज स्थापनाको अग्रसरता लिएको हो।

हाल संचालनमा रहेका प्रतिष्ठान एवं अस्पतालहरुमा पूर्वाधारलगायतका आवश्यकता हेरेर सम्पूर्ण तयारीपछि सम्बन्धन लगायतका विषयमा शिक्षा मन्त्रालयले त्रिभूवन विश्वविद्यालयसँग समन्वय गरिने मन्त्रालयले जनाएको छ।

लुम्बिनी र बर्दिबासमा भनेर यसअघि त्रिविकै आगिंक कलेजको रुपमा मेडिकल कलेज खोल्ने सैद्धान्तिक निर्णय समेत भएको छ। सैद्धान्तिक निर्णय भएपनि ठोस काम भएको छैन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *