कान्ति अस्पतालको दुर्दशा : ओपिडी सेवा लिन ७ घन्टा लाइनमा

हेल्थपोस्ट नेपाल

मुलुककै एकमात्र सरकारी बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा पुगेपछि राम्रो स्वास्थ्य सेवा पाइएला, रोग निको होला भन्ने आश धेरैमा हुने नै भयो।

यसै पनि बालरोगको उपचारमा निम्न र मध्यमवर्गीय नेपालीका लागि कान्तिबाहेकको विकल्प देशमा छैन। देशका हरेक कुनाकाप्चाबाट ठूलो आशा लिएर बालबालिकाको उपचारका लागि दिनहुँ जनताको घुइँचो अस्पतालमा लाग्ने गर्छ। तर, यथार्थ भने भिन्न छ।

महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनले चिकित्सक सेवा लिनका लागि सात घन्टासम्म प्रतिक्षा गर्नुपर्ने र शल्यक्रिया सेवा लिनका लागि ६ महिनाभन्दा बढी प्रतिक्षा गर्नुपर्ने देखाएको छ।

समयमा शल्यक्रिया नगरिदिनु, सघन उपचार कक्षमा पर्याप्त शय्या नहुनु तथा जनशक्ति अभावको कारणले पनि अस्पताल आएका बिरामीले सेवा पाउन सकेका छैनन्।

सरकारले कान्तिलाई प्राथमिकतामा राख्न छोडेका कारण हजारौं बिरामी निजी अस्पतालमा रिफर हुने गरेका छन्। यस्तै काठमाडौंमा अन्य बाल उपचार केन्द्रहरु पनि बढ्दै गएकाले कान्तिको दुर्दशा सुरु भएको देखिन्छ।

रुस सरकारले विसं २०१९ मा स्थापना र सञ्चालन गरेर २०२६ मा नेपाल सरकारलाई सुम्पिएको अस्पतालमा विगतमा सेवासुविधा राम्रो नै थियो। तत्कालिन समयमा राजापरिवारका बालबालिकाको उपचार पनि कान्तिमै हुन्थ्यो। कान्तिको सेवाको वाहवाही थियो। तर, समयक्रमसँगै सरकारी बेवास्ताका कारण कान्तिको सेवा धरासायी बन्दै गएको छ।

आर्थिक बर्ष २०७७र०७८ मा १ लाख ४५ हजार ७९६ बिरामीले कान्तिबाट सेवा लिएका थिए। हाडजोर्नी, नाक, कान तथा घाँटीसम्बन्धी उपचार नै नहुनुलगायतका कारणले बाल अस्पताल वरपर रहेका अन्य अस्पताल फस्टाउँदै गएका छन्।

‘रोग परीक्षणको लागि अत्यावश्यक पर्ने एमआरआई मेसिन अस्पतालमा नभएकाले नाक, कान, घाँटी, हाडजोर्नीका बिरामी अन्यन्त्र रिफर गर्नुपरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अस्पतालमा आवश्यक मेसिन उपकरणको व्यवस्थापन गरी देखिएका कमीकमजोरीलाई सुधार गरी सेवा प्रवाह प्रभावकारी बनाउनुपर्दछ।’

अस्पतालमा सेवा प्रभावकारी नहुनुमा जनशक्ति अभाव पनि हो। कान्तिमा अहिले बिरामीको चाप र सेवाकाबीच ठूलो खाडल छ। राजनीतिक भागबण्डाबाट आएका कर्मचारीले अस्पतालमा सुधार गर्न सकेका छैनन्।

प्रतिवेदनअनुसार स्वीकृत दरबन्दीमध्ये २७ चिकित्सक गरी २१४ दरबन्दी रिक्त नै छ।

‘गरिबको उपचार गर्ने एकमात्र सरकारी अस्पताल कान्ति हो। कालान्तरमा पनि गरिबका बालबच्चाको उपचार गर्ने एकमात्र सरकारी अस्पताल यही होु, कार्यरत एक चिकित्सक भन्छन्, ‘सरकारले कान्तिमा ध्यान दिनै छाड्यो।’

कान्तिमा ५२ शय्याको आइसियु सञ्चालन गर्ने क्षमता छ। तर, ४२ शय्यामात्र सञ्चालन रहेकाले शय्याको अभावका कारण हजारौं बिरामी रिफर गर्नुपरेको छ। अहिले दैनिक पाँचदेखि सातजना बिरामीलाई आइसियुमा बेड नभएर अन्त रिफर गर्नुपरेको चिकित्सक बताउँछन्।



One thought on “कान्ति अस्पतालको दुर्दशा : ओपिडी सेवा लिन ७ घन्टा लाइनमा

  1. 1. Sarkari hospital vayera doctor haru le wasta nagareko
    2. Teha kaam garne sabai Doctor ko aafno private clinic /hospital cha
    3. Teha aaune praye birami lai IFCH (bal matri hospital) private ma refer garincha
    3. IFCH bahek aru vaneko Ishan hospital ra Neo Hospital ma refer garera upachar garicha .
    4. Opd ma senior doctor basnai khojdaina / operation ko lagi private ma tei doctor le beluka nai operation garna paye pachi kina kanti hospital ma operation garcha.
    5. Teha jasle je garda pani hospital director lai samet matlab hudaina kina vane hospit director ko pani tei ifch / ishan / neo clinic haru ma beluka gayera basnu parcha .

Leave a Reply

Your email address will not be published. Required fields are marked *