कोभिड, मौसमी रुघा, स्क्रब टाइफस र डेङ्गीका लक्षण कसरी छुट्टाउने?

काठमाडौं, जोरपाटीका विशाल चालिसेलाई गत साता रुघासँगै खोकी पनि थपिएपछि कोभिड सङ्क्रमणको शंका लाग्यो।

तीन दिनसम्म लक्षण नरोकिएपछि उनी परीक्षणका लागि प्रयोगशाला पुगे।

‘रुघासँगै खोकी पनि लागेको भएर शंका लाग्यो। मैले गर्दा अरूलाई सर्ने भयो कि भनेर परीक्षण गर्दा नेगेटिभ आयो,’ उनले भने।

कोभिड नभएको ढुक्क भएपछि चालिसेले थप जाँच गराएनन्। उनी भन्छन्, ‘ ूघरमै तातोपानीहरू खाएँ। अब त धेरै ठिक भइसक्यो।’

विज्ञहरूले भने कोभिडसँग मिल्ने लक्षण देखिएमा अन्य संक्रामक रोग पनि हुनसक्ने भएकाले पहिचान हुने परीक्षण गर्न सुझाव दिन्छन्।
आजकल धेरै मानिसहरू हिजोआज कोभिडजस्तै लक्षण देखिएका कारण पीसीआर परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन हरेक वर्ष यो मौसममा ज्वरो र रुघाखोकीसँगै कोभिडसँग मिल्ने लक्षण भएका अन्य सरुवा रोगहरू बढ्ने गरेको बताउँछन्।

दोबर बिरामी

इपिडिमियोलोजि तथा सरुवा रोग नियन्त्रण महाशाखाको विवरणहरूले गत वर्षको यही समयभन्दा यो वर्ष कोभिडसँग लक्षण मिल्ने सङ्क्रमितहरूको संख्या दोबर बढेको देखाएको एक अधिकारीले बताए।

देशभरका ११८ वटा ‘सेन्टिनल साइट’ भनिने अस्पताल वा प्रयोगशालाबाट सरकारले कोभिडबाहेक अन्य संक्रामक रोगहरूको विवरण संकलन गर्ने गरेको छ।

तिनै विवरणहरूका आधारमा हरेक हप्ता संक्रमणहरूको अवस्थाबारे तुलनात्मक विश्लेषण गर्ने गरिएको महाशाखा अन्तर्गतको जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखा प्रमुख हेमन्तचन्द्र ओझाले जानकारी दिए।

शाखाका अनुसार पछिल्लो दुई हप्ता इन्फ्युएन्जासमेत भनिने मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको देखिएको छ।

‘अघिल्लो वर्ष यही हप्ता ७० को हाराहारीमा पाइएको यस्तो संक्रामक यो वर्षको हप्तामा १५० को हाराहारीमा छ। तर गत वर्षको भन्दा यो वर्षको परिस्थिति फरक भएकाले समान मानकमा तुलना गर्न चाहिँ मिल्दैन,’ उनले भने।

कोभिडको संक्रमण नेपालमा उच्च भएकाले गत वर्षको यो हप्ता फ्लूको अध्ययन राम्रोसँग हुन नसकेका कारण गत वर्ष धेरै बिरामीहरू अध्ययनको दायरामा नआएको हुनसक्ने उनले बताए।

‘गत वर्षभन्दा यस वर्ष बढेकै देखिन्छ। गत वर्ष लकडाउनका कारणले गर्दा नमुनाहरू आउन पनि सकेन र हाम्रो निगरानी पनि प्रभावित भयो,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झा भन्छिन्।
गएको अगस्त र जुलाई महिनामा यसको फ्लु को सङ्क्रमण बढेको प्रयोगशालाको अध्ययनमा देखिएको डा. झा ले जानकारी दिइन्।

अगस्ट महिनामा ९८० नमुना परीक्षण गरिएकामा ४० प्रतिशत अर्थात् ३९३ जनामा इन्फ्लुएन्जा पोजेटिभ देखिएको विश्व स्वास्थ्य सङ्गठनको नेपालसम्बन्धी तथ्यांक देखाउँछ।

गत वर्ष कोभिडका कारण धेरै सतर्कता अपनाएका मनिसहरूले यो वर्ष त्यसमा सावधानी कम गरेकाले पनि फ्लू धेरै बढेको हुनसक्ने अधिकारीहरूको बुझाइ छ।

‘अघिल्लो वर्ष लक्षण देखिएका मानिसहरू परीक्षणका लागि पुग्दा अधिकांशमा कोभिड देखिन्थ्यो भने यो वर्ष उस्तै लक्षण लिएर आएका मानिसहरूमा इन्फ्युएन्जा पनि पोजेटिभ देखिन थालेको छ,’ ओझा भन्छन्।

शाखाका अनुसार पछिल्लो साता बाजुरा, काठमाडौं, रोल्पा, बझाङ र मोरङमा यस्तो संक्रमण बढेको पाइएको छन्।

कोभिड र फ्लूबीच फरक

डा. पुनका अनुसार फ्लू इन्फ्युएन्जा भाइरसको कारण हुन्छ भने कोभिड कोरोनाभाइरसका कारण हुन्छ।

दुवैबीच लक्षणहरू धेरै मिल्ने भएकाले परीक्षण नगरी छुट्टाउन स्वास्थ्यकर्मीहरूलाई समेत कठिन हुने सरुवा रोग विशेषज्ञहरू बताउँछन्।

सबै कुरा मिल्दोजुल्दो भए पनि केही खास कुरा कोभिड र फ्लूमा फरक हुने डा. पुन बताउँछन्।
स्वाद र गन्ध हराउने लक्षण कोभिडमा धेरै देखिन्छ भने फ्लूमा यस्तो नहुन सक्छ।

फ्लूबाट सङ्क्रमितसँग सम्पर्कमा भएको व्यक्तिलाई औसतमा दुई दिनमै लक्षण देखिए पनि कोरोनाभाइरसमा प्राय ५–६ दिनपछि मात्रै लक्षण देखिने पुनले जानकारी दिए।

फ्लूले बढी जसो बालबालिकालाई धेरै संक्रमण गराउने गरेको र कतिपय अवस्थामा मृत्यु समेत भएका तथ्यांक रहेको डा. पुन बताउँछन्।

कसरी जोगिने? उपचार के हो?

सामान्य मौसमी फ्लूमा घरमै आराम गरेर ठिक हुने भए पनि यसको जोखिम समूहमा पर्ने दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकाले नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधि खानुपर्ने विशेषज्ञहरू बताउँछन्।

‘कोभिडसँग लक्षणहरू मिल्ने भएकाले मानिसहरू फ्लू भए पनि तनावमा रहने गरेको देखिन्छ। तर के हो भनेर छुट्टाउनका लागि परीक्षण नै गर्नुपर्छ। छुट्टाउन पाएको अवस्थामा यसको उपचार र परामर्श पनि सहज हुन्छ,’ डा.पुनको सुझाव छ।

मानिसबाट सर्ने भएकाले फ्लूबाट बच्न मास्क लगाउने, हातखुट्टा साबुन पानीले धुने, खोक्दा हातको बाहुलीले मुख छोप्ने र सकेसम्म दूरी कायम गर्ने कोभिडको जस्तै मापदण्ड पालना गर्नुपर्ने डा. पुन बताउँछन् ।

कोभिड र स्क्रब टाइफसबीच फरक

नेपालमा मनसुनको अन्त्यतिर यसअघिका वर्षहरूमा पनि कोभिडको लक्षणसँग मिल्ने मौसमी फ्लूबाहेक डेङ्गी र स्क्रब टाइफसका संक्रमणहरू देखा पर्ने गरेका थिए।

मौसमी फ्लू मानिसबाट मानिसमा सर्ने भए पनि डेङ्गी र स्क्रब टाइफस चाहिँ मानिसबाट मानिसमा नसर्ने अध्ययनहरूले देखाएका छन्।

कोभिडमा जस्तै मौसमी फ्लू, डेङ्गी र स्क्रब टाइफसमा पनि ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिन्छ।

‘फ्लू र कोभिडका सर्ने तरिका पनि एकै हुन्, प्रारम्भिक लक्षणहरू उनी उस्तै हुन सक्छन र दुवै भाइरसको पहिलो लक्ष्य पनि फोक्सो हो,’ डा.पुनले भने।
शरीरमा एक प्रजातिको किर्नाले टोकेर हुने स्क्रब टाइफस मानिसबाट मानिसमा चाहिँ सर्दैन।

यसका बिरामीमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, अत्यधिक पसीना आउने जस्ता कोभिडसँग मिल्ने लक्षण बाहेक कानमा टिनटिन आवाज आउने, शरीरमा स–साना बिमिरा देखिने, आँखा रातो हुने र किर्नाले टोकेको दागमा चिलाउने र कालो हुँदै पाप्रा आउने हुन्छ।

‘शरीरमा दाग देखियो र अत्यधिक ज्वरो आउने भयो भने स्क्रब टाइफसको सम्भावना धेरै हुन्छ,’ डा. पुन भन्छन्।

सामान्य रुपमा परीक्षण गर्न मिल्ने भएकाले स्क्रब टाइफसको पहिचान कोभिडभन्दा सहज पनि रहेको उनी बताउँछन्।

‘उसको उपचार पनि सामान्य छ। सामान्य एन्टिबायोटिक खायो भने ठिक हुनसक्छ तर केही गरी यसको परीक्षणमा ढिलो भयो भनेचाहिँ मृत्युसमेत हुनसक्छ,’ उनले भने।

डेङ्गी पहिचान कसरी गर्ने?

डेङ्गीमा चाहिँ कोभिडभन्दा फरक लक्षणहरू पनि हुने भएकाले यसको पहिचान केही सहज रहेको विज्ञहरू बताउँछन्।

ज्वरोबाहेक आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा स(साना दागहरू देखिने, वाकवाकी लाग्ने र पेट दुख्नेजस्ता डेङ्गीका लक्षणहरू हुन्।

तर रगतको परीक्षणबाट मात्र यसको पहिचान गर्न सकिने भएकाले लक्षण देखिनासाथ परीक्षण गराउन चिकित्सकहरूको सुझाव छ।

लामखुट्टेको टोकाइबाट सर्ने यो सङ्क्रमण प्रायस्जसो दसैँतिहारको समयमा देखिने गरेको छ।

तर विसं २०७६ सालमा मनसुनसँगै यसको प्रकोप फैलिएको थियो। धरानबाट फैलिएको यसको सङ्क्रमण देशैभरि लामो समयसम्म रहेको डा. पुन स्मरण गर्छन्।

डेङ्गीको सामान्य लक्षण भएका मानिसहरूले घरमै औषधि खाएर पनि निको हुनसक्ने उनले बताए।

‘कोभिड नेगेटिभ आए अरू जाँच गराउनुपर्छ’ डा.पुन भन्छन्, धेरै मानिसहरू कोभिडको परीक्षण गर्दा नेगेटिभ आयो भने अरू परीक्षण नगरी छोडिदिन्छन्।’

‘स्क्रब टाइफस भएको रहेछ भने चाहिँ यसलाई उपचार नगरी छोडियो भने निरन्तर रहन सक्छ र मृत्यु समेत गराउन सक्छ।’

शुक्रराज अस्पताल सरुवा रोग विशेष अस्पताल भएकाले त्यहाँ आउने अधिकांश बिरामीहरूलाई थप जाँच गरेर मात्रै पठाइने गरेको भए पनि धेरैजसो अस्पतालहरूले सामान्य बिरामीलाई थप जाँच नगराउने उनले बताए।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *